१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल भएको थियो ।
भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र बरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए ।
बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको उपमहासचिव भट्टले बताए ।
बुधबारबाट सुरु हुने राष्ट्रिय भेलामा ३४ सय १४ जना सहभागी हुने एमालेले जनाएको छ ।