काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। मंगलबार नेपाली समयअनुसार बिहान ९ बजेर २१ मिनेटको गोल्डप्राइस डट ओआरजीको अपडेटमा सुन ४६.१४ डलर अर्थात् १.१३ प्रतिशत बढेर प्रतिऔंस ४ हजार ११३.१६ डलर पुगेको छ। त्यही समयमा चाँदी १.३३ डलर अर्थात् २.५७ प्रतिशत बढेर प्रतिऔंस ५३.०२ डलर पुगेको छ।
एकदिने चार्टमा सुनको मूल्य सुरुमा ४ हजार १०० डलरमुनि झरेको देखिन्छ। त्यसपछि उकालो लागेर ४ हजार १४० डलर नाघेको सुन माथिल्लो तहबाट केही ओर्लिए पनि पछिल्लो अपडेटमा ४ हजार १०० डलरमाथि नै छ। चाँदी पनि एक समय ५३.५० डलरमाथि पुगेको थियो। त्यहाँबाट केही मूल्य गुमाउँदा पनि यसको प्रतिशत वृद्धि सुनको भन्दा दोब्बरभन्दा बढी छ।
पछिल्लो कारोबारमा चाँदीले सुनलाई उछिने पनि ३० दिनको हिसाबमा यही धातुले बढी मूल्य गुमाएको छ। गोल्डप्राइसको विवरणअनुसार उक्त अवधिमा सुन २.३९ प्रतिशत घटेको छ भने चाँदीको मूल्य १४.२१ प्रतिशत तल छ। एक दिनको तीव्र उछालपछि पनि चाँदीको मूल्य एक महिनाअघिको तहभन्दा निकै तल छ।
अन्तर्राष्ट्रिय बजारको यो बढोत्तरी नेपाली बजारका लागि पनि महत्त्वपूर्ण छ। यहाँ प्रतितोलाको भाउमा कति असर पर्छ भन्ने अन्तर्राष्ट्रिय मूल्यसँगै अमेरिकी डलरको विनिमय दरमा पनि भर पर्छ। माथिका मूल्य न्यूयोर्क समयअनुसार नोभेम्बर ९ राति १० बजेर ३६ मिनेटको कारोबार अपडेटका हुन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।