डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।
काठमाडौँ — विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई)का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए । उनीहरुले शिक्षा प्रणाली, पाठ्यक्रम र सीप विकासमा समयानुकूल परिवर्तन आवश्यक रहेको औँल्याए । विज्ञहरूले एआईको बढ्दो प्रयोगले रोजगारीको स्वरूपमा परिवर्तन ल्याउने भए पनि प्रविधिलाई बुझ्न, प्रयोग गर्न र त्यसबाट निस्कने नतिजाको मूल्यांकन गर्न सक्ने जनशक्तिका लागि अवसर अझै विस्तार हुने धारणा राखेका छन् ।
जापानको वासेदा विश्वविद्यालयका सहप्राध्यापक डा विकास लाम्सालले एआईमा पूर्ण निर्भर हुनुभन्दा यसको प्रयोग गर्ने र त्यसबाट प्राप्त नतिजाको सत्यता जाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए । एआईले उपलब्ध गराएको सामग्री जस्ताको तस्तै प्रयोग गर्ने प्रवृत्तिले जनशक्तिको रोजगारी जोखिममा पार्न सक्ने भए पनि एआईले गरेका गल्ती पहिचान गर्न, नतिजाको विश्लेषण गर्न र वास्तविक अनुसन्धानका जटिल समस्या समाधान गर्न सक्ने व्यक्तिको आवश्यकता भने कायमै रहने उनले स्पष्ट गरे ।
नेपाल र अमेरिकामा कार्यक्षेत्र रहेको सफ्टवेयर कम्पनी एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यले नयाँ प्रविधिको आगमनलाई रोजगारी गुम्ने जोखिमका रूपमा मात्र हेर्न नहुने बताए । कम्प्युटर र औद्योगिक प्रविधिको विकास हुँदा पनि रोजगारीका स्वरूप परिवर्तन भएको तर, त्यसले नयाँ अवसर र सम्भावनाको ढोका खोलेको चर्चा उनले गरे । एआईले चुनौती ल्याउने भए पनि मानिसको सिर्जनात्मक क्षमता र नयाँ कुरा खोज्ने प्रवृत्तिलाई विस्थापित गर्न नसक्ने उनको भनाइ थियो ।
एनएमबी बैंकका प्रमुख सूचना तथा डिजिटल अधिकृत रोशन रेग्मीले एआईको प्रयोग बढ्दै जाँदा कर्मचारी हटाउनेभन्दा उनीहरूलाई नयाँ प्रविधिअनुसार काम गर्न सिकाउने अभ्यास भइरहेको बताए ।
उनका अनुसार बैंकिङ क्षेत्रमा ग्राहकको रकम र वित्तीय सुरक्षासँग जोडिएका निर्णय पूर्ण रूपमा एआईको जिम्मामा छाड्न सकिने अवस्था नभएकाले मानवीय निगरानी र जिम्मेवारी अझै महत्त्वपूर्ण रहनेमा जोड दिए ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागकी प्रमुख डा लीला न्याइचाईंले भने नेपालको विश्वविद्यालय शिक्षा र पाठ्यक्रम एआईको बदलिँदो परिवेशअनुसार परिमार्जन हुन नसकेको बताइन् ।
शिक्षक र विद्यार्थी दुवैले एआई प्रयोग गर्न थाले पनि त्यसको प्रयोगलाई व्यवस्थित गर्ने नीतिगत तथा शैक्षिक व्यवस्था पर्याप्त नभएको उनको भनाइ थियो । ‘हिजोको पाठ्यक्रम निरन्तर गर्दैछौं । अहिलेका समस्या समाधान गर्ने गरी रुपान्तरण हुनुपर्छ,’ उनले भनिन् ।
कार्यक्रममा सहजकर्ता रोमनकान्त पाण्डेले एआईको युगमा नेपाली युवाले कस्तो शिक्षा र सीप हासिल गर्नुपर्छ भन्ने प्रश्नलाई बहसको केन्द्रमा राखेका थिए । नेपाली युवा प्रविधिका उपभोक्ता मात्र नभई त्यसबाट नयाँ अवसर र आम्दानी सिर्जना गर्न सक्ने जनशक्ति कसरी बन्न सक्छन् भन्ने विषयमा उनले विज्ञहरूसँग छलफल गरेका थिए ।