सरकारी निकाय भन्छन्– ‘तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या हुँदैन, ग्यास वितरण प्रणाली पनि चुस्त बनाउँछौं’
काठमाडौँ — तिहारको चहलपहल सुरु भएसँगै बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबार बढ्न थालेको छ । चाडपर्वमा घरायसी उपभोगसँगै मिठाई, सेलरोटी तथा अन्य परिकार बनाउने प्रयोजनका लागि चामल, दाल, चिनी, खानेतेल र ग्यासको खपत बढ्छ । तिहारमा खपत हुने खाद्यान्नको अभाव र आपूर्तिमा कुनै समस्या नहुने सरकारी निकाय र व्यवसायीले बताएका छन् ।
वैशाखयता चिनीको मूल्य बढिरहेको र दसैंअघि बजारमा अभाव देखिएको थियो । दसैंअघि बजारमा भारतले गत ३० वैशाखदेखि १४ असोजसम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारतको प्रतिबन्धका कारण चिनीको अभाव देखिँदा उपभोक्ताले खुद्रा पसलमा प्रतिकिलो १ सय ६० रुपैयाँसम्म तिर्नुपरेको थियो । वैशाखदेखि दसैंसम्म चिनीको अभाव झेलेका उपभोक्तालाई तिहारमा सहज बनाइने साल्ट ट्रेडिङले बताएको छ ।
नेपालमा चिनीको मासिक माग २० हजारदेखि २५ हजार र दसैं–तिहार एवं छठजस्ता चाडमा ३० हजार टन पुग्ने नेपाल साल्ट ट्रेडिङले जनाएको छ । वार्षिक माग करिब ३ लाख टन अनुमान गरिएको छ । करिब २ लाख टन चिनी स्वदेशमै उत्पादन हुन्छ भने करिब १ लाख टन कम हुने भएकाले आयात गरिन्छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिले करिब २ लाख ३५ हजार बोरा अर्थात् ११ हजार ७ सय टन चिनी मौज्दात छ । स्वदेशी उद्योगबाट १२ हजार टन चिनी खरिद गरेको छ । सरकारले चाडपर्व लक्ष्य गरी चिनी आयातका लागि दिएको समयसीमा २० असोजसम्म २५ हजार टन भित्र्याउनुपर्नेमा कर्पोरेसनले करिब १६ हजार टन चिनी आयात गरेको कर्पोरेसनका प्रवक्ता कुमार राजवंशीले बताए । थप चिनी आयात गर्न समयसीमा बढाउनुपर्ने उनको भनाइ छ ।
चाडपर्वका बेला उपभोक्तालाई सहज र सुपथ मूल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने व्यवस्था मिलाइएको राजवंशीले जनाए । चाडपर्वका बेला चिनीको माग बढ्ने भएकाले बजारमा आपूर्ति सहज बनाउनुका साथै मूल्य नियन्त्रणमा राख्न सरकारले बिक्रीवितरणको व्यवस्था मिलाएको उनले बताए । ‘हामीसँग चिनीको मौज्दात छ, तिहारमा माग धान्न सकिन्छ । उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन,’ राजवंशीले भने ।
चिनीको अभाव देखाएर व्यवसायीले अस्वाभाविक मूल्य लिन नपाऊन् भन्ने उद्देश्यले पनि सरकारले आयातको व्यवस्था गरेको राजवंशीको भनाइ छ । चामल, दाललगायत खाद्यान्न पर्याप्त रहेको र खाने तेलको मौज्दात पनि मागअनुसार रहेको राजवंशीले जनाए । सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । यस्ता पसलमा प्रतिकिलो १ सय रुपैयाँमा चिनी बिक्री भइरहेको राजवंशीको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग अहिले साढे १२ हजार क्विन्टल चिनी मौज्दात छ । कम्पनीले देशभरका बिक्री केन्द्रमार्फत चिनी बिक्रीवितरण गर्दै आएको छ । यस वर्ष कम्पनीले ३५ हजार क्विन्टल चिनी खरिद गरेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जनाए । त्यसमध्ये २५ हजार क्विन्टल आन्तरिक बजार र १० हजार क्विन्टल भारतबाट खरिद गरिएको हो । ‘चिनीको अभाव अहिले देखिएको छैन, कम्पनीले काठमाडौंमा १ सय ९ र काठमाडौंबाहिरका विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्दै आएको छ । मिश्रले भने, ‘तिहारमा पनि माग धान्न सक्ने अवस्था छ ।’
नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पनि चिनी र अन्य खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराइरहेकाले बजारमा अभाव हुन नपाएको उनको भनाइ छ । तिहारमा दाल, चामल, चिनीलगायत दैनिक उपभोग्य सामानको अभाव उपभोक्ताले झेल्न नपर्ने उनले जनाए ।
अहिले चिनी प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भइरहेको र ढुवानी खर्चका कारण स्थानअनुसार एक–दुई रुपैयाँ तलमाथि हुन सक्ने उनको भनाइ छ । बजारमा चिनीको अभाव छैन । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेका छन् । तर, ती निकायबाहेक अन्य माध्यमबाट आयात भएको चिनी भने व्यापारीले प्रतिकिलो १ सय २० देखि १ सय ३५ रुपैयाँसम्म बिक्री गरिरहेको सुनिएको उनले बताए ।
बजारमा खाद्यान्नको अभाव नरहे पनि मूल्य पहिलेको तुलनामा केही बढेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले जनाए । अहिले खाद्यान्न बिक्री गर्दा अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।
यता बजारमा ग्यासको अभाव भने कायमै छ । गत फागुनदेखि देखिएको एलपी ग्यासको अभाव अझै मत्थर हुन सकेको छैन । बजारमा ग्यासको आपूर्ति सहज हुन नसक्नुमा आयात घट्नुका साथै वितरण प्रणालीमा देखिएको समस्यासमेत जिम्मेवार रहेको सरोकारवाला बताउँछन् । चाडपर्वका बेला माग बढ्ने र आयात अपेक्षाअनुसार हुन नसक्दा तिहारमा पनि ग्यासको आपूर्ति सहज नहुने उनीहरूको भनाइ छ ।
पहिलेको तुलनामा ग्यास आयात घटेकाले आपूर्ति सहज हुन नसकेको एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जनाए । जाडो बढ्दै जाँदा ग्यासको प्रयोग बढ्ने भएकाले अभाव देखिने उनले बताए । ‘जाडोमा ग्यास हिटर र गिजर प्रयोग बढ्छ, जसले गर्दा आयात बढाउनुपर्ने देखिन्छ ।’ ग्यासको अभाव समाधान गर्न उद्योगमन्त्री दीपक शाहले दिनको १ सय ६० बुलेट ग्यास आयात गर्ने प्रतिबद्धता जनाए पनि हुन नसकेको चन्दले गुनासो गरे ।
नेपाल आयल निगमले भने ग्यास आयात पर्याप्त रहेको बताएको छ । ग्यास आपूर्तिमा कुनै समस्या नरहेको तर वितरण प्रणालीमा केही कठिनाइ देखिएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जनाए । तिहारलाई लक्ष्य गरी ग्यासको आपूर्ति पर्याप्त रहे पनि डिलरसम्म समयमै नपुग्दा केही स्थानमा उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ ।
सरकारले दिनको १ सय ६० बुलेट ग्यास आयात गर्ने प्रतिबद्धता जनाए पनि उक्त परिमाण नै अनिवार्य नभएको उनले बताए । ‘हामीलाई आवश्यकताका आधारमा १ सय ६० बुलेट लोड गर्ने हो, यो सबै चाहिन्छ भन्ने होइन,’ ठाकुरले भने, ‘पछिल्लो दुई दिनमा १ सय ४९ र १ सय ३७ बुलेट ग्यास लोड भएको छ ।’ अहिले ग्यास आयातमा समस्या नभएको र वितरणका डिलरमा समयमै ग्यास नपुग्दा अभाव देखिएको उनले बताए ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।