Trending
Prev Story
Next Story

सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी

Nagarik News •
November 09, 2026 • 02:44 AM
1
1 reads 0 reactions

बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।

1 / 2
Swipe Photos

बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।

समाजमा विद्यमान कुरीतिविरुद्ध आफैँ नेतृत्व गर्दै जनचेतना फैलाउने उद्देश्यले उनीहरूले सडक नाटक, पटकथा लेखन तथा सन्देशमूलक सामग्री निर्माणसम्बन्धी सीप सिकेका छन्।

हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका किशोरकिशोरी पाँचदिने क्षमता विकास तालिमपछि सामाजिक विकृतिविरुद्ध अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन्। तालिममा सहभागीहरूले बालविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालबालिकामाथि हुने दुर्व्यवहार र विभेदविरुद्ध सडक नाटक तथा सचेतनामूलक र्‍यालीमार्फत समुदायलाई सचेत बनाउने प्रतिबद्धता जनाएका छन्।

हिमा गाउँपालिकाकी दीर्घा बमले तालिमबाट सामाजिक कुरीतिविरुद्ध सडक नाटकमार्फत आवाज उठाउने सीप सिक्ने अवसर पाएको बताइन्। ‘बालविवाह, लैङ्गिक हिंसा, छाउपडी प्रथा तथा अन्य हानिकारक अभ्यासविरुद्ध कसरी आवाज उठाउन सकिन्छ भन्ने सिकेका छौँ,’ उनले भनिन्, ‘अब सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नै समुदायमा सचेतनामूलक अभियान सञ्चालन गर्नेछौँ।’

कनकासुन्दरी गाउँपालिकाका कपिल न्यौपानेले तालिमअघि सडक नाटकको पटकथा लेखन, संवाद निर्माण र प्रभावकारी रूपमा सन्देश प्रस्तुत गर्ने तरिकाबारे पर्याप्त जानकारी नभएको बताए। तालिमले नयाँ सीप र अनुभव दिएको उनको भनाइ छ।

‘अब साथीहरूसँग मिलेर सडक नाटक र र्‍यालीमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नेछौँ,’ उनले भने।

सिंजा गाउँपालिकाकी जेनिशा तिवारीले बालविवाह र लैङ्गिक विभेद न्यूनीकरणका लागि किशोरकिशोरी आफैँ अग्रसर हुनुपर्ने बताइन्।

‘हाम्रो समुदायमा अझै बालविवाह र लैङ्गिक विभेदजस्ता समस्या छन्। यस्ता समस्या अन्त्य गर्न हामी आफैँ अगाडि आउनुपर्छ भन्ने कुरा तालिमले सिकाएको छ,’ उनले भनिन्, ‘बालअधिकार र किशोरीहरूको अधिकारका लागि सक्रिय रूपमा आवाज उठाउनेछौँ।’

कनकासुन्दरी गाउँपालिकाको समन्वय, प्लान इन्टरनेशनल नेपालको सहयोग तथा क्याड नेपाल, जुम्लाको सहजीकरणमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

परियोजना संयोजक राजेश प्रकाश यरिकाका अनुसार तालिममा तीनवटै गाउँपालिकाका दर्जनौँ किशोरकिशोरी सहभागी थिए।

तालिममा सहभागीलाई सडक नाटकको अवधारणा र महत्व, पटकथा लेखन, संवाद निर्माण, अभिनय कला, पात्र छनोट, दृश्य संयोजन तथा सन्देशमूलक सामग्री निर्माणका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। स्थानीय समुदायमा रहेका सामाजिक समस्या पहिचान गरी नाटक तथा सिर्जनात्मक सामग्रीमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्ने अभ्याससमेत गराइएको थियो।

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले किशोरकिशोरी समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएको बताए। सडक नाटक, सचेतनामूलक र्‍याली तथा विभिन्न अभियानमार्फत समुदायमा विद्यमान हानिकारक सामाजिक अभ्यास न्यूनीकरण गर्न उनीहरूले प्रभावकारी भूमिका खेल्न सक्ने उनको भनाइ थियो।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा प्रयोग गर्दै सहभागीले आगामी दिनमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। किशोरकिशोरीको नेतृत्व र सक्रिय सहभागितामार्फत बालअधिकार संरक्षण, लैङ्गिक समानता प्रवर्द्धन तथा हानिकारक सामाजिक अभ्यासमुक्त समुदाय निर्माणमा योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रकाशित: २३ कार्तिक २०८३ ०८:२९ सोमबार

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611