Trending
Prev Story
Next Story

मधेसमा छठ पर्वको रौनक सुरु

Nagarik News •
November 11, 2026 • 06:01 AM
1
1 reads 0 reactions

मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ ।

मधेसमा छठ पर्वको रौनक सुरु

मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ । छठ पर्व नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढनुका साथै पर्वको पहिलो चरण अन्तर्गत व्रतालुहरू घरपरिवारका सदस्यसहित छठीमाताको आराधनाका लागि आवश्यक सामाग्रीको तयारीमा जुटेका छन् । छठ पर्वको तयारीका क्रममा मंगलबार बिहानै गाउँको मुख्य बाटोमा जम्मा गरिएको गाईको गोबरलाई आज (बुधबार) एका बिहानै व्रतालुहरूले सामूहिक रूपमा गोधन कुटदै छठसँग सम्बन्धित परम्परागत गीत गाउँदै, दाजुभाइको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनीहरूले छठीमातालाई चढाइने महाप्रसाद पकाउन आवश्यक माटोको नयाँ चुल्हो निर्माणको कार्यमा जुटेका छन । मधेसका गाउँ बस्तिमा व्रतालुहरूले सामूहिक रूपमा माटोको चुल्हो निर्माण गर्ने पुरानो परम्परा छ । चुल्हो निर्माणको काम बुधबार र बिहीबारसम्म जारी रहनेछ। छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले चुल्हो निर्माणदेखि प्रसाद तयार पार्ने र पूजाका सामग्री व्यवस्थापन गर्नेसम्मका सबै काम विशेष सावधानी र धार्मिक विधि अनुसार हुने गरेको करिव सात दशक देखि छठ व्रत बस्दै आएकी गढिमाइ ४ पर्साकी ८५ वर्षीया शान्ती देवि सुनाउछिन । छठको प्रमुख विधि शुक्रबारदेखि 'नहाय–खाय' सुरु हुन्छ । यस दिन व्रतालुहरू स्नान गरी शारीरिक तथा मानसिक रूपमा शुद्ध बनेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्नेछन् । नहाय–खायको दिन गाउँका हुनेखाने तथा श्रद्धालु व्यक्तिहरूले व्रतालुका घरमा दाल, चामल, गहुँ, साठी धान र विभिन्न प्रकारका मौसमी तरकारी लगायतका सामग्री उपलब्ध गराउने परम्परा पनि मधेसका गाउँबस्तीमा रहिआएको छ। छठ पर्वलाई धार्मिक अनुष्ठानसँगै सामाजिक सद्भाव, सहयोग र आपसी एकताको पर्वका रूपमा समेत स्थापित भएको शान्ती देवि सुनाउछिन। शनिबार बिहानदेखि व्रतालुहरू कठोर व्रतको अर्को महत्त्वपूर्ण विधि 'खरना' को तयारीमा जुट्नेछन् । यस दिन माटोबाट निर्माण गरिएको नयाँ र पवित्र चुल्होमा छठीमाताका लागि खीर, पुरी, मिठाई लगायतका विभिन्न पकवान बनाएर साँझ खरना पूजा गरी प्रसाद ग्रहण गरिन्छ । खरनापछि व्रतालुहरूको निर्जला उपवास सुरु हुन्छ, जुन छठ पर्वको सबैभन्दा कठिन तथा महत्त्वपूर्ण पक्ष मानिन्छ । आइतबार बिहानैदेखि व्रतालुहरू निराहार तथा निर्जला व्रत बसेर गाउँका पोखरी, नदी तथा अन्य जलाशयमा निर्माण गरिएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै उनीहरूले छठीमाताको पुजा आराधना गर्छन । यस अवसरमा छठघाटहरूलाई केराका थम्बा, फूलमाला, बत्ती तथा पूजाका विभिन्न सामग्रीले सजाउने कार्य अहिले देखि नै सुरु भएको छ । सजाउएका छठघाटमा व्रतालु, परिवारजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू घर फर्कने भए पनि छठको धार्मिक अनुष्ठान भने जारी रहनेछ। जलाशयबाट घर ल्याइएका अर्घ्य तथा विभिन्न प्रकारका पकवानसहित छठीमाताको गीत गाएर रातभरि जाग्राम बस्ने परम्परा छ। कतिपय व्रतालु तथा श्रद्धालुहरू छठघाटमै रातभर जाग्राम बसेर छठीमाताको भजनकीर्तन गर्ने गर्छन्। छठ पर्वको अन्तिम तथा महत्त्वपूर्ण विधि सोमबार बिहान सम्पन्न हुनेछ। उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ महापर्वको समापन हुनेछ। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै व्रतालुहरूले आफ्नो कठोर व्रत तोड्नेछन्। धार्मिक विधि र परम्पराबारे जानकारी दिँदै पण्डित जयप्रकाश मिश्रले छठ पर्वमा शुद्धता, संयम, सत्यता र निष्ठालाई विशेष महत्त्व दिइने बताए। उनका अनुसार छठ पर्वमा व्रतालुहरूले मन, वचन र कर्मले शुद्ध भएर पूजा गर्नुपर्ने मान्यता छ। पर्वका क्रममा झुटो नबोल्ने, मन शान्त राख्ने र पूर्ण निष्ठाका साथ छठीमाताको आराधना गर्ने परम्परा रहेको उनले बताए। प्रकृति र पण्डित मिश्रका अनुसार मधेसमा छठ पर्व विशेषगरी पति, छोराछोरी तथा परिवारका सम्पूर्ण सदस्यको दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित मनाउने गरिन्छ। यो पर्व व्यक्तिगत आस्थामा मात्र सीमित नरही परिवार, समाज र समुदायलाई एकताको सूत्रमा बाँध्ने धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा समेत परिचित हुँदै गएको पन्डित मिश्रको भनाइ छ । छठको तयारी दशैँको पूर्णिमादेखि नै सुरु हुने धार्मिक मान्यता र परम्परा रहेको छ। यस अवधिमा व्रतालु तथा छठ मनाउने परिवारहरूले घरमा माछा, मासुलगायतका मांसाहारी परिकार पकाउन बन्द गरी सात्त्विक जीवनशैली अपनाउन थाल्छन्। घरआँगनको सरसफाइ, पूजाका सामग्रीको व्यवस्थापन र खानपानमा विशेष शुद्धता अपनाउँदै उनीहरू छठको तयारीमा जुट्ने गर्छन्। उपासनासँग जोडिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने गरिन्छ। सूर्यलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा पूजा गरिने यस पर्वमा जलाशयको महत्त्व पनि उत्तिकै छ। बाँसका सुप, ढाकी, माटोका भाँडा, फलफूल, ठकुवा, भुसुवा र अन्य परम्परागत प्रसादले सजाइएका छठघाटले मधेसका गाउँ तथा सहरलाई पर्वमय बनाउने गर्छन्। धार्मिक आस्था, कठोर तपस्या, पारिवारिक सुखको कामना, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको अनुपम संगम मानिने छठ पर्वले मधेसको मौलिक पहिचानलाई समेत उजागर गर्दै आएको छ। छठको तयारीसँगै अहिले मधेसका गाउँबस्तीमा छठीमाताका परम्परागत गीत गुञ्जिन थालेका छन् भने घरदेखि जलाशयसम्म सरसफाइ र सजावटको चटारो बढेको छ।

प्रकाशित: २५ कार्तिक २०८३ ११:४६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना

काठमाडौं - छठ पर्व मनाउन देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरूमा तयारी पूरा भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गरेर पर्वको सुरुवात ग...

#पर्व #तयारी
Compare →
Bizshala
14h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #तयारी
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#पर्व #तयारी
Compare →
Onlinekhabar
5h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

२७ काठमाडौं । सोमबार (कात्तिक ३० गते) छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग ‍खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका …

#पर्व
Compare →
Arthasansar
12h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व
Compare →

Related Stories

Technology
Build #2611