विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी
काभ्रे — नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापाको नेतृत्व चयनलाई आर्थिक लेनदेनसँग जोडेर सामाजिक सञ्जालमा भइरहेका प्रचारको खण्डन गरेका छन्। प्रमाणबिना फैलाइएका आरोपको पछि नलाग्न आग्रह गर्दै उनले पार्टीको विशेष महाधिवेशन र त्यसबाट स्थापित नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार आएको दाबी गरेका हुन्।
बनेपामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेसको बदलिएको सोच र कार्यशैली’ विषयक अभिमुखीकरण, नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन तथा बृहत् रक्तदान कार्यक्रममा बोल्दै शर्माले गगन थापा र आफूले करोडौँ रुपैयाँ बुझाएर पार्टी नेतृत्व हासिल गरेको भन्ने प्रचारप्रति व्यङ्ग्य गरे।
‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा। करोडौँ–करोड बुझाउनुपर्यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’ उनले प्रश्न गरे।
सामाजिक सञ्जालमा कसैले लेख्दैमा वा कुनै बिचौलियाले आरोप लगाउँदैमा त्यसलाई सत्य मान्न नसकिने उनको भनाइ थियो। अपुष्ट सूचना र आरोपका आधारमा राजनीतिक नेतृत्वको चरित्रमाथि प्रश्न उठाउनु उचित नभएको उनले बताए।
आरोपको विश्वसनीयतामाथि प्रश्न उठाउँदै शर्माले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कुनै राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँको लेनदेन भएको दाबी गरेकै भरमा त्यसलाई कानुनी प्रमाण मान्न सकिन्छ कि सकिँदैन भन्ने उदाहरण दिए। ‘एउटा बिचौलियाले कतै भन्यो अरे। कसैले केही भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको पछाडि उफ्रिनुहुन्छ कि हुन्न ?’ उनले भने।
शर्माले कांग्रेस विशेष महाधिवेशनपछि पार्टी १५औँ महाधिवेशनको प्रक्रियामा अघि बढिसकेको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे।
‘नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, पद्धति र संविधान सबै कुराबमोजिम इमानदारीपूर्वक सबै काम भएको छ,’ उनले भने।
राष्ट्रिय आवश्यकता र बदलिएको राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको शर्माको भनाइ थियो। गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ सोच, योजना र ऊर्जासहित अघि बढाउने उनले बताए। ‘कांग्रेस अब देशका लागि आँखामा एउटा सपना देखेर, मनमा एउटा हुटहुटी र आगो बोकेर गगन थापालाई सभापति बनाएर बडो योजनाबद्ध ढङ्गले अगाडि बढ्दछ,’ शर्माले भने।
उनले काभ्रे कांग्रेसलाई संगठनको जग बलियो बनाउँदै समाजमा नयाँ विश्वास र उत्साह जगाउने गरी काम गर्न आग्रह गरे। जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्नुपर्ने उनको सुझाव थियो। ‘काभ्रेको कांग्रेसले आफ्नो जमिनमा गएर, जरामा गएर जल र मल हाल्ने कुरामा कमजोर मानसिकता नराख्नुस्,’ उनले भने।
पार्टीका नेता तथा कार्यकर्तामा आशा र आत्मविश्वास आवश्यक रहेको उल्लेख गर्दै शर्माले नयाँ सोच र कार्यशैलीसहित कांग्रेसलाई अघि बढाउन सबैलाई आग्रह गरे।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।