साउदी राजा बिन सलमानको शाही आदेशमार्फत साउदी-यमन गठबन्धनको संयुक्त फौजको नेतृत्व फेरिएको हो
काठमाडौँ — साउदी अरेबियाले आफ्नो सैन्य नेतृत्वमा ठूलो फेरबदल गरेको छ। साउदी राजा सलमानको शाही आदेशमार्फत साउदी-यमन गठबन्धनको संयुक्त फौजको नेतृत्व फेरिएको हो ।
नयाँ सैन्य व्यवस्थाअनुसार यसअघिका कमाण्डर लेफ्टिनेन्ट जनरल फहद बिन हमद अल-सलमानलाई साउदी रक्षा मन्त्रीका सैन्य मामिला सल्लाहकारमा नियुक्त गरिएको छ।
त्यस्तै, चिफ अफ जनरल स्टाफ जनरल फैयाद अल-रुआइलीलाई संयुक्त फौजको कमाण्ड सम्हाल्नेगरी जिम्मेवारी दिइएको छ। पश्चिमा देशका कूटनीतिज्ञहरूका अनुसार यमनको युद्धभूमिमा देखिएको पराजयपछि साउदीले सैन्य नेतृत्वमा फेरबदल गरेको हो ।
यमनमा साउदीले हुथीविरुद्धको लडाइँमा त्यहाँको सरकारी सेनालाई साथ दिइरहेको छ ।
पछिल्लो समय हुथीहरूले लाल सागर क्षेत्र र महत्त्वपूर्ण बाब एल-मान्देब जलमार्ग आसपासका भूभागमा तीव्र गतिमा नियन्त्रण जमाएका छन्। यहाँका क्षेत्रबाट साउदी-यमनको सेना पूर्ण रुपमा पछि हटेको छ ।
यसलाई साउदी गठबन्धनका लागि ठूलो रणनीतिक धक्का मानिएको छ। हुथी विद्रोहीहरू यमन सरकारको नियन्त्रण क्षेत्र एडेननजिकै पुगेका छन् । जसले गर्दा त्यहाँका स्थानीय बासिन्दाहरूमा सुरक्षालाई लिएर गहिरो चिन्ता छाएको छ।
यमनको सरकारी सेनाले एडेन जोगाउनका लागि लाल सागर क्षेत्रबाट हट्नुपरेको जनाएको छ ।
विशेषज्ञहरूको भनाइमा वर्षौंदेखिको आन्तरिक कलह र असमझदारीले यमन सरकार कमजोर अवस्थामा छ । पछिल्लो समय हुथीले यमनमात्रै नभएर साउदीका पूर्वाधारहरुमा पनि एकपछि आक्रमण आक्रमण गर्दै आएका छन् ।