Trending
Prev Story
Next Story

काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड

Nagarik News •
November 16, 2026 • 11:13 AM
4
4 reads 0 reactions

दुर्घटना बढेपछि ५ दशक बढीको लामो प्रतीक्षापछि पक्की बनेको कपिलवस्तुको तौलिहवा– बहादुरगन्ज सडकखण्ड काल बन्दै गएको छ।

काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड

गत साउन साउन १२ तौलिहवा बहादुरगन्ज सडक अन्तर्गत महाराजगन्ज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भयो।

तीव्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका ३ का ७५ वर्षीय भोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ताको मृत्यु भएको थियो।

गत कार्तिक २२ गते महाराजगन्ज नगरपालिका ३ बगर्दामा हुलाकी सडक खण्डमा तौलिहवा देखी बहादुरगन्जतर्फ आउँदै गरेको लु १ ख ९७२६ नं.को बसले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका.३ लक्ष्मीनगर का ७७ वर्षीय लखन अहिको मृत्यु भएको थियो।

पछिल्लो समय कपिलवस्तुको बहादुरगन्जदेखि तौलिहवा सम्मको हुलाकी सडकखण्ड पछिल्लो समय सवारी दुर्घटनाको दृष्टिले उच्च जोखिममा रहेको छ।

सवारी साधनको बढ्दो चाप, आभरलोड सवारी, सडकको बनावट, अपायक डिभाइडर लगायतका कारण यो सडकखण्ड  दुर्घटना निरन्तर वृद्धि हुँदै गएको हो।

दुर्घटना बढेपछि ५ दशक बढीको लामो प्रतीक्षापछि पक्की बनेको कपिलवस्तुको तौलिहवा– बहादुरगन्ज सडकखण्ड काल बन्दै गएको छ।

२५ किलोमिटर लामो सडकमा दिनहुँ जसो हुने दुर्घटनाका कारण यो सडक यमराजका रूपमा परिणत भएको हो।

पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको ईमिलिया देखि बु्टवल सम्मको सडक स्त्तोन्नतीको कामका लागि २ वर्ष देखि सडक भत्काई पछि हुलाकी सडकमा सवारी साधनको चाप अत्यधिक बढेको छ।

यस्तै कृष्णनगर भन्सारबाट आउने मालवाहक सवारीसाधन समेत यही रुटबाट चल्ने गरेकोले समेत हुलाकी सडकमा दुर्घटनाको संख्या भारी वृद्धि भएको देखिन्छ।

आभरलोड सवारीका कारण कपिलवस्तु नगरपालिका ४ छोटकी तौलिहवा, महाराजगन्ज नगरपालिकाको बर्गदी, गैडाहवा लगायतका स्थानमा सडक भासिँदै गएको छ।

ट्राफिक कार्यालय अनुसार आर्थिक वर्ष २०८१।०८२ मा जिल्लामा महेन्द्र राजमार्गमा दुर्घटना संख्या ९८ र हुलाकी सडक खण्डमा दुर्घटना संख्या ७७ थियो।

महेन्द्र राजमार्ग भत्काइएपछि आर्थिक वर्ष २०८२।०८३ मा महेन्द्र राजमार्गमा दुर्घटना संख्या १३२ र हुलाकी सडक खण्डमा दुर्घटना संख्या १७७ भएको छ।

हुलाकी सडक खण्ड तुलनात्मक रूपमा साँघुरो रहेको, पर्याप्त रोड फर्निचरहरू समेत नभएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए।

क्षमता भन्दा बढी भारवाहान भएका सवारी साधनहरू हुलाकी राजमार्ग हुँदै जाने हुँदा हुलाकी राजमार्गहरुका महाराजगन्ज नगरपालिकास्थित गैडहवा, बर्ददा,पनचैया पुल, कपिलवस्तु नगरपालिकास्थित छोड्की तौलिहवादेखी गोपालपुरसम्म मायादेवी गाउपालिकास्थित दोहनी,पकडी, टिटिरिहवा हुँदै  लवनी सम्मको बाटो अवस्था अत्यधिक बिग्रिएको अवस्था रहेको छ।

अहिले पूर्व–पश्चिम राजमार्गको सवारी चाप धान्न सक्ने अवस्थामा नरहेको र पूर्व–पश्चिम यात्रा गर्ने सवारी साधनहरूले बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक खण्डको साटो भैरहवा तौलिहवा बहादुरगन्ज चन्द्रौटाको बाटो प्रयोग गर्ने क्रम बढेको उनले बताए।

समतल तराई भू–भागको बाटो भएता पनि हुलाकी सडकको धेरै खण्ड नागबेली आकारको छ। उक्त सडक खण्डमा सडक इन्जिनियरिङको अन्तर्राष्ट्रिय मापदण्ड विपरीत साँघुरो सडकको बिचमा सिमेन्ट कंक्रिटको अग्लो अग्लो डिभाइडरहरू बनाइएका कारण  समेत दुर्घटना बढेको हो।

डिभाइडरहरूमा ठोकिएर दुर्घटना र मानवीय क्षति समेत भएको ढकालले बताए। आर्थिक वर्ष २०८२।०८३ मा मात्रै सडक डिभाइडरहरूमा ठोक्किएर १८ वटा दुर्घटना भएको जसमा ८६ जना घाइते ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ।

सो सडकमा रहेको सिमेन्ट कंक्रिटको डिभाइडरहरू गाडीहरू ठोक्किएर टुटफुट र जीर्ण अवस्थामा छ। आर्थिक वर्ष २०८२।०८३ मा मात्रै उक्त सडक खण्डमा ३ वटा लामो दुरीका नाइट बसहरू सडक डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेका थिए।

गत जेठ ५ गते महाराजगन्ज ४ बहईपुर काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको बस डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा ३८ यात्रुहरू घाइते भएका थिए।

गत असार १६ गते धनगढी बाट काठमाडाै‌ं तर्फ जाँदै गरेको बस डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा २१ यात्रुहरू घाइते भएका थिए।

हुलाकी सडक खण्डमा कृष्णनगर र सुठौली भन्सार नाका हुँदै भित्रिने भारतीय मालवाहक सवारीसाधनहरूको कारण समेत दुर्घटनाको जोखिम बढ्दो अवस्थामा छ।

मालबाहक सवारीको भारबहन सम्बन्धी निर्देशिका २०७४ को नियम ‘३’को ४ मा द्विपक्षीय, त्रिपक्षीय वा बहुपक्षीय सम्झौता अनुरूपका मालवाहक सवारी साधनहरुद्वारा आयातित सामानहरूको ढुवानी गर्नका लागी भन्सार कार्यालय परिसरमा नै मालवाहक सवारीको भारवहन क्षमताअनुसार भार मिलान गरी मात्र ढुवानी गर्नु पर्ने नियम छ।

भन्सार कार्यालयहरूले सो व्यवस्थाको ध्यान नदिई जुनसुकै तौलका सवारी साधनहरूको सहजै भन्सार पास गर्ने गरेको छ।

त्यस्ता सवारी साधनलाई यातायात कार्यालयले आफैँ अग्रसर भई कुनै अनुगमन वा कारबाही अझै सम्म गरेको छैन। भन्सार कर्मचारीहरु अनुसार मालसामानको भन्सार गर्ने मात्र आफ्नो क्षेत्राधिकार रहेको दाबी गरेको छन्।

ओभर लोडको विषय ट्राफिकको रहेको उनीहरू बताउँछन्। ट्राफिक प्रहरीले आफ्नो सीमित जनशक्ति र स्रोत साधनको बाबजुद सचेतना कार्यक्रम संचालन, चेकजाँच र कारबाही गर्दै आएको ढकालले बताए।

सडक अवस्था सुधार, मर्मत सम्भार, पर्याप्त रोड फर्निचरहरू, सूचनामूलक चिन्ह र वोर्डहरुको व्यवस्थापनको स्रोत र जिम्मेवारी भएको सडक विभाग र डिभिजन सडक कार्यालयहरुले सडक सुरक्षा मा पर्याप्त ध्यान नदिएको उनले गुनासो गरे।

ट्राफिक प्रहरीको एकल प्रयासले मात्र दुर्घटना न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको उनले स्वीकार गरे।   हुलाकी सडक खण्डमा कृष्ण नगर र सुठौली भन्सार नाका हुँदै भित्रिने भारतीय मालवाहक सवारीसाधनहरूको कारण समेत दुर्घटनाको जोखिम बढको छ।

यातायात कार्यालयले आफैँ अग्रसर भई कुनै अनुगमन वा कारबाही नगरी गरेको छैन। ट्राफिक प्रहरीले नियन्त्रणमा लिई पठाएका सवारी साधनहरूलाई मात्र कारबाही गर्दै आएको छ।

प्रहरी उपरीक्षक मनोहर भट्टले हुलाकी सडकमा लामो दुरीका सवारी साधन चले पछि र ओभर लोडका कारण दुर्घटना बढेको बताए।

उनले लामो दुरीका सवारी साधनका चालकले आराम बिना लगातार सवारी साधन चलाउँदा दुर्घटना भएको पाइएको उनले बताए।

उनले ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणको लागी विभिन्न स्थानहरूमा मापसे, लापसे लगायतको चेकजाँच, कारबाही ,सचेतना अभियान र मुख्य सडक चोक जक्सनहरुमा सहज सवारी आवागमनको व्यवस्थापन गरेको बताए।

उनले दुर्घटना न्युनीकरणका लागि सडक डिभिजन पालिकालगायत अन्य सरोकारवाला सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित: ३० कार्तिक २०८३ १६:५८ सोमबार

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612