तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको गुनासो
काठमाडौँ — यस वर्षको धनतेरस र तिहारमा नेपाल राष्ट्र बैंकले करिब ३७ करोड रुपैयाँका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंक टक्सार विभागले गत बिहीबार र शुक्रबार गरी दुई दिनका लागि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन) बिक्रीका लागि सूचना जारी गरेको थियो । जसमा करिब ३० करोड रुपैयाँ बराबरको असर्फी र ७ करोड रुपैयाँ बराबरको मेडालियन बिक्री भएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
राष्ट्र बैंकले सिक्का बिक्रीका लागि दुई दिन (गत बिहीबार र शुक्रबार) आह्वान गरे पनि असर्फी अभाव भएको भन्दै दोस्रो दिन मेडालियन मात्र बिक्री गरेको थियो । राष्ट्र बैंकमा सुन र चाँदीका सिक्का किन्नेको भीड बढेको थियो । तर बजारमा यस वर्षको धनतेरसमा पनि सुनचाँदीको कारोबार अपेक्षाअनुसार हुन नसकेको व्यवसायी बताउँछन् । सुनको मूल्य निरन्तर बढ्दै गएपछि माग कम भएको उनीहरूको तर्क छ ।
तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको भनाइ छ । यस वर्षको तिहारमा सुनको कारोबार गत वर्षकै हाराहारीमा सीमित भएको छ । अघिल्ला वर्षको तुलनामा सुनको मूल्य निकै बढेपछि उपभोक्ताले खरिद घटाएका छन् ।
यस वर्ष तिहारमा दिनहुँ करिब २५ किलो सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले जनाए । गत वर्ष पनि कारोबार यही परिमाणमा सीमित थियो । ‘यस वर्ष मूल्य लगातार बढेपछि पछिल्ला दुई वर्षमा तिहारको सुनको माग दिनको ५० किलोबाट घटेर २५ किलोमा झरेको छ,’ उनले भने ।
सामान्य दिनमा दैनिक १० देखि १२ किलो सुनको कारोबार हुने गरेकामा तिहारमा भने माग केही बढेको छ । तर विगतका वर्षको तुलनामा यसपालि चाडपर्वको व्यापार उत्साहजनक नरहेको व्यवसायी बताउँछन् । धनतेरस सुनचाँदी व्यवसायीका लागि वर्षकै महत्त्वपूर्ण कारोबार हुने दिनमध्ये एक हो ।
यस वर्ष तिहारका सात दिनमा चाँदी भने करिब सात हजार किलो कारोबार हुने व्यवसायीको अनुमान छ । गत वर्षको तिहारमा १० हजार किलो चाँदीको कारोबार भएको शाक्यले बताए । यस पटक गरगहनाभन्दा सुन तथा चाँदीका सिक्का किन्ने ग्राहक बढी रहेको महासंघको भनाइ छ । गत बिहीबार प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकै दिन ५ हजार ९ सय रुपैयाँ घटेर २ लाख ८३ हजार रुपैयाँमा झरेको थियो । एक तोला बराबर ११.६६ ग्राम हुन्छ ।
कोभिड महामारीअघि सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँभन्दा कम हुँदा धनतेरसका दिन काठमाडौं उपत्यकामा मात्रै करिब ५० किलो सुनको कारोबार हुने गरेको व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य घटेको छ । तेलको मूल्य पुनः बढ्न थालेपछि मुद्रास्फीति बढ्ने र ब्याजदर लामो समयसम्म उच्च रहने अनुमानले सुनको मूल्यमा दबाब परेको हो । लगानीकर्ताले अमेरिकाको रोजगारीसम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक हुने प्रतीक्षा गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य एक प्रतिशत घटेर प्रतिऔंस ४ हजार ४७.१९ अमेरिकी डलरमा झरेको थियो । यद्यपि अगस्टको अन्त्ययताकै सबैभन्दा राम्रो साप्ताहिक प्रदर्शन गर्ने क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीति अपेक्षाभन्दा कडा हुन सक्ने संकेत देखिएको भन्दै गोल्डम्यान स्याक्सले बिहीबार सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ६ सय ५० डलर पुग्ने आफ्नो पूर्वानुमान घटाएर ४ हजार १ सय ५० डलरमा झारेको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गत बिहीबार र शुक्रबार करिब ३७ करोड रुपैयाँ बराबरका सुन तथा चाँदीका सिक्का बिक्री गरेको छ । बिहीबार २.५ ग्रामको सुनको सिक्का प्रतिगोटा ६५ हजार ४ सय रुपैयाँ र १० ग्रामको चाँदीको सिक्का ३ हजार ८ सय रुपैयाँमा बिक्री गरेको राष्ट्र बैंकको भनाइ छ । शुक्रबार सुनको सिक्का प्रतिगोटा ६५ हजार १ सय र चाँदीको सिक्का ३ हजार ७ सय रुपैयाँमा बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौंको सुन्धाराबाट टक्सार कार्यालय स्थानान्तरण भएपछि दुई वर्षको अन्तरालमा महाशाखाले पुनः सुनका सिक्का बिक्री सुरु गरेको हो । तर उत्पादन क्षमता सीमित भएकाले ग्राहकको मागअनुसार सुनका सिक्का उपलब्ध गराउन नसकिएको राष्ट्र बैंकले बताएको छ ।
व्यवसायीका अनुसार विशाल बजार र न्युरोडजस्ता प्रमुख सुनचाँदी बजारमा ग्राहकको चहलपहल केही बढेको छ । तर स्थानीय बजारमा भने अपेक्षाअनुसार ग्राहक आएका छैनन् । चालु आर्थिक वर्षदेखि सुन आयातमा भन्सार महसुल बढाइनु, आर्थिक गतिविधिमा सुस्तता आउनु र अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा तीव्र उतारचढाव हुनुले उपभोक्तालाई खरिद निर्णय गर्न कठिन बनाएको व्यवसायीको भनाइ छ । यही कारण तीज, दसैं र तिहारजस्ता प्रमुख चाडपर्वमा समेत सुनचाँदी बजारमा अपेक्षित कारोबार हुन नसकेको उनीहरूको भनाइ छ ।
कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।