मंगलबार राप्तीको मुहान भैंसेदेखि हेटौंडा हुँदै चितवनको गोलाघाटसम्म नदी किनार सरसफाइ गरिएको हो।
हेटौंडा — राप्ती नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले मकवानपुरका तीन स्थानमा सरसफाइ गरिएको छ । राप्ती नदीमा हुने प्रदूषणले जलचरमा नकारात्मक असर पार्ने भएकाले विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत मंगलबार मकवानपुरमा राप्ती नदीको मुहानदेखि तीन स्थान र चितवनको गोलाघाटसम्म सरसफाइ गरिएको हो ।
‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ आयोजित चौथो राप्ती नदी सरसफाइ अभियानको हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले नदी किनारको फोहोर संकलन गरेर उद्घाटन गरेकी थिइन् ।
राप्ती नदीको मुहान भैंसेदेखि हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती नदीको तट हुँदै चितवनको गोलाघाटसम्म मंगलबार सरसफाइ अभियान सञ्चालन गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए ।
मकवानपुरको राप्ती नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्छ । मकवानपुरस्थित राप्ती नदीमा हुने प्रदूषणले चितवन भएर बग्ने राप्तीका घडियाल गोहीलगायत जलचरलाई प्रभावित गर्ने गर्छ । राप्ती नदीको मुहान मकवानपुरको भैंसेमा पर्छ । नदीको मुहानदेखि पुछारसम्म सरसफाइ अभियान सञ्चालन गरिएको हो । मकवानपुरस्थित राप्तीको मुहान भैंसे, हेटौंडा उपमहानगरपालिका–१ र मनहरी गाउँपालिकाको क्षेत्र भएर बग्ने नदीमा मंगलबार करिब ३ सय जनाले सरसफाइ गरेका छन् ।
राप्ती नदीको सरसफाइमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, हेटौंडा उपमहानगरपालिका, जिल्ला वन कार्यालय र हेटौंडा साइकल सिटीलगायतका व्यक्ति सहभागी थिए ।
राप्ती नदी र त्यसवरपरको क्षेत्रबाट तीन ट्रयाक्टरभन्दा बढी फोहोर निकालिएको जिल्ला वन कार्यालय मकवानपुरका वरिष्ठ अधिकृत बसन्तराज गौतमले बताए । राप्ती नदीलाई प्रदूषणमुक्त बनाउन यो अभियानलाई निरन्तरता दिइने उनले बताए । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले २०७९ साल मंसिर १ गतेदेखि राप्ती नदी दिवस मनाउँदै आएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।