३० कात्तिक, काठमाडौं । नेपाल र भारतबीच हवाई रुट र एयरस्पेस प्रयोग विषय दशकौंदेखि जटिल छ । अर्कातर्फ, हरेक उच्चस्तरीय भ्रमणमा यी विषय छलफलको एजेन्डा बन्छन् । तर, ठोस सहमति र कार्यान्वयन भने हुँदैन ।
यसले गर्दा भूपरिवेष्ठित (ल्यान्डलक) मुलुक नेपाललाई भारतले ‘एयरलक’ समेत बनाएको चर्चा हुन्छ । किनकि, भारतीय एयरस्पेस हुँदै नेपालभित्र हवाईजहाज प्रवेश विन्दु (इन्ट्री प्वाइन्ट) सिमरा एकमात्र छ ।
एयर रुट द्विपक्षीय समझदारी र सम्झौताका आधारमा तय हुन्छ । नेपालले सिमरा बाहेकबाट समेत अन्तर्राष्ट्रिय उडानका जहाजलाई प्रवेश विन्दु बनाउन भारतसँग माग राख्दै आएको छ ।
उच्चस्तरीय भ्रमणहरूका बेला भारतले यसलाई सकारात्मक लिएको बताउने गरेको छ । प्राविधिक तहमा पनि नेपाललाई थप एयर रुट दिने विषय धेरै हदसम्म टुङ्गोमा पुगिकेको छ । तर, राजनीतिक तहमा औपचारिक समझदारी बन्न नसक्दा नेपाल निरन्तर एयरलक अवस्थामा रहन बाध्य छ ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले नेपालबाट उडेका अन्तर्राष्ट्रिय जहाज सिमरा बाहेक महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगरबाट समेत बाहिरिन सक्छन् । तर, नेपाल भित्रिने एउटामात्र रुट हुँदा सिमरा प्वाइन्टमा अत्यधिक हवाई चाप हुने गरेको छ ।
त्यस्तै नेपालमा बनेका नयाँ विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थले वायुसेवा कम्पनीलाई आकर्षित गर्न सकेका छैनन् ।
भारत महेन्द्रनगर सहित हवाई रुट दिन सैद्धान्तिक रूपमा तयार भए पनि त्यसलाई नतिजामा बदल्न नसकिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
‘उच्चस्तरीय भ्रमणमा बोल्ड रूपमा यो विषयवस्तु राख्ने हो भने भारतले नेपाललाई आवश्यक हवाई रुट प्रदान गर्न सक्छ,’ उनी भन्छन् ।
उनका अनुसार विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकै समयमा धेरै विषय सकारात्मक रूपमा अगाडि बढेको थियो । महेन्द्रनगर रुट दुईतर्फी बनाउने र भैरहवा विमानस्थलका लागि भारतीय एयरस्पेस उपलब्ध गराउने सन्दर्भमा प्राविधिक रूपमा अन्तिम तहसम्म पुगेर रोकिएको थियो । यसलाई वर्तमान शक्तिशाली सरकारले सल्टाउन सक्ने उनको आश छ ।
प्राधिकरणका पूर्वउपमहानिर्देशक देवानन्द उपाध्याय पनि इन्ट्री रुट सिमरामात्र भएको अवस्थामा नेपालले आर्थिक रूपमा धेरै क्षति बेहोर्नुपरेको बताउँछन् । किनकि, नेपालका धेरैजसो अन्तर्राष्ट्रिय उडानका जहाज पश्चिम नेपाल हुँदै आउँछन् ।
यी जहाज महेन्द्रनगर–धनगढीबाट नेपाल छिर्न पाए भने नेपालको एयरस्पेस प्रयोग गर्छन् । त्यो अवस्थामा नागरिक उड्डयन प्राधिकरणको आम्दानी स्वत: बढ्छ ।
अर्कातर्फ काठमाडौं, पोखरा वा भैरहवा जाने जहाज भारतीय एयरस्पेस हुँदै सिमरा आएर पुन: पश्चिम नेपाल मोडिँदा ‘फ्लाइङ आवर’ बढ्छ । जसले गर्दा जहाजमा खपत हुने तेल खर्च बढ्छ । त्यो खर्च अन्तत: यात्रुको टिकटमा जोडिन्छ ।
‘हामी नेपाललाई महँगो हवाई गन्तव्य भन्छौं नि, यस्तै कारणले लागत बढ्ने हो,’ उनी भन्छन्, ‘एक त हवाई इन्धन मूल्य निरन्तर बढिरहेको छ, त्यसमा पनि आकाशमा घुम्दाघुम्दै धेरै तेल खर्च गर्नुपर्ने अवस्थामा टिकटको भाउ सिधै बढ्ने भयो, त्यही भएर यो विषयलाई सरकारले उच्च प्राथमिकता दिएर सल्ट्याउनुपर्छ ।’
विगतमा प्राविधिक तहमा टुङ्गोमा पुगिसकेका विषयलाई समेत भारतीय पक्षले कहिले सेनाको बेस रहेको त कहिले अन्य कारण देखाएर रोक्ने गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । त्यसो हुँदा राजनीतिक तहमै यो समस्या समाधान गर्नुपर्ने र त्यसका लागि यो उचित मौका रहेको उनीहरूको भनाइ छ ।
नेपालले यसबीच विमानस्थल पूर्वाधारमा ठूलो लगानी गरेको छ । भारतबाट नेपाल घुमफिरमा आउने चाहने भारतीयका लागि समेत अहिले सबै सहरबाट नेपालमा सिधा उडान भइरहेको छैन । तर, त्यसको माग उच्च छ ।
यसले नेपालका विमानस्थलबाट भारतमा द्विदेशीय उडान सम्भावना पनि देखिन्छ । जसले गर्दा स्वयं भारतीय वायुसेवा कम्पनीका लागि पनि नयाँ गन्तव्यको ढोका खुल्छ ।
‘नेपाल र भारतबीच राम्रो उड्डयन सम्बन्ध र समझदारी दुवै मुलुकका लागि ‘विन विन’ अवस्था हुन्छ, यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ उपाध्याय भन्छन् ।
भारतले महेन्द्रनगर रुटलाई दुईतर्फी गर्दा नेपालले ‘नेपाल गन्तव्य’ बनाएर आउने जहाजबाट मात्र होइन, नेपाली आकाश हुँदै उड्ने जहाज मार्फत समेत आम्दानी गर्न सक्छ । जसका माध्यमबाट नेपालले आफ्नो आकाश अझ सुरक्षित बनाउन प्रविधिमा लगानी थप्ने वातावरण पनि बन्छ ।
सोहीकारण प्राविधिक रूपमा समस्या नरहेका रुटलाई दुई मुलुकको हितमा खुला गर्नेतर्फ सरकारले बलियो अडान लिनुपर्ने पूर्वउपमहानिर्देशक उपाध्याय बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक दुई अन्तर्राष्ट्रिय विमानस्थल रणनीतिक स्थानमा अवस्थित छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीबाट १५ किलोमिटर मात्र दुरीमा छ ।
यो विमानस्थलको क्षमता काठमाडौं विमानस्थल सरहकै जहाज उडान–अवतरण गराउन सक्ने छ, जसले बौद्धमार्गी देशबाट पर्याप्त पर्यटक आकर्षित गर्न सक्छ । तर, भारतसँग एयरस्पेस प्रयोग सम्बन्धी सम्झौता हुन नसक्दा वायुसेवा कम्पनीले स्वस्फूर्त उडान राख्न सकिरहेका छैनन् ।
अर्कातर्फ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन राजधानीमा छ । यो विमानस्थलमा अहिले फ्लाई दुबईले नियमित उडान गरिरहेको छ । भारतीय सहरबाट ठूलो संख्यामा उडान हुन सक्ने सम्भावनाबीच यो विमानस्थलमा अहिले भारतबाट उडान भइरहेको छैन । यी मुद्दा सल्टाउन सके प्रधानमन्त्रीको भारत भ्रमण धेरै हदसम्म सफल हुने विज्ञ बताउँछन् ।
यसैबीच गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेश’ र नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भएको छलफलमा समेत हवाई सम्पर्क सञ्जाल विस्तार आवश्यकताबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका प्रमुख सहरबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने, हवाई सम्पर्क विस्तार गर्ने तथा उड्डयन सुरक्षा र प्राविधिक क्षमता अभिवृद्धिमा सहकार्य गर्ने विषयमा समेत मन्त्री पौडेलले जोड दिए ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।