हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।
काठमाडौँ — एनभिडियाले आफ्ना अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएको जनाएको छ । कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ ।
६३ वर्षीय विवाहित हुआङमाथि पछिल्ला दिनमा राजीनामा दिन दबाब बढ्दै गएको थियो । अमेरिकी अधिकारीहरूले बेइजिङका लागि जासुसी गरेको आशंका गरेकी एक चिनियाँ व्यवसायीसँग उनको विवाहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि उनीमाथि राजीनामको दबाब बढेको हो ।
हुआङलाई पदबाट हटाउने विषयमा छलफल गर्न एनभिडियाको सञ्चालक समितिको बुधबार बैठक बसेको थियो । यसअघि बुधबारै सार्वजनिक समाचारमा हुआङको आफू मातहत काम गर्ने कम्पनीकी एक वरिष्ठ अधिकारीसँग पनि विवाहबाहिर सम्बन्ध रहेको दाबी गरिएको थियो ।
हुआङको बहिर्गमनले ४० खर्ब अमेरिकी डलर बजार मूल्य भएको कम्पनीलाई अनिश्चिततातर्फ धकेलेको छ । साथै, उनले एनभिडियाको बढ्दो नगद सञ्चिति क्लाउड सेवा प्रदायक, आपूर्तिकर्ता र उद्योगका ठूला अनुसन्धान प्रयोगशालामा पुनः लगानी गरेर विकास गर्न सहयोग गरेको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको पारिस्थितिक प्रणालीमा समेत अवरोध आउन सक्ने देखिएको छ ।
हुआङले चिनियाँ बजारमा पहुँच कायम राख्न गरेको प्रयास र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धका कारण उनको बहिर्गमनले अमेरिकी चिप निर्यात नीतिमा पनि दूरगामी प्रभाव पार्न सक्नेछ ।
हुआङसँग एनभिडियाको करिब ३.६ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीका दर्जनौं उच्च अधिकारीले उनलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्ने गरेका छन् । यसले आफूले सहस्थापना गरेको कम्पनीमाथि उनको बलियो नियन्त्रण रहेको देखाउँछ ।
बिहीबार अमेरिकी बजार खुल्नुअघि प्रि–मार्केट कारोबारमा एनभिडियाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस साता मात्रै कम्पनीको बजार पुँजीकरण करिब ६ खर्ब अमेरिकी डलरले घटेको छ ।