Trending
Prev Story
Next Story

कूटनीतिक सक्रियता बढाउँदै रास्वपा

Nagarik News •
November 16, 2026 • 04:45 AM
3
3 reads 0 reactions

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना नेता तथा सांसद आइतबार चीन प्रस्थान गरेका छन्।

कूटनीतिक सक्रियता बढाउँदै रास्वपा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना नेता तथा सांसद आइतबार चीन प्रस्थान गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डल ११ दिन (नोभेम्बर १५– २६ )चीन भ्रमण सकेर फर्कने छ।

यता सरकारको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह यही मंसिरमा पहिलो औपचारिक भ्रमणका लागि नयाँदिल्ली जाने तयारीमा छन्। स्रोतका अनुसार दुवै पक्षले मंसिर ६ देखि ९ गते (नोभेम्बर २२–२५) को अस्थायी मिति तय गरेका छन्। भ्रमण हुने लगभग निश्चित भए पनि मिति आधिकारिक रूपमा घोषणा भएको छैन।

उत्तरतर्फ चीनमा रास्वपाको पार्टी टोली भ्रमणरत रहेको र दक्षिणतर्फ भारतमा प्रधानमन्त्रीको सरकारी भ्रमणको तयारी भइरहेको बेला पार्टी र सरकार छुट्टाछुट्टै च्यानलबाट छिमेकी मुलुकसँग सम्बन्ध अघि बढाउँदै छन्। यसले दुवै च्यानलको कूटनीतिक दिशा एउटै हो कि फरक भन्ने प्रश्न उठाएको छ।

यसअघि पार्टीभित्र कूटनीमिा दुई धार देखिएको विश्लेषण आएकाले यो सन्देश पार्टीको आन्तरिक अवस्थासँग कतिको तालमेल हुन्छ भन्ने चासोको विषय बनेको छ। यो भ्रमणले रास्वपाको वैकल्पिक राजनीतिक धार एकै स्थानमा उभिएको सन्देश दिन्छ।

केही विश्लेषकले यसलाई पार्टी र सरकारले छुट्टाछुट्टै च्यानलबाट सन्तुलन मिलाउन खोजेको प्रयासका रूपमा व्याख्या गरेका छन्। तर यसअघि पार्टी र सरकारका फरक–फरक सक्रियताले नेपालको कूटनीतिक अडानमा एकरूपता नदेखिने जोखिम रहेको भन्दै अर्काथरी विश्लेषकले चासो व्यक्त गरेका थिए।

२०८२ चैत १३ मा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता करिब साढे सात महिनामा परराष्ट्र नीति र छिमेक सम्बन्धमा नयाँ अभ्यास देखिएको छ। विगतका सरकारमा प्रधानमन्त्री वा पार्टी प्रमुख आफैं सबै कूटनीतिक भेटघाटमा अघि सर्ने चलन थियो।

अहिले पार्टीले संवादको ढोका खोल्ने र सरकारले औपचारिक सम्झौता गर्ने ढाँचा देखिएको भए पनि यी दुवै पाटाको परीक्षा अब सुरु भएको विश्लेषण छ। चीन प्रस्थानअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटले पार्टी च्यानलबाट भएको भ्रमणलाई सरकारी संयन्त्रसँग जोड्न खोजेको विश्लेषकको भनाइ छ।

भ्रमणपछि टोलीले सरकारलाई औपचारिक प्रतिवेदन बुझाउनुपर्ने प्रधानमन्त्रीको भनाइबाट विज्ञहरूले यो विश्लेषण गरेका हुन्। यद्यपि पार्टी र सरकारबिच औपचारिक समन्वय संयन्त्र नभएको र सञ्चारमा अभाव रहेको आलोचना यसअघि भइसकेकाले अहिले त्यो आलोचना शून्यमा झरेको छ भन्न नसकिने विज्ञहरू बताउँछन्।

प्रधानमन्त्री बालेन्द्र शाहले टोलीलाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) का विषयमा विवेकपूर्ण र सन्तुलित ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन्। बिआरआई नेपालको राजनीतिमा विवादित र संवेदनशील विषय भएकाले बोल्दा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका थिए।

साथै बिआरआईअन्तर्गत विमानस्थललगायतका पूर्वाधार आयोजनाका लागि ऋणका रूपमा लिइएको रकमलाई अनुदानमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा चिनियाँ पक्षसँग संवाद गर्न पनि उनले निर्देशन दिएका छन्।

प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले कूटनीतिक भेटघाटमा असंलग्न नीतिअनुरूप सन्तुलित धारणा राख्न र सार्वभौम राष्ट्रका जनप्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन निर्देशन दिएका थिए।

अर्कातर्फ भ्रमणलाई औपचारिक वा घुमघाममा सीमित नराखी प्रविधि, व्यापार, पर्यटन, ऊर्जा र कृषि आधुनिकीकरणमा नेपालले पाउन सक्ने लाभबारे छलफल गर्न पनि निर्देशन दिएका थिए भने चिनियाँ लगानीका अलपत्र परियोजनाको कार्यान्वयन र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) बारे बुझ्न र फर्किएपछि सरकारलाई औपचारिक प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए।

सीमाजस्ता संवेदनशील विषयमा टोलीले नबोल्ने र राज्यको आधिकारिक संयन्त्रबाटै संवाद हुने कुरा पनि प्रधानमन्त्रीले गरेका थिए। जेठ १७ मा प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति विवादित बनेको र प्रतिपक्षले सच्याउन माग गरेको सन्दर्भमा यो निर्देशन महत्वपूर्ण देखिएको विश्लेषण छ।

यसैबिच छठ पर्व मनाउन जनकपुरधाम पुगेका सभापति रवि लामिछानेले जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी र सरकारबिच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्। उनले सरकारलाई दिइने सुझाव र आलोचनालाई पार्टी फुटको संकेतका रूपमा नभई आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा लिनुपर्ने बताएका छन्। यसबाट सरकार र पार्टीका काममा केही सकारात्मक सन्देश प्रवाह भइरहेको देखिन्छ।

प्रधानमन्त्री शाहले सुरुका १०० दिन आन्तरिक सुधारमा केन्द्रित हुने अडानसहित विदेश भ्रमण टारिरहँदा पार्टी सभापति रवि लामिछाने जेठ १८ (जुन १) मा पाँचदिने भारत भ्रमणमा गएका थिए। जेठ २० (जुन ३) मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरे।

भारतपछि रास्वपाले चीनतर्फ पनि पार्टी च्यानलबाट सक्रियता देखाएको थियो। सिपिसीको निमन्त्रणामा सभापति लामिछानेको अगस्ट २३ देखि ३० (भदौ ७–१४) सम्म चीन भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। सो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ (चिनफिङ) सँग भेटवार्ता हुने कार्यक्रम भने नरहेको उल्लेख गरिएको थियो। चिनियाँ राष्ट्रपति सीसँग भेट नहुने देखिएपछि र आन्तरिक राजनीतिकका कारण भन्दै यो भ्रमण स्थगित भयो। नयाँ मिति हालसम्म तोकिएको छैन।

लामिछानेको भ्रमण अनिश्चित बनेकै पृष्ठभूमिमा महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन गएको छ। लामिछानेले भारतमा प्रधानमन्त्री मोदीसँग वार्ता गरे झैं आचार्यले चीनमा पनि उच्चस्तरीय भेटको अपेक्षा गरेको बताएका छन्। उच्चस्तरीय भ्रमणको विकल्पका रूपमा यो टोली जान लागेको उनीहरूको भनाइ छ।

आचार्यसहित संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी र सहमहामन्त्री हरि ढकालसहितको टोली बेइजिङ, हाङचोउ र सिचुवान हिँडेको छ। प्रतिनिधिमण्डलमा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

चीनले परम्परागत कम्युनिस्ट दलका साथै कांग्रेससँग पनि सम्बन्ध राख्दै आएको छ। नेपाली कांग्रेसका टोली पनि सिपिसीको निमन्त्रणामा पटकपटक चीन गएका छन्। अहिले चीनले नयाँ उदाएको शक्ति रास्वपासँग पनि सम्बन्ध विस्तार गर्न चाहेको संकेत यसले दिएको विश्लेषण छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले गृहकार्य गरेका छन्। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण भएको थियो। भ्रमणमा बाढीपछिको पुनर्निर्माणका लागि दुई अर्ब डलर सहयोग, भैरहवा र पोखरा विमानस्थलका लागि थप हवाई रुट, पञ्चेश्वर परियोजना र अयोध्या–जनकपुर रेलमार्गजस्ता विषय उठ्ने सरकारी स्रोतले बताएका छन्, तर कतिपय क्षेत्रमा तयारी अझै अपुरो रहेको रिपोर्ट पनि आएका छन्।

रास्वपाले नेपाललाई भारत र चीनबिचको गतिशील पुल बनाउने अवधारणा अघि सार्दै आएको छ। विज्ञका अनुसार परम्परागत दलहरूसँग अभ्यस्त दिल्ली र बेइजिङ दुवैले अहिले नयाँ नेतृत्वसँग काम गर्ने बाटो खोजिरहेका छन्, तर प्रोटोकल र सन्तुलन मिलाउनु जति सहज छ, त्यसलाई आर्थिक परिणाममा बदल्नु त्यति नै कठिन रहेको उनीहरूको तर्क छ।

एकातर्फ भारतसँग हवाई रुट, व्यापार घाटा र सीमाजस्ता पुराना मुद्दा समाधान गर्ने दबाब छ भने अर्कातर्फ चीनसँग बिआरआई कार्यान्वयन र व्यापारिक नाकाको सहज सञ्चालनको विषय छ। यो समानान्तर कूटनीति प्रोटोकल र सन्तुलनमै सीमित हुन्छ कि आर्थिक रूपान्तरणको माध्यम बन्छ, त्यसको वास्तविक परीक्षा सुरु भएको विज्ञहरूको टिप्पणी छ।

प्रकाशित: ३० कार्तिक २०८३ १०:३० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचा...

#रास्वपा #चीन #भ्रमण
Compare →
Onlinekhabar
1d ago
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश …

#रास्वपा #चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #चीन #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612