तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको नेपाल प्रिमियर लिग (एनपीएल) ३ को व्यथा उस्तै रह्यो । सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गरे पनि टोली बिहीबार च्याम्पियन लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भयो ।
कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिका तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको पृष्ठभूमिमा लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।
तर टस जितेर ब्याटिङ रोजेको कर्णाली त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा १९.२ ओभर मात्र टिक्न सक्यो । डार्सी शर्टले ४६ रन बनाएपछि लुम्बिनीले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो । कर्णालीको यो लगातार चौथो हार हो । ओपनर शर्टले ३४ बल खेली ६ चौका र १ छक्कासहित ४६ रन बनाए ।
आसिफ शेख र कप्तान रोहित पौडेल १–१, सन्दीप जोरा ४ रनमै आउट भए । निरोशन डिकवेलाले १६ रन बनाए । उनले १३ बल खेली २ चौका प्रहार गरे । सामिम हुसैन ५ रनमै आउट भए । दिलीप नाथ २८ र रुबेन ट्रम्पलमन २ रन बनाई अविजित रहे । दिलीपले २७ बल खेली ४ चौका प्रहार गरे । कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ र हुसैन तलातले १–१ विकेट लिए ।
यस जितपछि लुम्बिनी शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।
कप्तान मात्र होइन, कर्णालीले ओपनिङ ब्याटिङमा पनि परिवर्तन गरेको थियो । तर प्रतियोगितामा पहिलो खेल खेलिरहेका दीपेन्द्र राउत चार बलमात्र टिक्न सके । उनलाई अभिषेक गौतमले बोल्ड गरिदिए । अर्का ओपनर आरिफुल इस्लाम र दीपक डुम्रे समान ४ रनमा आउट भए । अभिषेकले दीपकलाई पनि आउट गरेका थिए भने किशोर महतोको बलमा रोहितले सानदार क्याच लिएर आरिफुललाई पेभेलियन फर्काए ।
मिलर आफैं चौथो नम्बरमा ब्याटिङ गर्न आए । तर उनी पनि लुम्बिनीको उत्कृष्ट फिल्डिङको सिकार भए । आफ्नो पहिलो ओभर लिएर आएका शेर मल्लले मिलरलाई ट्रम्पलमनबाट सानदार क्याच गराए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले सर्वाधिक २८ रन बनाए । उनले १८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । शर्टको बलमा उनी पनि लङ अनमा आसिफ शेखबाट सुन्दर क्याचमा आउट भए । पवनलाई १२ रनमा शर्टले बोल्ड गरे । तलातले २४ रन बनाए । उनले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।
वाट २, गुलशन झा १३ र नन्दन यादव ३ रनमै आउट भए । अभिषेकले ४ ओभरमा २१, रोहितले ३ ओभरमा १२, शर्टले ४ ओभरमा १३ र किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २–२ विकेट लिए । एक विकेट ट्रम्पलमनको नाममा रह्यो ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।
अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।