Trending
Prev Story
Next Story

नेपालमा एआई र डेटा सेन्टरमा लगानी गर्दै नैलवाल

Ekantipur •
November 07, 2026 • 02:01 AM
1
1 reads 0 reactions

ब्लकचेन नेटवर्क पोलिगनका सहसंस्थापक सन्दीप नैलवालले अर्थमन्त्री, गभर्नरलगायतसाग भेटेपछि नेपालको जलविद्युत्लाई एआई कम्प्युटमा रूपान्तरण गर्न र डेटा सेन्टर स्थापनाका लागि आगामी तीन महिनाभित्रै प्रत्यक्ष वैदेशिक लगानी भिरयाउने घोषणा गरेका छन्

नेपालमा एआई र डेटा सेन्टरमा लगानी गर्दै नैलवाल

ब्लकचेन नेटवर्क पोलिगनका सहसंस्थापक सन्दीप नैलवालले अर्थमन्त्री, गभर्नरलगायतसाग भेटेपछि नेपालको जलविद्युत्लाई एआई कम्प्युटमा रूपान्तरण गर्न र डेटा सेन्टर स्थापनाका लागि आगामी तीन महिनाभित्रै प्रत्यक्ष वैदेशिक लगानी भिरयाउने घोषणा गरेका छन्

काठमाडौँ — इन्टरनेट र प्रविधि क्षेत्रमा चर्चित पोलिगन नेटवर्कका सहसंस्थापक सन्दीप नैलवाल शुक्रबार दिउँसो पहिलो पटक नेपाल आइपुगे । यो भ्रमण ८/९ घण्टाको संक्षिप्त व्यावसायिक भेटघाटमा सीमित हुने उनले अनुमान गरेका थिए । तर, काठमाडौंमा बिताएका ती केही घण्टाले उनको रणनीति र सोच दुवै बदलिदियो ।

‘नेपालमा लगानी गर्न र प्रविधिमा सघाउन मलाई एक/दुई वर्ष लाग्ला भन्ने लागेको थियो तर यहाँका अर्थमन्त्री र गभर्नरसँगको भेटपछि उत्साहित बनेको छु,’ नैलवालले भने, ‘उहाँहरूको स्पिड र दृष्टिकोणले यति प्रभावित भएँ, अब मैले आफ्नो टोलीलाई आजैबाट काम थाल्न निर्देशन दिइसकेको छु ।’ आउँदो ४ देखि ६ साताभित्र नेपालमा गर्ने लगानीको खाका तयार गरी आगामी तीन महिनाभित्रै आयोजना कार्यान्वयनमा लैजाने उनले बताए ।

नेपाली मूलका वालस्ट्रिट बैंकर प्रवेश रिजालको निमन्त्रणामा काठमाडौं आएका नैलवालले मुख्यगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युट, डेटा सेन्टर र डिजिटल भुक्तानी पूर्वाधारका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य राखेका छन् । नेपालको हरित ऊर्जा (जलविद्युत्) लाई एआई कम्प्युटमा रूपान्तरण गरी विश्वभर बिक्री

गर्न सकिने भन्दै उनले यसलाई नेपालको सबैभन्दा ठूलो निर्यात सम्भावनाका रूपमा औंल्याए । अमेरिका र युरोपेली देशहरूमा डेटा सेन्टरविरुद्ध आवाज उठिरहेका बेला नेपालजस्ता देशले यसको लाभ लिन सक्ने उनको धारणा छ ।

‘डेटा सेन्टर र एआई प्रविधिमा आधारित यस्ता आयोजनाबाट नेपालमा सयौं मिलियन डलरको वैदेशिक लगानी भित्रिन सक्छ,’ नैलवालले भने, ‘यसले आगामी दुईदेखि पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मै केही प्रतिशत योगदान पुर्‍याउनेछ ।’ यस आयोजनाले स्थानीय उद्यमीलाई सस्तो मूल्यमा एआई क्षमता उपलब्ध गराई स्वदेशमै रोजगारी सिर्जना गर्न र विश्वव्यापी बजारका लागि प्रविधि उत्पादन बनाउन सघाउने उनको भनाइ छ । आफूले लगानी गर्न चाहेको कम्प्युट सेवामार्फत नेपाली उद्यमी र कम्पनीलाई सहुलियत दरमा एआई कम्प्युट उपलब्ध गराइने उनले बताए । ‘यसले स्टार्टअप हुर्काउन र नेपालभित्रै रोजगारीका नयाँ ढोका खोल्न मद्दत पुर्‍याउँछ,’ उनले भने ।

नेपालमा वार्षिक भित्रिने करिब १६ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स लागत घटाउन पनि पोलिगनको भुक्तानी प्रविधि उपयोगी हुने नैलवालले देखेका छन् । ‘अहिले आप्रवासी नेपाली कामदारले परम्परागत माध्यमबाट नेपालमा पैसा पठाउँदा ०.५ देखि ५ प्रतिशतसम्म शुल्क लाग्छ, हामीले बनाएको स्टेबलक्वाइन र पोलिगन ओपन मनी स्ट्याकको प्रयोगले यो खर्चलाई एक तिहाइ वा एक चौथाइमा झार्न सकिन्छ,’ उनी भन्छन्, ‘यसले विदेशमा पसिना बगाउने नेपालीको रकम बिचौलियाबाट जोगाउँछ ।’

नैलवालले भोटेकोशी बाढीपीडितका लागि अन्तर्राष्ट्रिय क्रिप्टो समुदायलाई जोडेर राहत संकलन गर्ने पहलको नेतृत्व गरेका थिए । नेपाल सरकार, अमेरिकी क्रस रिभर बैंक र इन्गेज नेपालसँगको सहकार्यमा ‘नेपाल रिलिफ’ पोर्टलमार्फत २ लाख ७५ हजार अमेरिकी डलर राहत संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको थियो । दाताहरूले पठाएको क्रिप्टोलाई अमेरिकाको क्रस रिभर बैंकमार्फत डलर र रुपैयाँमा रूपान्तरण गरी बैंकिङ च्यानल (स्विफ्ट) बाट दैवी कोषमा पठाउने काम अझै भइरहेको उनले जानकारी दिए ।

‘नेपालको बाढीको खबर सुन्दा मलाई आफ्नै घरमा विपद् परेको महसुस भयो,’ उनले भने । भारतको उत्तराखण्डस्थित कुमाउका नैलवालको नेपालसँग भावनात्मक सम्बन्ध छ । उनकी आमा र मावलकी हजुरआमा दार्जिलिङबाट करिब ५० किलोमिटर टाढा, अल्मोडामा जन्मिएका थिए । ‘म ठट्टा गर्दै भन्छु, मभित्र एक चौथाइ वा छ भागको एक भाग नेपाली रगत छ,’ उनले भने, ‘यहाँका मानिस र म उस्तै देखिन्छौं नि, हेर्नुस् त, मलाई नेपाल आइपुग्दा यो ठाउँ अलिकति पनि बिरानो लागेन ।’

सन् २०१७ मा विभिन्न साझेदारसँग मिलेर स्थापना गरेको ‘म्याटिक नेटवर्क’ नै पछि ‘पोलिगन’का रूपमा विस्तार हुँदा यसको बजार मूल्य ३० अर्ब डलरसम्म पुगेको थियो । यसले नैलवाललाई विश्वव्यापी प्रविधि क्षेत्रमा चिनायो । भारतमा कोभिड महामारीका बेला क्रिप्टो राहत कोषमार्फत २२ लाख डलरभन्दा बढी संकलन गरेर चर्चामा आएका उनले वेब–थ्री स्टार्टअपका लागि ५ करोड डलरको ‘सिम्बोलिक क्यापिटल’ कोष र ओपन सोर्स एआई परियोजना ‘सेन्टिएन्ट’ समेत चलाइरहेका छन् । उनले नेतृत्व गरेको पोलिगन प्रविधि र सञ्जाललाई स्टारबक्स, नाइकी, रेडिट, इन्स्टाग्राम तथा भारतको रिलायन्स जिओजस्ता ठूला कर्पोरेट कम्पनीले प्रयोग र सहकार्य गरेका छन् ।

नेपालमा क्रिप्टोकरेन्सी प्रतिबन्धित रहेको सन्दर्भमा नैलवालले सरकारको निर्णय समर्थन गर्दै भने, ‘अत्यधिक सट्टाबाजी र सर्वसाधारण ठगिने खालका क्रिप्टोमाथि प्रतिबन्ध लगाउनु सरकारको सही कदम हो । तर, सरकारले प्रविधिलाई बुझ्न सरकारी बन्ड, धितोपत्र र स्थानीय मुद्राको टोकनाइजेसन (टोकनमा रूपान्तरण) बाट साना परीक्षण सुरु गर्नुपर्छ ।’

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
12h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत् #डेटा #सेन्टर
Compare →
Hamro Patro News
4d ago
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’

२३ कात्तिक, काठमाडौं । विद्युतीय ठगी रोक्न स्थापना भएको एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ । वाणिज्य बैंक, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक र प्रहरी एकै ठाउँ बसेर अनलाइन माध्यम...

#सेन्टर
Compare →
Nagarik News
6d ago
प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

#एआई
Compare →
Onlinekhabar
1w ago
संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

संयुक्त राष्ट्र संघ एआई र साइबर सुरक्षा विज्ञ निक एस्टर्न-हार्ट नेपालमा

२० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघ डेटा गभर्नेन्स कार्यसमूह सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट नेपाल आएका छन् । शनिबार राजधानीको होटल हिमालयमा हुने ‘नेसनल एआई समिट २०२६’ …

#एआई
Compare →

Related Stories

Business & Economy
Build #2611