सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहने विभागले जनाएको छ ।
काठमाडौँ — आइतबारदेखि नेपालका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ । ती क्षेत्रमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ ।
विभागकी मौसमविद् बिनु महर्जनले पश्चिमी वायुको प्रभावले आइतबार वर्षाको सम्भावना देखिएको बताइन् । 'पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । ती क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्छ,’ महर्जनले भनिन्, ‘तराईका अधिकांश क्षेत्रमा भने वर्षाको सम्भावना छैन । ’
सुदूरपश्चिमको तराईका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने भए पनि मुख्य प्रभाव पहाडी र हिमाली भूभागमा रहनेछ । आइतबारपछि मौसममा ठूलो परिवर्तन आउने सम्भावना नरहेको उनको भनाइ छ । ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना भएकाले धानमा पनि असर पर्न सक्छ । थोरै पानीले पनि धान बिगार्न सक्ने भएकाले सतर्क रहन किसानलाई आग्रह गरेका छौं ।’
नेपाल कृषि संघका अनुसार पहाडी क्षेत्रमा धान काटिसकिएको छ । संघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले पहाडी र उपत्यका क्षेत्रमा धान कटान लगभग सकिएको र तराईका केही क्षेत्रमा मात्रै बाँकी रहेको बताए । ‘उपत्यका र पहाडी क्षेत्रमा धान कटान करिब सकिसकेको छ । पहाडी क्षेत्रमा हुने वर्षाले धेरै असर गर्दैन,’ श्रेष्ठले भने, ‘तराईका केही स्थानमा बाँकी नै छ । कोशी प्रदेशअन्तर्गत उदयपुर र विराटनगर आसपास र सुदूरपश्चिमका केही तराईमा पनि बाँकी छ । ’
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।