सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।
भक्तपुर — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःले आफ्नो व्यक्तिगत सम्पत्ति जनताको हितमा समर्पण गरेर ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएको भन्दै ऐतिहासिक योगदान, सामाजिक न्याय र लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साख्वाःको जीवनीले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने महत्त्वपूर्ण सन्देश दिएको सभामुख अर्यालको भनाइ छ ।
कार्यक्रममा सभामुख अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताए । साख्वाःको जीवनीले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने महत्त्वपूर्ण सन्देश दिएको सभामुख अर्यालको भनाइ छ ।
नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नमा मात्र सीमित नराखी सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा यसको प्रयोग विस्तार गर्न सरकारले नीति र आवश्यक बजेटको व्यवस्था गर्दै प्रभावकारी कार्ययोजना बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शंखधर साख्वाःको योगदानको चर्चा गर्दै वाग्मती प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट व्यवस्थापन गर्दै आएको र जातजाति, भाषा तथा संस्कृतिको संरक्षण र जगेर्नाका लागि बजेट विनियोजन गर्दै आएको बताए ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शंखधर साख्वाःको संग्रहालय निर्माण कार्य अगाडि बढाएको बताउँदै साख्वाःको जीवन्त योगदानलाई ऐतिहासिक रूपमा अभिलेखबद्ध गर्न विभिन्न योजना अगाडि सारेको बताए ।
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।