Trending
Prev Story
Next Story

विचार | विश्वविद्यालय कसरी जोगाउने, कसरी सुधार्ने ?

Ekantipur •
November 16, 2026 • 01:32 AM
4
4 reads 0 reactions

उद्देश्य र औचित्यको संकटबाट गुज्रिरहेका विश्वविद्यालयमा विद्यार्थीको संख्या बढाउनु मात्र चुनौती होइन, गुणस्तरीय शिक्षा, बौद्धिक रूपमा समृद्ध वातावरण र भविष्य निर्माणका सार्थक अवसर उपलब्ध गराउने विश्वविद्यालय बनाउनु महत्त्वपूर्ण छ।

विचार | विश्वविद्यालय कसरी जोगाउने, कसरी सुधार्ने ?

उद्देश्य र औचित्यको संकटबाट गुज्रिरहेका विश्वविद्यालयमा विद्यार्थीको संख्या बढाउनु मात्र चुनौती होइन, गुणस्तरीय शिक्षा, बौद्धिक रूपमा समृद्ध वातावरण र भविष्य निर्माणका सार्थक अवसर उपलब्ध गराउने विश्वविद्यालय बनाउनु महत्त्वपूर्ण छ।

संसारभर विश्वविद्यालयहरू उद्देश्य र औचित्यको संकटबाट गुज्रिरहेका छन् । मानविकी वा समाज विज्ञान संकटमा छन् । यस्तो संकटको मूल कारण सीमित रोजगारीको अवसर वा विद्यार्थीको बदलिँदो रुचिलाई मान्ने गरिन्छ । तर यो व्याख्याले एउटा आधारभूत प्रश्न ओझेलमा पारिरहेको छ, के हाम्रा विश्वविद्यालयहरूले विद्यार्थीलाई आकर्षित गर्न, नयाँ ज्ञान सिर्जना गर्न र समाजको विश्वास जित्न आवश्यक शैक्षिक वातावरण निर्माण गरेका छन् ? सिधा जवाफ हो, छैनन् ।

नेपालमा विश्वविद्यालयमा आएको संकट आपसमा जोडिएका तीन समस्याको परिणाम हो– राजनीतिक संरक्षण र दलीय स्वार्थको प्रभाव, संस्थागत विकासभन्दा व्यक्तिगत (करिअर) उन्नतिलाई प्राथमिकता दिने प्रवृत्ति, अनि अनुसन्धान र अध्यापनप्रति कमजोर प्रतिबद्धता । यी समस्या समाधानका लागि विश्वविद्यालयहरूले सबैभन्दा पहिले विद्यार्थीलाई प्राथमिकतामा राख्नुपर्छ, अनुसन्धानको संस्कृतिलाई बलियो बनाउनुपर्छ, भौतिक तथा शैक्षिक पूर्वाधारलाई आधुनिक बनाउनुपर्छ र प्रविधिमा आइरहेको परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्नुपर्छ । त्योसँगै आफू बन्ने तर संस्थालाई नबनाउने घातक प्रवृत्ति रोकिनुपर्छ ।

विश्वविद्यालयसँग ठूला भवन, योग्य प्राध्यापक र प्रशासनिक संरचना भएर मात्र त्यसको उद्देश्य पूरा हुँदैन । विद्यार्थीबिना कक्षाकोठा खाली हुन्छन्, प्राज्ञिक समुदाय कमजोर बन्छ र अनुसन्धानका अवसर खुम्चिँदै जान्छन् । विद्यार्थीको सक्रिय सहभागिताबाटै सिकाइ र नयाँ ज्ञान निर्माणले सार्थकता पाउँछन् । त्यसैले विद्यार्थी आकर्षित गर्नु प्रचारप्रसारसँग मात्र जोडिएको विषय होइन, यो विश्वविद्यालयको आधारभूत जिम्मेवारी हो ।

विश्वविद्यालयमा भर्ना हुने हरेक विद्यार्थीमा नयाँ सोच्ने, सिक्ने र ज्ञान निर्माणमा योगदान गर्ने सम्भावना हुन्छ । समाजशास्त्र, मानवशास्त्र वा विकास अध्ययनमा डुबुल्की मार्न विश्वविद्यालय प्रवेश गरेको विद्यार्थीले भोलि सार्वजनिक नीति निर्माणमा सहयोग पुर्‍याउने, सामाजिक असमानतालाई चुनौती दिने वा समाजलाई बुझ्ने दृष्टिकोण बदल्ने अनुसन्धान गर्न सक्छ । उचित अध्यापन, मार्गदर्शन, अनुसन्धानसम्बन्धी तालिम र स्थलगत अध्ययनका अवसर पाउने हो भने विद्यार्थी ज्ञान ग्रहण गर्ने व्यक्तिमा मात्र सीमित नरहेर ज्ञान निर्माणमा सहभागी बन्न सक्छन् । स्नातकको सुरुबाटै विद्यार्थीले अनुसन्धानका प्रश्न निर्माण गर्न, प्रमाण संकलन र विश्लेषण गर्न, प्रकाशित अध्ययनसँग आफ्नो कामलाई जोड्न र निष्कर्ष स्पष्ट रूपमा प्रस्तुत गर्न सिक्नुपर्छ । यसो गर्न सकेमा अनुसन्धान विद्यार्थीको शैक्षिक यात्राको अन्तिम चरणमा पूरा गर्नुपर्ने काम मात्र नभई, उनीहरूको सोच्ने, प्रश्न गर्ने र नयाँ ज्ञान निर्माण गर्ने क्षमता विकास गर्ने निरन्तर अभ्यास बन्न सक्छ ।

त्यसैले विश्वविद्यालयहरूले विद्यार्थीलाई भर्ना संख्याका रूपमा मात्र होइन, प्राज्ञिक जीवनका सक्रिय सहभागीका रूपमा हेर्नुपर्छ । यसका लागि नियमित कक्षा सञ्चालन, अध्यापनप्रति प्रतिबद्ध शिक्षक, समयसापेक्ष पाठ्यक्रम, रचनात्मकता र अनुसन्धान गर्ने अवसर आवश्यक हुन्छन् । विद्यार्थी र तिनका परिवारले उच्च शिक्षामा आफ्नो समय, पैसा र भविष्यप्रतिको आशा लगानी गरेका हुन्छन् । तर विश्वविद्यालयमा भर्ना गरिसकेपछि उनीहरूलाई वाचा गरिएअनुसारको शैक्षिक वातावरण उपलब्ध गराउन नसक्नु संस्थागत जिम्मेवारीबाट विमुख हुनु हो ।

विद्यार्थीले विश्वविद्यालयको शैक्षिक गुणस्तर मात्र होइन, पढ्ने र सिक्ने भौतिक तथा प्राविधिक वातावरणलाई पनि महत्त्व दिन्छन् । सुविधायुक्त कक्षाकोठा वा खेल मैदान, आधुनिक शिक्षण उपकरण, भरपर्दाे इन्टरनेट, पर्याप्त पुस्तक भएको पुस्तकालय र शैक्षिक सामग्री स्रोतमा सहज पहुँच आजको उच्च शिक्षाका आधारभूत आवश्यकता हुन् । पूर्वाधार हुँदैमा शैक्षिक उत्कृष्टता सुनिश्चित हुँदैन, तर पर्याप्त पूर्वाधारको अभावले शैक्षिक गुणस्तर र अनुसन्धान दुवैलाई गम्भीर रूपमा सीमित गर्न सक्छ । त्यसैले चुनौती विद्यार्थीको संख्या बढाउनुमा मात्र सीमित छैन । गुणस्तरीय शिक्षा, बौद्धिक रूपमा समृद्ध वातावरण र भविष्य निर्माणका सार्थक अवसर उपलब्ध गराउने विश्वविद्यालय बनाउनु महत्त्वपूर्ण छ ।

राजनीतिक संरक्षण र अनुसन्धानको क्षय

नेपालका विश्वविद्यालयको संस्थागत विकासमा राजनीतिक संरक्षण र दलीय हस्तक्षेप ठूलो बाधाका रूपमा छन् । विश्वविद्यालयमा नियुक्ति, नेतृत्व चयन र बढुवाका प्रक्रियामा दलीय स्वार्थले बारम्बार प्रभाव पार्दै आएको छ । नेपालका शिक्षाविद् तथा इतिहास अध्येता प्रत्यूष वन्तले पनि राजनीतिक हस्तक्षेप र भागबन्डाको अभ्यासले उच्च शिक्षा सुधारको वास्तविक प्रयासलाई कमजोर बनाउने प्रश्न उठाएका छन् । जब प्राज्ञिक योग्यता र योगदानभन्दा राजनीतिक पहुँच महत्त्वपूर्ण बन्न थाल्छ, विश्वविद्यालयले बौद्धिक काम र क्षमताभन्दा दलीय निष्ठा र निकटतालाई पुरस्कृत गर्ने जोखिम बढ्छ ।

यसको असर विश्वविद्यालयको प्रशासन र नेतृत्वमा मात्र सीमित हुँदैन । अनुसन्धानका लागि समय, स्रोतसाधन, बौद्धिक स्वतन्त्रता र निरन्तर संस्थागत सहयोग आवश्यक हुन्छ । प्राध्यापक तथा अनुसन्धानकर्ताले राजनीतिक असन्तुष्टिको डर नराखी कठिन प्रश्नमा अध्ययन गर्न, स्थापित मान्यतामा प्रश्न उठाउन र प्रमाणमा आधारित निष्कर्ष प्रस्तुत गर्न सक्नुपर्छ । तर राजनीतिक संरक्षणको संस्कृतिले अनुसन्धानमा भन्दा प्रभावशाली सम्बन्ध निर्माण गर्न र व्यक्तिगत व्यावसायिक उन्नतिका अवसर खोज्न बढी ध्यान दिने अवस्था सिर्जना गर्न सक्छ । यसले अनुसन्धानका लागि आवश्यक स्वतन्त्रता र संस्थागत वातावरण दुवैलाई कमजोर बनाउँछ ।

फ्रान्सका समाजशास्त्री एवम् विचारक पियरे बोर्दियुको विश्वविद्यालय र शिक्षाबारेको विश्लेषणले शैक्षिक संस्थाहरू प्रतिष्ठा, अधिकार र स्रोतसाधन प्राप्त गर्ने प्रतिस्पर्धाका स्थल पनि हुन् भन्ने बु∆न मद्दत गर्छ । प्रतिस्पर्धा आफैंमा समस्या होइन । समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब शैक्षिक उपलब्धि, अनुसन्धान र संस्थाप्रतिको योगदानभन्दा राजनीतिक सम्बन्ध र पहुँचले बढी महत्त्व पाउन थाल्छ ।

कुनै प्राध्यापकले उच्च शैक्षिक उपाधि हासिल गर्न, अनुसन्धान प्रकाशन गर्न र बढुवा पाउन सक्छन्, तर आफूलाई ती उपलब्धि हासिल गर्न सक्षम बनाउने विभाग वा विश्वविद्यालयको विकासमा उल्लेखनीय योगदान नगरिरहेका हुन सक्छन् । व्यक्तिगत उन्नति स्वाभाविक र आवश्यक छ, तर त्यसैलाई प्राज्ञिक सफलताको मुख्य मापदण्ड बनाउन मिल्दैन । विश्वविद्यालय पुस्तौंदेखि निर्माण हुँदै आएका संस्था हुन् । आजका प्राध्यापकहरूले अरूले विकास गरेका पाठ्यक्रम, पुस्तकालय, विभाग र बौद्धिक परम्परा प्राप्त गरेका छन् । त्यसैले उनीहरूको जिम्मेवारी आफ्नै करिअर निर्माणमा मात्र सीमित हुनु हुँदैन, भावी पुस्ताका लागि यी संस्थालाई अझ सबल बनाएर छाड्नु पनि उनीहरूको दायित्व हो । त्यसो गर्न जानीजानी नचाहने र आफ्नो व्यक्तित्वलाई संस्थाभन्दा माथि राख्न खोज्ने प्रयास आफ्नै विवेकलाई बन्धक राख्नु न हो ।

उच्च शिक्षा सुधार र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्थाबारे प्रत्यूष वन्तले उठाएका प्रश्नले पनि नीतिगत सुधारसँगै संस्थाभित्रै ठोस परिवर्तन आवश्यक रहेको देखाउँछन् । विश्वविद्यालयमा नियुक्ति र बढुवाका प्रक्रिया पारदर्शी हुनुपर्छ । प्राध्यापकलाई अनुसन्धानका लागि पर्याप्त समय, प्रतिस्पर्धात्मक अनुदान, पुस्तकालयमा सहज पहुँच र सामूहिक अनुसन्धानलाई प्रोत्साहन गर्ने व्यवस्था उपलब्ध गराउनुपर्छ । प्राध्यापकको मूल्यांकन गर्दा सेवा अवधि, राजनीतिक पहुँच वा प्रकाशित लेखको संख्यालाई मात्र आधार बनाउनुको सट्टा अध्यापन, अनुसन्धान, विद्यार्थीको शोध निर्देशन र संस्थागत विकासमा पुर्‍याएको योगदानलाई पनि महत्त्व दिनुपर्छ ।

व्यक्तिगत प्रयासले मात्र विश्वविद्यालयमा बलियो अनुसन्धान संस्कृति निर्माण हुन सक्दैन । त्यसका लागि अध्यापन, अनुसन्धान र समाजसँगको सम्बन्धलाई एकअर्कासँग जोड्ने संस्थागत वातावरण आवश्यक हुन्छ ।

समाज विज्ञानमा वैदेशिक रोजगारी र आप्रवासन अध्ययन गर्ने विद्यार्थीले रेमिट्यान्सको तथ्यांकमा मात्र सीमित नभई परिवारबाट छुट्टिनुपर्दाको अवस्था, ऋणको बोझ र बदलिँदो समय र त्यससँगका आकांक्षाबारे पनि अध्ययन गर्नुपर्छ । जात र लैंगिक सम्बन्ध अध्ययन गर्ने विद्यार्थीले दैनिक जीवनका संस्था र व्यवहारमा असमानता कसरी कायम रहन्छ भन्ने खोज्नुपर्छ । स्थानीय तह, सामुदायिक संस्था र सरकारी निकायसँग सहकार्य गर्न सके विद्यार्थीले समाजका वास्तविक समस्या अध्ययन गर्ने अवसर पाउँछन् र व्यावहारिक सीप पनि विकास गर्न सक्छन् ।

यस्तो अभ्यासले विश्वविद्यालयको सामाजिक महत्त्वसमेत बढाउँछ । अनुसन्धानले सार्वजनिक नीति निर्माणमा सहयोग पुर्‍याउन, गलत सूचना र भ्रमलाई चुनौती दिन तथा सामाजिक समस्यालाई गहिराइमा बु∆न मद्दत गर्छ । विश्वविद्यालयका स्नातकहरूले सार्वजनिक प्रशासन, पत्रकारिता, शिक्षा, विकासका क्षेत्रमा काम र अनुसन्धानजस्ता विभिन्न क्षेत्रमा योगदान गर्न सक्छन् । त्यसैले विश्वविद्यालयले आफ्ना अनुसन्धानका निष्कर्षलाई प्राज्ञिक पत्रिकामा सीमित नराखी सार्वजनिक व्याख्यान, नीतिगत सुझाव र आम मानिसले बुझ्न सक्ने प्रकाशनमार्फत समाजसम्म पुर्‍याउनुपर्छ ।

तर कमजोर अध्यापन र अपर्याप्त पूर्वाधार भएको अवस्थामा अनुसन्धान र सामाजिक संलग्नताले मात्र विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार्न सक्दैन । विश्वविद्यालयको नेतृत्वले कक्षाकोठा, पुस्तकालय, डिजिटल स्रोतसाधन र अनुसन्धान सुविधाको उचित व्यवस्थापन, नियमित मर्मतसम्भार र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्छ । प्राध्यापकहरूले आफ्नो अध्यापनलाई समयानुकूल बनाउने, विद्यार्थीलाई जिम्मेवारीपूर्वक शोध निर्देशन दिने र सामूहिक शैक्षिक गतिविधिमा सक्रिय योगदान गर्ने दायित्व पनि पूरा गर्नुपर्छ ।

त्यसैले विश्वविद्यालय सुधार सबैको साझा जिम्मेवारी हो । सरकारले राजनीतिक हस्तक्षेपबिना नियमित र पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउनुपर्छ । विश्वविद्यालयका पदाधिकारीले पारदर्शी प्रणाली स्थापित गर्नुपर्छ । प्राध्यापकहरूले पनि आफ्नो जिम्मेवारी व्यक्तिगत करिअर निर्माण र पदोन्नतिमा मात्र सीमित नरहेको बु∆नुपर्छ । विश्वविद्यालयप्रतिको वास्तविक प्रतिबद्धता आफ्नै सफलता हासिल गर्नुमा मात्र होइन, आफूले काम गर्ने संस्थालाई अझ सबल बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुमा पनि देखिनुपर्छ ।

नेपालका विश्वविद्यालयलाई जोगाउन र सुधार्न प्रचारप्रसारका अभियान, थप भवन निर्माण वा उच्च शिक्षाको महत्त्वबारे गरिने अपिलले मात्र पर्याप्त हुँदैनन् । यसका लागि विश्वविद्यालयले आफ्ना प्राथमिकता र काम गर्ने तरिकामै आधारभूत परिवर्तन गर्नुपर्छ ।

प्राध्यापकहरू सफल हुँदैमा विश्वविद्यालय बलियो हुँदैन । उनीहरूको सफलताले अध्यापनलाई राम्रो बनाउँछ, अनुसन्धानको संस्कृतिलाई सबल बनाउँछ, विद्यार्थीलाई अझ सक्षम बनाउँछ र भावी पुस्ताले विश्वास गर्न सक्ने संस्था निर्माण गर्छ भने मात्र विश्वविद्यालय वास्तविक अर्थमा बलियो हुन्छ ।

विश्वविद्यालयलाई कि त राजनीतिक स्वार्थ, भागबन्डा र व्यक्तिगत महत्त्वाकांक्षाको चंगुलबाट मुक्त गरेर ज्ञानको मन्दिर बनाऊ, नभए त्यसका भग्नावशेषमाथि उभिएर आफ्नो बौद्धिक पतनको घोषणा गर । विश्वविद्यालयको मृत्यु इँटा र सिमेन्टको भग्नावशेषबाट हुँदैन, समाजले प्रश्न गर्ने साहस, सत्य खोज्ने विवेक र आफ्नै भविष्य निर्माण गर्ने सामथ्र्य गुमाएको ऐतिहासिक क्षणबाट हुन्छ ।

सीपी अर्यालले समाजशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी समाज र राजनीतिको बृहत् आयाममा लेख्छन्।

Prev Swipe Story Next

Related Stories

Education & Youth
Build #2612