Trending
Prev Story
Next Story

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

Ekantipur •
November 07, 2026 • 01:01 AM
1
1 reads 0 reactions

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरेका छन्।

काठमाडौँ — सुदूरपश्चिमको कैलालीस्थित गेटाको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारणसम्बन्धी विवाद छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

चिकित्सा शिक्षा आयोगले गेटामा एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने र नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयमाथि पुनरावलोकन गर्न सहमति भएपछि प्राध्यापक डा. गोविन्द केसीले २५ औं सत्याग्रह अन्त्य गरेका छन् ।डा. केसीले ६ बुँदे मागसहित ११ कात्तिकदेखि इलामबाट अनशन थालेका थिए ।

शिक्षा तथा खेलकुदमन्त्री तथा चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष सस्मित पोखरेल र डा. केसीबीच शनिबार बिहान भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको असोज ३० गतेको निर्णय पुनरावलोकन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिनेछ । समितिले गेटामा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति तथा सिट निर्धारण र आर्मी मेडिकल कलेजमा थप गरिएको सिटको निर्णय चिकित्सा शिक्षा मापदण्डअनुसार भए/नभएको अध्ययन गर्नेछ ।

समितिले सरकारलाई प्रतिवेदन बुझाउने र सरकारले त्यसका सिफारिस कार्यान्वयन गरेपछि चिकित्सा शिक्षा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ गर्ने सहमति भएको छ । कार्यक्रम सञ्चालनको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्ड पूरा नभएको अथवा स्वार्थको द्वन्द्व देखिएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारीलगायतलाई कारबाहीको दायरामा ल्याइने पनि सहमतिमा उल्लेख छ ।

गेटामा एमबीबीएस पठनपाठन सुरु गर्ने तयारी भइरहेका बेला चिकित्सा शिक्षा आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउँदै डा. केसी अनशनमा बसेका थिए । उनले विश्वविद्यालयको पूर्वाधार, जनशक्ति र मापदण्डको अवस्था मूल्यांकन नगरी कार्यक्रम सञ्चालनको अनुमति तथा सिट निर्धारण गरिएको भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेका थिए । सहमतिले उक्त विवाद छानबिनको प्रक्रियामा लैजाने बाटो खोलेको छ ।

सहमतिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी आवश्यक संशोधन गर्न दुई साताभित्र मन्त्रिपरिषद्‌बाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाउने पनि उल्लेख छ । अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ । यस विषयमा डा. केसीले दिएका सुझावअनुसार अघि बढ्ने सहमति भएको छ ।

यसैगरी डा. केसीको २४ औं सत्याग्रहका क्रममा गत साउन ११ गते भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि सरकारले स्वीकार गरेको छ । सहमति कार्यान्वयनको अनुगमन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका एक सहसचिव तथा डा. केसीका तर्फबाट विजयबाबु शिवाकोटी र डा. अमृत जैसी सहभागी कार्यदल गठन गरिनेछ । कार्यदलमा सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल पनि रहनेछन् । कार्यदलले कम्तीमा महिनामा एकपटक बैठक गर्नेछ ।

सरकारले डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेट विनियोजनसहित पूर्वाधार विकासको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको काम तत्काल अघि बढाउने पनि सहमति भएको छ ।

यी सहमतिपछि डा. केसीले आजदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गरेका छन् । सहमतिपत्रमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, डा. गोविन्द केसी, प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

यसअघि शिक्षा मन्त्रालयले उच्च शिक्षा महाशाखाका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । डा. केसीले प्रधानमन्त्री वा शिक्षामन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने अडान लिएका थिए । शुक्रबार रातिदेखि शिक्षामन्त्री नेतृत्वको टोलीले थालेको वार्ता शनिबार बिहान सकिएको हो ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

#सिट #छानबिन
Compare →
Hamro Patro News
13h ago
विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ : सरोज सिटौला

विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ : सरोज सिटौला

काठमाडौँ / विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज...

#सिट #छानबिन
Compare →
Onlinekhabar
4d ago
राष्ट्रिय सभामा दुई सिट रिक्त, १० महिनासम्म भएन पदपूर्ति

राष्ट्रिय सभामा दुई सिट रिक्त, १० महिनासम्म भएन पदपूर्ति

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभामा दुई सिट रिक्त छ । राष्ट्रिय सभाको एउटा सिट २०८२ माघ १ गतेदेखि रिक्त छ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य बलदेव बोहराको निधन भएका कारण यो सिट खाली …

#सिट
Compare →

Related Stories

World News
Build #2611