पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।
काठमाडौँ — दूरपश्चिम रोयल्स यस सिजनमा शुक्रबार फेरि एकपटक कम योगफल १२५/६ मा समेटियो । सुदूरपश्चिमले नोभेम्बर १० मा जनकपुर बोल्ट्सविरुद्ध १२१ रनको लक्ष्य सफलतापूर्वक रक्षा गरेपछिको खेलमा यस्तो नतिजा आएको हो । र, यी कम योगफलहरू पावरप्लेमा बनेको न्युन स्कोर थिए, जनकपुरविरुद्ध ३५/२ र काठमान्डु गोर्खाजविरुद्ध २१/४ ।
सुदूरपश्चिम यति कम योगफलमा समेटिएको यो सिजनको पहिलो घटना भने थिएन । दुई पटकको फाइनलिस्ट सुदूरपश्चिमले साबिक विजेता लुम्बिनी लायन्सविरुद्ध ८७ रनमै अलआउट भएर सिजन सुरु गरेको थियो । लायन्सविरुद्ध पावरप्लेमा ३८/४ को स्थितिमा रहेको सुदूर उक्त खेलमा ७ विकेटले पराजित भएको थियो ।
उता लुम्बिनीको हकमा भने दोस्रो इनिङ्सको पहिलो पावरप्लेमा विना कुनै विकेट क्षतिमा ७० रन बोर्डमा थियो । पावर प्लेको यही साझेदारीले लुम्बिनीलाई सुदूरमाथि जित दिलाउन मदत गर्यो । यदि लुम्बिनीले पावरप्लेमा राम्रो प्रदर्शन नगरेको भए सुदूरपश्चिम लक्ष्य रक्षा गर्ने दौडबाट कहिल्यै बाहिरिएको थिएन ।
खराब पावर प्लेले प्रायः टोलीहरूलाई जितका लागि संघर्ष गर्न बाध्य बनाएको छ । शुक्रबार दोस्रो खेल जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको भिडन्तले पनि यही स्थिति देखायो । टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर सुरुआती ६ ओभरमा २२/३ को अवस्थामा थियो । पहिलो सिजनको च्याम्पियन टोली पहिलो इनिङ्सको अन्त्यसम्म ८८/९ को स्कोरमा मात्र पुग्न सक्यो । जवाफमा सामान्य लक्ष्य सहजै पछ्याउन सक्ने स्थितिमा रहे पनि चितवन सुरुआती ६ ओभरमा ३९/५ को नाजुक अवस्थामा पुगेर पनि ४ विकेटले खेल जित्न सफल भयो ।
शुक्रबारसम्म एनपीएलका २५ मध्ये २३ खेलमा (रद्द भएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल तथा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीचको ५–५ ओभरको खेललाई बाहेक) पावर प्लेको औसत स्कोर ४० छ । दोस्रो इनिङ्समा यो औसत ४३ छ ।
ओभर नघटाइएका २३ खेलमध्ये लुम्बिनीको ७०/० नै कुनै पनि टोलीले बनाएको उच्च पावर प्ले स्कोर हो । ट्वान्टी–२० क्रिकेटमा फिल्डिङ प्रतिबन्धका कारण ब्याटरहरूले इनिङ्सको सुरुआती लय समात्न पाउने भएकाले पहिलो ६ ओभरलाई आक्रामक प्रहारको समय मानिन्छ । तर, तेस्रो सिजनभर कीर्तिपुर क्रिकेट रंगशालामा एउटा फरक प्रवृत्ति देखिएको छ । टोलीहरू पावर प्लेको अधिकतम फाइदा उठाउन असफल भइरहेका छन् । कि त यी टोलीहरूले महत्त्वपूर्ण रन गुमाइरहेका छन् कि त फिल्ड खुल्नुअघि नै शीर्षक्रमका ब्याटरहरू गुमाइरहेका छन् ।
‘बल धेरै टर्न भइरहेको छ, जसले गर्दा ब्याट्सम्यानलाई पावर प्लेभित्र र बाहिर दुवै समयमा रन बनाउन कठिन भइरहेको छ,’ शुक्रबार काठमान्डु गोर्खाजमाथि जित पाएपछि सुदूरपश्चिम रोयल्स बलर हेमन्त धामीले भने ।
सुदूरको हकमा सिजनको सुरुआत ८७ रनमा अलआउट हुँदा होस् या लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोर्दा पनि कम स्कोरका खेलहरूमा टोलीको मानसिकता निर्णायक बनेको छ । ‘कम लक्ष्य रक्षा गर्दा हामीलाई दबाब हुँदैन किनकि हामीलाई टोलीको क्षमतामाथि विश्वास छ,’ हेमन्तले थपे । र, दुईपटकको उपविजेता टोलीको मानसिकतालाई प्रतियोगिताकै सबैभन्दा जोसिला समर्थकको साथले बल पुर्याएको छ ।
काठमान्डुका ब्याटरहरू पावरप्लेमा ३२/२ को स्थितिमा रहे पनि र जितका लागि ८४ बलमा ९४ रन आवश्यक रहँदा सुदूरपश्चिमको अनुशासित बलिङ र प्यारापिटभर रहेका विपक्षी समर्थकको चर्को हुटिङका कारण अत्यधिक दबाबमा परेका थिए । काठमान्डुमाथिको जितपछि कान्तिपुरसँगको विशेष कुराकानीमा सुदूरपश्चिमका इशान पाण्डेका दाबी अनुसार कप्तान दीपेन्द्रसिंह ऐरी टोलीमा रहँदासम्म सुदूरले हार्ने छैन । दीपेन्द्रले टोलीको कुल योगफलको झन्डै आधा रन बनाए भने कम लक्ष्य रक्षा गर्न फिल्डिङ र कप्तानी निर्णयमा पनि उनी निर्णायक रहे ।
पिचले ब्याटरहरूलाई सुरुआती ६ ओभरमा पर्याप्त रन बनाउन मघत नगरेको कुरा सत्य हो । तर, यो सिद्धान्त गलत साबित भएका उदाहरण पनि छन् ।
४६ इनिङ्समध्ये पावर प्ले स्कोर ६१ देखि ७० रनको बीचमा पुगेको केवल चार पटक मात्र छ । ६ पटक पावर प्ले स्कोर २१ देखि ३० रनको बीचमा रह्यो भने १६ पटक ३१ देखि ४० रन, १३ पटक ४१ देखि ५०, सात पटक ५१ देखि ६० र चार पटक ६१ देखि ७० रनको बीचमा रहेको आँकडा छ ।
ट्वान्टी–२० क्रिकेटमा एकै खेलाडीले खेलको पासा पल्टाउन सक्छन् भनी धेरै खेलाडीहरू तर्क गर्छन् । काठमान्डुविरुद्ध दीपेन्द्रको प्रभाव र सिजनका अन्य उदाहरणले यो तर्क सही साबित भएको देखिन्छ ।
युवराज सिंह सामरा अर्का यस्ता खेलाडी हुन्, जसले यस पिच ब्याटिङका लागि कठिन छैन भनेर देखाएका छन् । यद्यपि उनको आक्रामक ब्याटिङ प्रदर्शनले पोखरा एभेन्जर्सलाई पावर प्लेमा भने फाइदा दिन सकेन ।
भारतीय अलराउन्डर युवराज सिंहको नामबाट नामकरण गरिएका क्यानेडियन युवा खेलाडी सामरालाई पोखराले सिजनको बीचमा अनुबन्ध गरेको थियो । नोभेम्बर ६ मा चितवनविरुद्धको एनपीएल डेब्युमा सामरा १९ रन (१४ बल) मै आउट भए पनि नोभेम्बर ९ मा कर्णाली याक्सविरुद्धको दोस्रो खेलमा उनले ४८ बलमा १०२ रन प्रहार गर्दै सिजनको पहिलो शतक बनाएका थिए ।
सामराको शतक मदतमा पोखराले २१७/३ को योगफल खडा गर्यो, जुन सिजनको एकमात्र २०० भन्दा माथिको स्कोर हो । यद्यपि, पावर प्लेको स्कोर हेर्ने हो भने पोखरा ४२/१ को स्थितिमा थियो ।
तथ्यांकले दुई इनिङ्सबीचको स्पष्ट भिन्नता देखाउँछ । पहिलो इनिङ्समा उच्च पावर प्ले स्कोर बनाउने टोलीहरूले केवल ७ खेल जितेका छन् । सुरुका ६ ओभरयता पछि परेका टोलीहरूले जितेको संख्या ६ रहेको छ । तर दोस्रो इनिङ्समा भने तीव्र सुरुआत निर्णायक साबित भएका छन्, लक्ष्य पछ्याउने क्रममा पावर प्लेमा विपक्षीभन्दा बढी रन बनाउने टोलीहरूले ७ खेल जितेका छन् भने सुरुआतमा पछि पर्ने टोलीहरूले केवल दुई खेल मात्र जितेका छन् ।
के यसको अर्थ यसपटक त्रिवि मैदानमा ब्याटिङ साँच्चै कठिन छ त ? अनुभवी इंग्ल्यान्डका खेलाडी रवि बोपाराले यसलाई स्वीकारेका छन् ।
‘यस सिजन पिचहरू त्यति उत्कृष्ट रहेन,’ एनपीएलका सर्वाधिक रनकर्ता बोपाराले भने, ‘मलाई लाग्छ, हामीले देखेका पिचहरूमध्ये यो सम्भवतः सबैभन्दा खराब हो ।’
तर सामराले ब्याटबाट जसरी प्रदर्शन गरेका छन्, त्यसले समस्या पिचमा नभई ब्याटरको मानसिकतामा देखिन्छ । ‘म बलरहरूमाथि हावी हुन रुचाउँछु,’ कर्णालीमाथिको ६३ रनको जितपछि पत्रकार सम्मेलनमा सामराले यो वाक्य धेरै पटक दोहोर्याए । सामराले बिहीबार विराटनगरविरुद्धको खेलमा पनि ४७ बलमा ८४ रन प्रहार गरेका थिए । तीन खेल मात्र खेलेका सामरा अहिले नै सिजनको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनिसकेका छन् ।
यसबाहेक ३१ अक्टोबरमा विराटनगर र सुदूरपश्चिमबीच भएको ५–५ ओभरको खेलले पनि त्रिवि पिचको परिस्थिति ब्याटिङका लागि कठिन नभएको देखाउँछ । वर्षाका कारण उक्त खेल ५ ओभरमा झारिएको थियो । साँझ ५ बजे सुरु हुनपर्ने खेलमा आउटफिल्ड भिजेको र बाउन्ड्री रोप साँघुरो पारिएको अवस्थामा राति ९ः०६ बजे टस हुँदा परिस्थिति झनै कठिन थियो । खेलमा विराटनगरले ५ ओभरमै १०५/२ को स्कोर खडा गर्यो भने जवाफमा सुदूरपश्चिम ७०/३ मा सीमित भयो । १०५ यस्तो स्कोर हो, जुन बनाउन विराटनगरसहित अन्य टोलीहरूलाई १० ओभरमा समेत हम्मेहम्मे पर्ने गरेको छ ।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।