Trending
Prev Story
Next Story

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

Nagarik News •
November 14, 2026 • 12:40 AM
1
1 reads 0 reactions

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार (नेपाली समयअनुसार शनिबार) देशभरका उडान रोक्ने आदेश दिएको छ।

सुरक्षालाई ध्यानमा राख्दै देशभरका विमानस्थलबाट हुने उडान रोकिएको हो। यसका कारण हजारौं उडान प्रभावित भएका छन् भने लाखौं यात्रुको यात्रा अनिश्चित बनेको छ।

सन् २०२३ पछि पहिलो पटक र सेप्टेम्बर ११, २००१ को आक्रमणपछि दोस्रो पटक अमेरिकाभरका उडान यसरी रोकिएका हुन्। सन् २०२३ मा एफएएको एउटा प्रमुख कम्प्युटर प्रणालीमा समस्या आएपछि देशभर उडान रोक्नुपरेको थियो।

यातायात सचिव शन डफीले देशभर विमानलाई एक विमानस्थलबाट अर्को विमानस्थलसम्म पुग्न मार्गनिर्देशन गर्ने २२ वटा क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा सञ्चार समस्या देखिएको बताएका छन्। उनले एफएका प्राविधिकले समस्या पत्ता लगाउन अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।

एफएएले असामान्य परिस्थिति र सुरक्षाको कारण देखाउँदै उडान रोक्ने निर्णय गरेको हो। आकाशमा उडिरहेका विमानलाई भने सुरक्षित रूपमा अवतरण गर्न दिइएको थियो। अन्तर्राष्ट्रिय उडानलाई पनि अवस्थाअनुसार सञ्चालन गर्न अनुमति दिइएको थियो।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले अहिलेसम्म यो कुनै दुर्भावनापूर्ण आक्रमण भएको संकेत नदेखिएको बताए। उनले ‘यो हामीमाथिको दुर्भावनापूर्ण आक्रमण भएको कुनै संकेत अहिलेसम्म देखिएको छैन। अहिलेका लागि यो केवल दूरसञ्चार प्रणालीमा आएको समस्या हो’ भने।

उनले यात्रु र उनीहरूका परिवारलाई नआत्तिन पनि आग्रह गरेका छन्। ‘सबैजना सुरक्षित छन्। तपाईंका आफन्त विमानमा यात्रा गरिरहेका छन् भने चिन्ता लिनुपर्ने कुनै कारण छैन,’ उनले भने।

एफएएको आदेशपछि कम्तीमा ६०० उडान अन्य विमानस्थलमा पठाइएका थिए। उड्डयन तथ्यांक तथा विश्लेषण कम्पनी सिरियमका अनुसार नेपाली समयअनुसार शनिबार बिहान ४:३५ बजेसम्म ४९६ उडान उडान भरेकै विमानस्थलमा फर्काइएका थिए भने १०४ उडानलाई अन्य विमानस्थलमा अवतरण गराइएको थियो।

शिकागो ओ'हेयर, डेनभर, डलास फोर्ट वर्थ र वासिङ्टन राष्ट्रिय विमानस्थललगायत प्रमुख विमानस्थलमा उडान प्रभावित भएका थिए। धेरै यात्रु विमानस्थलमै रोकिएका थिए भने कतिपय विमानमा चढिसकेका यात्रुलाई समेत ओर्लन भनिएको थियो।

अमेरिकाका विमानस्थलबाट शुक्रबार दिउँसो ४ बजेसम्म करिब ११ हजार उडान भर्ने तालिका थियो। ती उडानबाट १५ लाखभन्दा बढी यात्रुले यात्रा गर्ने अनुमान गरिएको थियो। त्यसैले उडान रोकिएपछि थप उडान रद्द हुने र अन्य विमानस्थलमा पठाउनुपर्ने अवस्था आएको थियो।

शिकागो ओ'हेयर विमानस्थलमा डेनभर जान लागेका यात्रु अस्टिन कर्टिस र उनकी श्रीमतीलाई विमानबाट ओर्लन भनिएको थियो। उनीहरू साथीको बेबी सावरमा सहभागी हुन डेनभर जान लागेका थिए। विमानबाट सामानसमेत निकाल्न थालेपछि लामो समयसम्म उडान नहुने उनीहरूले अनुमान गरेका थिए।

कर्टिसले घरमा रहेका दुई साना बच्चाको हेरचाहको व्यवस्था मिलाइसकेकाले यात्रा रद्द भए शिकागोमै बस्नुपर्ने हुन सक्ने बताएका थिए। त्यस्तै, अन्य यात्रु पनि आफ्नो गन्तव्यमा पुग्ने वैकल्पिक उपाय खोज्न बाध्य भएका थिए।

अमेरिकी अधिकारीहरूले सञ्चार प्रणालीमा समस्या आउनुको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्। गृह सुरक्षा सचिव मुलिनले समस्या समाधान गर्न कति समय लाग्छ भन्ने यकिन नभएको बताएका छन्।

अमेरिकाले हवाई ट्राफिक नियन्त्रणमा प्रयोग हुँदै आएको पुरानो प्रविधि सुधार गर्न पनि काम गरिरहेको छ। यसका लागि गत वर्ष अमेरिकी संसद्ले १२ अर्ब ५० करोड डलर बजेट स्वीकृत गरेको थियो। पुराना तामाका तारलाई फाइबर अप्टिक तारले प्रतिस्थापन गर्ने र रेडियो प्रणाली सुधार गर्ने काम भइरहेको छ।

तर, यो काम पूरा गर्न अझै थप ३० अर्ब डलर आवश्यक पर्ने यातायात सचिव डफीले बताएका छन्। सञ्चार प्रणालीमा आएको पछिल्लो समस्याले हवाई ट्राफिक नियन्त्रणका लागि प्रयोग हुँदै आएको पुरानो प्रविधिको कमजोरी फेरि उजागर गरेको छ।

उडान पुनः कहिलेदेखि सामान्य रूपमा सञ्चालन हुन्छ भन्नेबारे अधिकारीहरूले निश्चित समय दिएका छैनन्। सञ्चार प्रणालीमा आएको समस्याका कारण अमेरिकाभरको हवाई यात्रा अस्तव्यस्त बनेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: २८ कार्तिक २०८३ ०६:२५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
29m ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार (नेपाली समयअनुसार शनिबार) देशभरका उडान रोक्ने आदेश दिएको छ। सुरक्षालाई ध्...

#उडान #देशभर #अमेरिका
Compare →

Related Stories

World News
Build #2612