तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।
बर्दिया — दसैं र तिहारका बीच बर्दियामा ६२ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।
पछिल्लो पटक शनिबार गुलरिया–११ लालपुरस्थित हुलाकी सडकमा यात्रुवाहक गाडी र मोटरसाइकल दुर्घटना हुँदा बाबु र छोराको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र ५५ वर्षीय दलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । गाडीमा सवारमध्ये १५ जना घाइते भएका थिए । यसैगरी, कात्तिक २७ गते शितलाबजारस्थित हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा पछाडि बसेका बाँकेको कोहलपुर–९ का रिदम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कात्तिक २५ गते मैनापोखर र बासगढी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकनर थारुको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रमुख सन्दिप बेलबासेले बताए । उक्त घटनामा चार जना घाइते भएका थिए ।
अधिकांश घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गति, मादक पदार्थ सेवन (मापसे), सडकमा भएका चौपाया र खराब मौसमका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेले बताए । त्यही अवधिमा ६२ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको उनले बताए । उनले भने, ‘ट्राफिक नियम उल्लंघन गर्ने ५ सय ९९ जनालाई कारबाही गरिएको छ ।’
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।