Trending
Prev Story
Next Story

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

Ekantipur •
November 07, 2026 • 03:31 PM
1
1 reads 0 reactions

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ ।

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ ।

काठमाडौँ — गत बिहीबार बिहानैदेखि कतिपय सेयर लगानीकर्ता उक्त दिनको बजार कस्तो हुने हो भन्ने चिन्तामा देखिए । यसैको उदाहरणका रूपमा लगानीकर्ता एवं विश्लेषक अजित खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मेरो व्यक्तिगत बुझाइमा आजको बजार अरू दिनको तुलनामा महत्त्वपूर्ण मात्र होइन, संवेदनशील भएर हेर्नु र बुझ्नुपर्ने बजार हुनेछ ।’

खनालले यस्तो चिन्ता जनाउनुमा बजारसँग असम्बन्धित लाग्ने कारण थियो । त्यो थियो, बिहानैदेखि एक मुख्य राजनीतिक दलका नेता पक्राउ पर्न सक्ने चर्चा । बजारले पनि खनालको जस्तै ‘चिन्ता’ जनायो । फलस्वरूप कारोबार अवधिमा सेयर बजार २५ अंकसम्म घट्यो । तर बजार बन्द हुने समय चार बज्दा नबज्दै केही सम्हालियो र १२ अंकको गिरावटमा सीमित रह्यो ।

सेयर बजारमा यस्तो प्रभाव परेको यो पहिलो पटक भने होइन । रास्वपा नेतृत्वको सरकार बनेयता नै पटकपटक यस्तो प्रभाव देखिएको छ । गत १९ चैतमा विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परे । बिदाका कारण बजार त्यसपछि २५ चैतमा खुल्यो । र, त्यो एकै दिन नेप्से १ सय ५ अंकले घट्यो । त्यसको करिब डेढ महिनापछि २९ वैशाखमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परे । बजार उक्त दिन पनि ३९ अंकले घट्यो ।

सेयर बजारको उतारचढावको कथा यतिमै सकिन्न । त्यसयता व्यवसायी पक्राउ पर्दा वा देशमा ठूला राजनीतिक घटनाक्रम हुँदा बजारले यसैगरी प्रतिक्रिया जनाइरहने गरेको छ । सेयर बजारले जहिले पनि शान्त वातावरण रुचाउने भएकाले पनि बेलाबेला हुने यस्ता घटनाको प्रभाव पर्ने गरेको सेयर लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढुंगाना बताउँछन् । ‘सेयर बजारले जहिले पनि शान्ति खोज्छ । तर व्यवसायी वा राजनीतिक व्यक्तित्व पक्राउ पर्ने वा पर्न सक्ने घटनामा बजारले केही न केही प्रतिक्रिया जनाउँछ,’ ढुंगानाले भने ।

यसअघि पनि प्रायः सार्वजनिक बिदा सुरु हुनु केही दिनअघि विभिन्न व्यक्ति पक्राउ परेकाले अहिले पनि त्यस्तै घटना हुने हुन् कि भन्ने डर लगानीकर्तामा देखिएको ढुंगानाको भनाइ छ । तर पछिल्लो समय बजारमा राजनीतिक घटनाक्रमले मात्रै प्रभाव नपारेको सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलको दाबी छ । ‘राजनीतिक घटनाक्रमले पनि बजारमा प्रभाव परेको हो । सँगसँगै यति बेला लगानीकर्ता चाडबाडको तयारीमा छन्, बजार पनि करिब एक साता बन्द हुने भएकाले नेप्सेले अझै स्पष्ट प्रवृत्ति देखाइसकेको छैन ।’

शुक्रबारको सेयर कारोबारमा पनि चाडबाडको प्रभाव देखिएको छ । कारोबार रकम ९ कात्तिकपछिकै सबैभन्दा कम भएको छ । यस दिन तीन अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । अहिलेको सेयर बजारको अवस्था बुझाउन यहाँ केही प्राविधिक विश्लेषण गरिएको छ ।

अहिले सेयर बजार यसले कायम गरेको औसत बिन्दुभन्दा माथि छ । ‘बोलिङ्गर ब्यान्ड’ मा नेप्से औसत रेखाभन्दा माथि देखिन्छ । सन् १९८० को दशकमा जोन बोलिङ्गरले ‘बोलिङ्गर ब्यान्ड’ को विकास गरेका हुन् । बजारको चाल माथिल्लो सीमा र तल्लो सीमाभित्र कसरी गइरहेको छ भनेर यसबाट हेर्ने गरिन्छ ।

माथिल्लो सीमानजिक रहँदा बजारमा सेयर खरिद अधिक भइरहेको र तल्लो सीमानजिक रहँदा अधिक बिक्री भइरहेको संकेत यसले दिन्छ । यसले बजारमा कत्तिको उतारचढाव छ भनेर पनि मापन गर्छ । केही समयअघिसम्म बजारमा उच्च उतारचढाव देखिएकामा अहिले त्यो केही सुस्त भएको यसले संकेत गरिरहेको छ । ‘बोलिङ्गर ब्यान्ड’ का माथिल्ला र तल्ला सीमा नजिकिँदा बजारमा उतारचढाव कम रहेको बुझिन्छ । दुवै सीमा फराकिलो हुँदा भने बजारमा धेरै उतारचढाव रहेको देख्न सकिन्छ ।

‘वाइल्डर आरएसआई’ ले भने यति बेला बजारमा औसत मूल्य बढ्ने दर नै धेरै भएको संकेत गरिरहेको छ । मूल्य बढ्ने र घट्ने क्रमका आधारमा बजारको गति कस्तो छ भनेर वाइल्डर आरएसआईले संकेत गर्छ । अमेरिकी प्राविधिक विश्लेषक जे वेल्स वाइल्डरले सन् १९७८ मा यो गणना विधिको विकास गरेका हुन् ।

वाइल्डर आरएसआईमा सामान्यतया पछिल्ला १४ कारोबार दिनको बजार सूचकको परिवर्तनलाई आधार मानिन्छ । यस अवधिमा बजार बढेका दिनको औसत वृद्धि र घटेका दिनको औसत गिरावट निकालेर आरएसआई गणना गरिन्छ । यस्तो आरएसआईको मान शून्यदेखि १ सयसम्म हुन्छ ।

सामान्यतया ३० भन्दा तल रहेको आरएसआईले बजारमा बढी चाप धेरै रहेको, ७० भन्दा माथि भए खरिद चाप धेरै रहेको मानिन्छ । ३० देखि ७० बीचमा रहँदा सेयर खरिदबिक्री सन्तुलित रहेको विश्लेषण गरिन्छ । शुक्रबार यस्तो सूचक ५५.८२ मा छ । केही समयअघि ५० बाट बढ्दै यो ५८ सम्म पुगेको थियो । बिहीबार बजार घटेपछि यो सूचक केही तल आएको हो ।

शुक्रबारको बजारमा सेयर बेच्नेभन्दा किन्ने दर नै धेरै रहेको एक्युमुलेसन र डिस्ट्रिब्युसन (एडी) रेसियोले देखाइरहेको छ । बजारमा लगानीकर्ताले सेयर सञ्चय गरिरहेका छन् भन्ने विषय एक्युमुलेसनले देखाउँछ । बिक्री बढिरहेको संकेत भने डिस्ट्रिब्युसनले देखाउँछ ।

शुक्रबार डिस्ट्रिब्युसन मान १० लाख छ । यसले यस दिन बजारमा किन्ने दर धेरै भएको संकेत गर्छ । बिहीबार भने १८ लाख डिस्ट्रिब्युसन देखिएको थियो । एक्युमुलेसन र डिस्ट्रिब्युसनले देखाएको मानकै दरमा रकम भित्रिएको वा बाहिरिएको भने होइन । तर बजारमा पैसा आइरहेको छ कि गइरहेको छ भनेर यसले संकेत गर्छ ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2611