१ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखनको समस्या विदेशमा मात्रै नभएर नेपालभित्रै पनि रहेको बताएकी छन् । उनका अनुसार महिला, श्रमिक र बालबालिका नेपालभित्रै बेचबिखन तथा शोषणमा परिरहेका छन् ।
यसलाई ख्याल गरेर समयाअनुकुल हुने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन बन्नुपर्ने उनको आग्रह छ । यससम्बन्धी प्रस्तावित विधेयकमाथि मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा छलफल थियो । उक्त छलफलमा बोल्दै उनले वैदेशिक रोजगारीका नाममा हुने संगठित बेचबिखनसँगै देशभित्रै भइरहेको बेचबिखन र श्रम शोषण नियन्त्रणमा पनि ध्यान दिनुपर्ने बताएकी हुन् ।
गरिब तथा श्रमिक परिवारका बालबालिकालाई पढाइदिने र राम्रो भविष्य बनाइदिने प्रलोभनमा गाउँबाट सहर ल्याएर श्रम शोषण गर्ने गरिएको भनेर उनले यसलाई देश भित्रकै बेचबिखनको रूपमा व्याख्या गरेका हुन् ।
‘देश भित्र यहाँ पनि केही बेचबिखनहरू छन् । गाउँबाट बच्चाबच्चीहरू सहर ल्याउने अर्थात् बजार ल्याउने अर्थात् गरिब परिवार त्यस्ता मजदुर परिवारहरूबाट ल्याउने । त्यसपछि हामी पढाइदिन्छौँ भन्ने बहानामा चरम शोषण भइराखेको छ, हैन ? यो कुरालाई कसरी नियन्त्रण गर्ने ?,’ उनको प्रश्न छ ।
त्यस्ता बालबालिकालाई होटल, रेस्टुरेन्ट र घरमा काममा लगाउने गरिएको उनले बताइन् ।
‘यहाँ (सहर) ल्याइसकेपछि होटलहरूमा काम लगाउने, रेस्टुरेन्टमा काम लगाउने, अलिकतालाई अलिकता घरमा काम गर्न लगाउने, हैन त्यसपछि उनीहरूले जे गर्न पर्थ्यो, एउटा वातावरणमा आफ्नो बाबुबामासँग आफ्ना अभिभावककसँग घरमै त्यसरी हुर्कनुपर्थ्यो, त्यो गर्न नदिने,’ उनले भनिन् ।
सिधै बालबालिकालाई काममा राख्छु भन्न नमिल्ने भएकोले पढाइ आदिको प्रलोभन देखाउने गरिएको उनको भनाइ छ ।
इँटा भट्टामा बालबालिकालाई काममा लगाउने समस्या पनि अझै नियन्त्रण हुन नसकेको भनेर उनले सरकारको ध्यानाकर्षण गरिन् । एक वर्षअघि ललितपुरको एउटा इँटा भट्टाबाट सल्यानका पाँच जना बालबालिकालाई आफूले उद्धार गरेर ल्याएको अनुभव पनि सुनाइन् ।
‘इँटा भट्टाहरूमा काम गर्न बालबालिकाहरूलाई लगाउने पनि छ । एक वर्ष मात्र अगाडि मैले ललितपुरको एउटा इँटा भट्टाबाट सल्यानका पाँच जना बालबालिकालाई आफैं तानेर ल्याएको थिएँ । त्यसपछि गएर त्यहाँ मलाई कति धेरै गाह्रो भएको थियो । अहिले पनि त्यो स्थिति छ,’ उनले भनिन्, ‘हामीले त्यो कुरालाई अझै नियन्त्रण गर्न सकिराखेका छैनौँ ।’
नेपाल बाहिर हुने ओसारपसार र बेचबिखनको प्रकृति पनि अलि फरक खालको भएको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय दलालहरूले वैदेशिक रोजगारीमा पठाउने नाममा संगठित रूपमा मानिस बेच्ने गरेका छन् । घरमै पुगेर अभिभावकसँग कुरा गर्ने, जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाइदिने, म्यानपावरदेखि हवाई यात्रासम्मको व्यवस्था मिलाउने गर्छन् । काम गर्न विदेश जान लागेको ठान्ने श्रमिक सम्बन्धित देश पुगेपछि मात्रै आफू बेचिएको अवस्थामा परेको थाहा पाउने अवस्था रहेको छ ।
‘कामदारहरू हामी काममा जान्छौँ भन्ने ठानेर जान्छन् तर त्यहाँ पुगेपछि मात्रै आफू बेचिएको अवस्थामा रहेको थाहा पाउँछन्,’ उनले भनिन् । यस्तो प्रवृत्ति विशेषगरी महिला र श्रमिक वर्गका मानिसको हकमा बढी देखिएको उनको भनाइ छ ।
देशभित्र र बाहिरको यस्तो परिस्थितिलाई ख्याल गरेर ऐन बनाउनुपर्ने उनको आग्रह छ ।