मुहूर्त कारोबारलाई भारतमा केवल सेयर किनबेचका रूपमा मात्र हेरिँदैन । यसलाई नयाँ लगानीको सुरुवात र समृद्धिको कामनासँग पनि जोडिन्छ ।
काठमाडौँ — तिहारको लक्ष्मीपूजाका दिन भारतमा सेयर बजार एक घण्टाका लागि खुल्छ । वर्षभरि नियमित रूपमा सञ्चालन हुने बजार लक्ष्मीपूजाको दिन भने विशेष साइतमा कारोबारका लागि खुलाइन्छ । यसलाई भारतमा मुहूर्त कारोबार भन्ने गरिन्छ । नेपालमा पनि तिहार र लक्ष्मीपूजाको धार्मिक तथा सांस्कृतिक महत्त्व उस्तै भएकाले यहाँ पनि यस्तो अभ्यास सुरु गर्न सकिनेबारे बेला बेलामा बहसमा आउने र हराउने गरेके छ ।
भारतमा मुहूर्त कारोबारको सुरुवात सन् १९५७ मा बम्बे स्टक एक्सचेन्जबाट भएको हो । पछि सन् १९९२ देखि नेसनल स्टक एक्सचेन्जले पनि यसलाई निरन्तरता दिएको हो ।
लक्ष्मीपूजाको दिनलाई धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गर्ने तथा नयाँ संवत् वर्षको सुरुवात गर्ने अवसरका रूपमा लिइन्छ । भारतका कतिपय व्यापारी समुदायमा दीपावलीसँगै पुरानो हिसाबकिताब बन्द गरेर नयाँ बहीखाता सुरु गर्ने परम्परा छ । यही परम्परासँग जोडिएर सेयर बजारमा पनि मुहूर्त कारोबार सञ्चालन हुँदै आएको छ ।
भारतमा यो कारोबार सामान्यतया साँझको समयमा एक घण्टाका लागि सञ्चालन हुन्छ । त्यसअघि बजार खुल्नुअघि नै सेयरको मूल्य निर्धारणका लागि आदेश संकलन गरिन्छ । त्यसपछि मुख्य कारोबार सञ्चालन हुन्छ भने अन्त्यमा बन्द मूल्य निर्धारणको प्रक्रिया पूरा गरिन्छ । कारोबार छोटो समयका लागि भए पनि यसबाट हुने खरिदबिक्री वास्तविक हुन्छ र नियमित कारोबारकै राफसाफ प्रक्रिया लागू हुन्छ ।
मुहूर्त कारोबारलाई भारतमा केवल सेयर किनबेचका रूपमा मात्र हेरिँदैन । यसलाई नयाँ लगानीको सुरुवात र समृद्धिको कामनासँग पनि जोडिन्छ । कतिपय लगानीकर्ताले आफ्ना छोराछोरी वा परिवारका सदस्यका नाममा पहिलो पटक सेयर किनेर लगानी यात्रा सुरु गर्ने अवसरका रूपमा समेत यसलाई उपयोग गर्छन् ।
नेपालमा पनि कतिपय समुदायमा लक्ष्मीपूजाका दिन नयाँ खाता सुरु गर्ने, व्यापार व्यवसायको हिसाबकिताब मिलाउने र धनसम्पत्तिको पूजा गर्ने चलन छ । यस्तो अवस्थामा सेयर बजारमा पनि विशेष समयमा कारोबार सञ्चालन गर्दा लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास हुन सक्ने तर्क केही ब्रोकरहरु बताउँछन् ।
वर्षमा एक दिन विशेष साइतमा बजार खोल्दा सेयर बजारप्रति सर्वसाधारणको चासो बढाउन पनि मद्दत पुग्न सक्छ । विशेषगरी नयाँ पुस्तालाई सेयर बजार र दीर्घकालीन लगानीबारे आकर्षित गर्न यस्तो अभ्यास उपयोगी हुन सक्छ । अभिभावकले आफ्ना सन्तानका नाममा थोरै कित्ता सेयर किनेर लगानीको सुरुवात गराउन सक्ने अवसर पनि यसले दिन सक्छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरे अहिले बजारमा यहीँ कारोबार सुरू गर्नेनगर्ने विषय भन्न नसकिने भएपनि भविष्यमा नयाँ प्रडक्टहरू आउने क्रममा हुनसक्ने सम्भावना देख्छन् ।
घिमिरेले भने, 'यस्तै वा विशेष खालका कारोबार प्रक्रिया भावी दिनमा के हुन्छ अहिले भन्न नसकिएला । तर, सेयर बजारमा आवश्यक देखिए नयाँ प्रडक्टहरू आउन सक्छन् ।'
नेपालमा यस्तो अभ्यास सुरु गर्नु त्यति सहज भने छैन । यसको पहिलो चुनौती बजार सञ्चालनको प्राविधिक र व्यवस्थापकीय पक्ष हो । सार्वजनिक बिदाका दिन छोटो समयका लागि मात्रै बजार सञ्चालन गर्न आवश्यक तयारी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
त्यस्तै, नेपालको सेयर बजारको आकार र कारोबारको परिमाण पनि भारतको तुलनामा निकै सानो छ । एक घण्टाको कारोबारमा पर्याप्त खरिदकर्ता र बिक्रीकर्ता नहुँदा सेयर मूल्यमा अस्वाभाविक उतारचढाव आउन सक्ने जोखिम रहन्छ । कारोबारको परिमाण कम भएको अवस्थामा केही ठूला आदेशले समेत मूल्यमा प्रभाव पार्न सक्छन् ।
अर्को चुनौती राफसाफ तथा भुक्तानीको हो । लक्ष्मीपूजाका दिन सार्वजनिक बिदा हुने भएकाले बैंकिङ सेवा र कारोबारपछिको राफसाफ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था आवश्यक हुन्छ। यसका लागि नियामक निकाय, बजार सञ्चालक र सम्बन्धित संस्थाबीच सहमति र पूर्वतयारी चाहिन्छ ।
मुहूर्त कारोबारको उद्देश्य एकै दिन ठूलो नाफा कमाउनु होइन । यसलाई नयाँ लगानीको सुरुवात र बजारप्रति आकर्षण बढाउने सांकेतिक अभ्यासका रूपमा लिन सकिन्छ । तर, धार्मिक विश्वासका आधारमा मात्रै यस्तो अभ्यास सुरु गर्नु पर्याप्त हुँदैन । बजारको आकार, प्राविधिक क्षमता, कारोबारको तरलता र राफसाफ व्यवस्थालाई समेत ध्यान दिनुपर्ने बजारसम्बद्धहरूकाे भनाइ छ ।
त्यसैले नेपालमा मुहूर्त कारोबार सुरु गर्ने विषयलाई सांस्कृतिक परम्पराको निरन्तरतासँगै बजारको व्यावहारिक क्षमताका आधारमा पनि मूल्यांकन गर्नुपर्ने देखिन्छ ।