Trending
Prev Story
Next Story

लमजुङमा विभिन्न समुदायका अगुवासँगै मनाइयो ‘न्हूदँया भिंतुना’ [तस्बिरहरू]

Ekantipur •
November 10, 2026 • 09:32 AM
1
1 reads 0 reactions

नेवार समुदायको नयाँ वर्षमा यसपटक विभिन्न जातजाति र समुदायका अगुवालाई समेत सहभागी गराएर शुभकामना आदानप्रदान गरिएको हो ।

लमजुङमा विभिन्न समुदायका अगुवासँगै मनाइयो ‘न्हूदँया भिंतुना’ [तस्बिरहरू]

नेवार समुदायको नयाँ वर्षमा यसपटक विभिन्न जातजाति र समुदायका अगुवालाई समेत सहभागी गराएर शुभकामना आदानप्रदान गरिएको हो ।

लमजुङ — लमजुङको बेंसीसहरमा नेवार समुदायले नेपाल संवत् ११४७ को अवसरमा ‘न्हूदँया भिंतुना’ मनाएको छ ।

नेवार समुदायले आफ्नो नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा यसपटक विभिन्न जातजाति र समुदायका अगुवालाई समेत सहभागी गराएर शुभकामना आदानप्रदान गरिएको हो ।

गतवर्ष अमेरिकाबाट आएका कृष्णमान श्रेष्ठले यसपटक पनि अमेरिकाबाट आएर आफन्त र साथीसँगै नयाँ वर्ष मनाएका छन् । ‘चाडपर्वको बेला त आफ्नै गाउँठाउँ रमाइलो’ नेवारी पोसाकमा सजिएर र्‍यालीमा भेटिएका उनले भने ।

बेंसीसहर नेवा खलःको आयोजनामा मंगलबार बिहान मौलिक नेवारी पोसाकमा सजिएका महिला, पुरुष तथा बालबालिकाको सहभागितामा सांस्कृतिक र्‍याली निकालिएको थियो । मनाङे चौताराबाट बाजागाजासहित सुरु भएको र्‍याली बजारको मुख्य सडक हुँदै नारायणस्थान चोक, फूलबारी चोक हुँदै फूलबारी मञ्चमा पुगेको थियो । र्‍यालीमा नेवारी धिमे र झ्याली बाजाको धुनसँगै जात्रा तथा टाकटुके नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेवार समुदायका विभिन्न गुठीका सदस्य साथै जनप्रतिनिधि, विभिन्न जातजातिका अगुवा, सुरक्षाकर्मी र सामाजिक व्यक्तित्वहरूको सहभागिता थियो । परम्परागत वेशभूषा, बाजागाजा र सांस्कृतिक प्रस्तुतिले बेंसीसहर बजारलाई उत्सवमय बनाएको थियो ।

फूलबारी मञ्चमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी पाहुनालाई परम्परागत नेवारी परिकार समयबजी खुवाइएको थियो । चिउरा, भटमास, अण्डा, छोयला, आलु, झिलिंगालगायत परिकारसँगै ऐला र दहीको समेत व्यवस्था गरिएको थियो ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नेपाली मौलिक चाडपर्वले संस्कृति संरक्षणसँगै सामाजिक सद्भाव र आपसी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताए । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष जीवनराज घलेले चाडपर्वले विभिन्न समुदायलाई एकअर्कासँग जोड्ने काम गर्ने उल्लेख गरे । भाषा, धर्म, संस्कार र संस्कृति समाजका पहिचान भएकाले तिनको संरक्षण र संवर्द्धनमा सबैको साझा पहल आवश्यक रहेको बताए ।

आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले पछिल्लो समय मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु मुख्य चुनौती बन्दै गएको बताए । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले नेवार समुदायले सामूहिक रूपमा पर्व मनाउँदै संस्कृति संरक्षणको पहल गर्नु सकारात्मक रहेको बताए ।

बेंसीसहर नेवा खलःका कार्यवाहक अध्यक्ष नन्दलाल श्रेष्ठका अनुसार पहिले परिवारभित्र सीमित रहने न्हूदँया भिंतुना पछिल्लो समय विभिन्न गुठी र समुदायको सामूहिक सहभागितामा मनाउन थालिएको छ । विभिन्न समुदायका अगुवालाई आमन्त्रण गरेर शुभकामना आदानप्रदान गर्ने परम्पराले पर्वको सामाजिक महत्त्व थप बढाएको उनले बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यतासँग जोडिएको यो पर्व नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको छ । नयाँ वर्षको स्वागतसँगै मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको सन्देश फैलाउन लमजुङमा विभिन्न समुदायका अगुवालाई सहभागी गराएर न्हूदँया भिंतुना मनाउने गरिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को देशैभर रौनक, काठमाडौँमा यसरी मनाइयो (तस्बिरहरु)

नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को देशैभर रौनक, काठमाडौँमा यसरी मनाइयो (तस्बिरहरु)

काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ। काठमाडौँ उपत्यकासहित देश तथा विदे...

#नेवार #मनाइयो #तस्बिर
Compare →

Related Stories

World News
Build #2611