Trending
Prev Story
Next Story

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

Onlinekhabar •
November 17, 2026 • 07:31 AM
2
2 reads 0 reactions

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् । ७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो …

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् ।

७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

इस्लामाबादका अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् । उनलाई हरेक साता चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै आएको अधिकारीहरूको भनाइ छ ।

१०० भन्दा बढी मुद्दा खेपिरहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनकी पत्नी बुशरा बीबी पनि गत वर्षदेखि जेलमा छिन् । खानले आफू र पत्नीविरुद्ध लगाइएका भ्रष्टाचार तथा सरकारी उपहार बिक्रीलगायतका आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् ।

पछिल्लो एक वर्षयता खानको स्वास्थ्य अवस्थाबारे चिन्ता बढ्दै गएको छ । उनको परिवारले जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगर्दा दाहिने आँखाको अधिकांश दृष्टि गुमेको दाबी गरेको छ ।

आफ्नो पत्रमा खानले चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको जानकारी दिएको उल्लेख गरेका छन् । उनको मुटुमा समेत क्षति पुगिसकेको उनले बताएका छन् ।

खानले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार बुशराको गत अप्रिलमा आँखाको रेटिनामा क्षति पुगेको थियो र गोप्य रूपमा शल्यक्रिया गरिएको थियो । थप शल्यक्रिया नगरिए उनले दृष्टि गुमाउन सक्ने खानको आशंका छ ।

‘मैले अनगिन्ती मुद्दामा असम्भवजस्ता कानुनी लडाइँ लडेको छु र अझै हार मानेको छैन । तर यो प्रणालीले मलाई न्याय दिन छाडेको छ,’ खानले पत्रमा लेखेका छन् ।

यसैबीच, खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको दाबी गरेका छन् । यस्तो अवस्थामा परिवारका सदस्यसँग भेटघाट गर्न, पुस्तक पढ्न र टेलिभिजन हेर्नसमेत नदिइएको उनको भनाइ छ । यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले पत्रमा उल्लेख गरेका छन् ।

पछिल्लो एक वर्षमा आफूले वकिलहरूसँग जम्मा चार पटक मात्रै भेट्न पाएको पनि खानले दाबी गरेका छन् ।

‘म जीवित रहेँ भने मात्रै आफ्नो निर्दोषिता प्रमाणित गर्न सक्षम हुनेछु,’ उनले पत्रमा लेखेका छन् ।

तर पाकिस्तानका संसदीय मामिलामन्त्री तारिक फजल चौधरीले खानका दाबी अस्वीकार गरेका छन् । उनले खानलाई जेलभित्र आफूले रोजेको खानासहित आवश्यक सबै सुविधा उपलब्ध गराइएको बताएका छन् । ‘उहाँ अहिले पाकिस्तानकै सबैभन्दा बढी सुविधा पाउने कैदी हुनुहुन्छ,’ मन्त्री चौधरीले पत्रकारहरूसँग भनेका छन् ।

अधिकारीहरूका अनुसार एक साताअघि आँखामा औषधि (इन्जेक्सन) लगाउन खानलाई सरकारी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टिले स्थिर रहेको बताएका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री थिए ।

सन् २०२३ मेमा उनको गिरफ्तारीपछि समर्थकहरूले देशका विभिन्न स्थानमा ठूलो स्तरका हिंसात्मक प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा लाहोरस्थित सैनिक कोर कमान्डरको निवासमा तोडफोड र लुटपाटसमेत भएको थियो । प्रदर्शनकारीहरूले झुमर फुटाउनुका साथै फर्निचर, चित्रकलादेखि मयूरसमेत लिएर गएको समाचारमा उल्लेख छ ।

प्रदर्शनका क्रममा कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने हिंसा नियन्त्रणमा लिन सेनासमेत परिचालन गरिएको थियो ।

जेलभित्र रहे पनि खान पाकिस्तानी राजनीतिमा अझै प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आएका छन् ।

उनको रिहाइको माग गर्दै अक्टोबरको सुरुवातमा हजारौँ समर्थक सडकमा उत्रिएपछि अधिकारीहरूले प्रदर्शनमाथि दमन गर्ने आदेश दिएका थिए भने खानको पार्टीको बलियो पकड रहेको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा गरेका थिए ।

यसैबीच, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पछिल्ला केही महिनायता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पटक–पटक अपिल गर्दै खानलाई उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

काठमाडौँ : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेक...

#खान #उपचार #इमरान
Compare →
Nagarik News
17h ago
'म जीवित फर्कन नसक्ने अवस्थामा पुग्दैछु’ भन्दै इमरान खानले जेलबाटै प्रधानन्यायाधीशहरूलाई लेखे खुला पत्र

'म जीवित फर्कन नसक्ने अवस्थामा पुग्दैछु’ भन्दै इमरान खानले जेलबाटै प्रधानन्यायाधीशहरूलाई लेखे खुला पत्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्।

#खान #इमरान #जीवित
Compare →
Ekantipur
23h ago
जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

जेन्सन ह्वाङसँग सम्बन्धमा रहेको आरोप लागेकी एलिसले गत वर्ष नै छाडेकी थिइन् कम्पनी

एनभिडिया चिप चीन पुर्‍याएको आरोपमा अनुसन्धानमा रहेको मेगास्पिडले बाह्य कानुनी परामर्शदातामार्फत आन्तरिक छानबिन गर्ने घोषणा पनि गरेको छ ।

#रहे
Compare →

Related Stories

Politics & Governance
Build #2612