हरिवंश आचार्य, जसलाई तपाईंले अनेक रूपमा देख्नुभयो । कहिले छट्टु वनपाले देख्नुभयो, कहिले भोलाभाला तल्सिङ । कहिले विद्रोही युवा देख्नुभयो, कहिले संस्कारी बाजे । उनले अनेक जीवन बाँचे । अभिनयको आलोकमा उभिएर समाजलाई किस्ता किस्तामा खुसीको उपहार दिइरहे ।
रेडियो नेपालबाट सुरु भएको उनको कलाकारिता यात्रा अन्ततः हास्य कलाकारितामा समाहित हुन पुग्छ । त्यहीँ भेटिन्छन्, मदनकृष्ण श्रेष्ठ । अनि थालनी हुन्छ एउटा गहकिलो सहयात्राको । यी दुवैले मह जोडीका रूपमा हास्य कलाकारितालाई एउटा उचाइमा पुर्याउँछन् ।
उनीहरू पर्दामा आउँदा दर्शकले केवल मनोरञ्जन खोजेनन्, आफ्नै समाज, आफ्नै परिवार र आफ्नै जीवनका कथा भेटे । उनीहरूका प्रस्तुतिमा हाँसो हुन्थ्यो, व्यङ्ग्य हुन्थ्यो, सामाजिक चेतना हुन्थ्यो र मानिसलाई मानिसकै रूपमा बुझ्ने सुन्दर सन्देश हुन्थ्यो ।
उनको कलाकारिता यात्रा २०३१ सालमा रेडियो नेपालबाट सुरु भएको हो । त्यतिबेला रेडियो नेपाल नै देशको प्रमुख प्रसारण माध्यम थियो । उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग रेडियोमा प्रस्तुति दिने अवसर पाए । त्यसपछि २०३२ सालमा राष्ट्रिय नाचघरमा आबद्ध भए । २०३४ सालको गाईजात्रा महोत्सवमा सहभागी भएपछि उनको कलाकारिताले थप चर्चा पाउन थाल्यो । तर त्यो सफलतासम्म पुग्नुअघि उनले करिब छ वर्ष एक्लै संघर्ष गरेका थिए ।
हरिवंशको नामसँग जोडिएर आउने अर्को नाम हो, मदनकृष्ण श्रेष्ठ । यी दुईको भेट गाईजात्रा महोत्सवकै क्रममा भएको थियो । दुवैको रुचि अभिनय र हास्यव्यङ्ग्यमा थियो । सुरुमा उनीहरू आआफ्नै प्रस्तुति लिएर मञ्चमा जाने तयारीमा थिए । तर समयको अभाव भएपछि एउटै प्रस्तुति दिनुपर्ने अवस्था आयो । त्यसै क्रममा उनीहरूले संयुक्त प्रस्तुति दिए । यही सहकार्यले पछि नेपाली कला क्षेत्रमा चर्चित ‘मह जोडी’ को रूप लियो ।
‘मह’ नाम मदनकृष्ण र हरिवंशको नाम जोडेर बनेको हो । सामान्य संयोगबाट सुरु भएको सहकार्य समयसँगै नेपाली मनोरञ्जन क्षेत्रको एउटा बलियो पहिचान बन्यो । उनीहरूको जोडीले चार दशकभन्दा लामो समयसम्म सँगै काम गर्यो । यस यात्रामा दर्शकको माया, आपसी विश्वास र एकअर्काप्रतिको सम्मान महत्त्वपूर्ण रह्यो । हरिवंशले विभिन्न अन्तर्वार्तामा पनि मदनकृष्णसँगको सम्बन्ध र दर्शकको मायालाई आफ्नो लामो सहकार्यको मुख्य आधार मानेका छन् ।
मह जोडीले नेपाली समाजका अनेक घटना, प्रवृत्ति र समस्यालाई हास्यव्यङ्ग्यमार्फत प्रस्तुत गर्न थाल्यो । उनीहरूले बनाएका प्रस्तुतिमा सामान्य मानिसको जीवन, राजनीतिक बेथिति, सामाजिक विभेद, पारिवारिक सम्बन्ध र प्रशासनिक विकृतिका कथा हुन्थे । उनीहरूको व्यङ्ग्यले दर्शकलाई हँसाउँथ्यो, तर हाँसोसँगै समाजका कमजोरीमाथि प्रश्न पनि उठाउँथ्यो ।
‘१५ गते’, ‘लालपुर्जा’, ‘५०/५०’, ‘भकुण्डे भूत’, ‘मदनबहादुर-हरिबहादुर’, ‘दशैं’ जस्ता टेलिशृङ्खला तथा प्रस्तुतिले उनीहरूलाई घरघरमा परिचित बनाए । विशेषगरी हरिबहादुरको चरित्रले हरिवंशलाई दर्शकको मनमा छुट्टै स्थान दिलायो । उनको अभिनयमा देखिने स्वाभाविकपन, बोल्ने शैली र हास्य प्रस्तुत गर्ने तरिकाले त्यो चरित्रलाई अविस्मरणीय बनायो ।
हरिवंशको प्रतिभा हास्य अभिनयमा मात्र सीमित रहेन । उनले चलचित्रमा पनि आफ्नो बलियो उपस्थिति बनाए । ‘लोभीपापी’, ‘फिल्म’, ‘राजमती’, ‘सिलु’, ‘बलिदान’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ जस्ता चलचित्रमा उनले अभिनय गरे । विशेषगरी सन् १९९७ मा प्रदर्शनमा आएको ‘बलिदान’ मा अर्जुनको भूमिकामा गरेको अभिनयले उनको गम्भीर अभिनय क्षमता पनि उजागर गर्यो । दर्शकले उनलाई हँसाउने कलाकारका रूपमा मात्र होइन, भावनात्मक र गम्भीर भूमिकामा पनि स्वीकार गरे ।
उनको अर्को विशेषता लेखन र संगीत हो । उनी गीत लेख्छन्, गाउँछन् र आफ्ना सिर्जनामार्फत समाजका कुरा गर्छन् । उनले लेखेको आत्मकथा ‘चिना हराएको मान्छे’ ले पनि पाठकको मन जितेको थियो । यस पुस्तकमा उनले आफ्नो जीवनका संघर्ष, असफलता, पारिवारिक पीडा र कलाकारिता यात्राका अनुभव सुनाएका छन् । उनको जीवनलाई नजिकबाट बुझ्न चाहनेका लागि यो पुस्तक महत्त्वपूर्ण कृति हो ।
हरिवंशको जीवन सधैँ सहज रहेन । उनले व्यक्तिगत जीवनमा पनि गहिरो पीडा भोगेका छन् । पहिलो पत्नी मीराको हृदयाघातका कारण निधन भयो । जीवनको यस्तो कठिन मोडमा पनि उनले आफूलाई सम्हाल्दै सिर्जनात्मक यात्रालाई निरन्तरता दिए । पछि उनले रमिला पाठकसँग विवाह गरे । पहिलो पत्नीको सम्झनामा उनले मीरा सेन्टर स्थापना गरेर बालबालिकाको हेरचाह र विकासका क्षेत्रमा पनि योगदान पुर्याएका छन् ।
आज हरिवंश आचार्यलाई सम्झिँदा केवल एउटा कलाकारको अनुहार आँखाअघि आउँदैन । रेडियोमा संघर्ष गरिरहेको एउटा युवा, गाईजात्राको मञ्चमा आफ्नो प्रतिभा देखाइरहेको कलाकार, मदनकृष्ण श्रेष्ठसँग मिलेर नेपाली हास्यव्यङ्ग्यलाई नयाँ उचाइमा पुर्याएको सर्जक र चलचित्रमा विभिन्न चरित्रमार्फत आफूलाई प्रमाणित गरेको अभिनेताको लामो यात्रा सम्झिन्छौँ ।
उनी पर्दामा देखिँदा आज पनि धेरै नेपालीको अनुहारमा मुस्कान आउँछ । उनका पुराना प्रस्तुति हेर्दा बाल्यकाल सम्झिनेहरू छन् । परिवारसँग बसेर टेलिभिजन हेरेका दिन सम्झिनेहरू छन् ।
सायद कलाकारको जीवनको सबैभन्दा ठूलो सफलता यही हो । आफूले बिताएको समय मात्र होइन, आफूले सिर्जना गरेको खुसी पनि अरूको जीवनमा लामो समयसम्म जीवित रहनु ।
(आज हरिवंश आचार्यको जन्मदिन । उनी ६९ वर्षका भए । उनी अभिनित फिल्म ‘पाँच पाण्डव’ यतिबेला प्रदर्शनमा छ ।)