त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार सुदूरपश्चिमले छ विकेट गुमाएर १७६ रन बनाउँदै कर्णालीलाई जितका लागि १७७ रनको लक्ष्य दिएको हो।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग तेस्रो सिजनको शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा चलिरहेको खेलमा कर्णाली याक्ससामु १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । दुई पल्टको उपविजेताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि थरिन्दु रथ्नायेके २२ र स्कट कुग्गलेन १३ रनमा नटआउट रहे । यसअघि पहिलो विकेटका लागि विनोद भण्डारी र सैफ जैबले ६८ रनको साझेदारी गरे । विनोद २७ रन बनाएर रनआउट भए । उनले २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
लगत्तै जैब पनि ३५ रन बनाएर सूर्य तामाङको बलिङमा बोल्ड भए । जैबले २४ बलको सामना गरे तथा त्यसमा चार चौका र एक छक्का सामेल थियो । उनीहरू क्रिजमा छँदासम्म ठूलो स्कोरको सम्भावना देखिएको थियो । तर दुवै आउट भएपछि रनको गति सुस्ताएको थियो र कर्णालीका बलर हाबी हुन थाले ।
स्कोरले ९५ रन छुँदा कप्तान दीपेन्द्रसिंह ऐरी पनि १० रन बनाएर पेवेलियन फर्के । कर्णालीका विकेटकिपर दीपक डुम्रेको चलाखीपूर्ण स्टम्पिङमा ऐरी आउट भएका हुन् । ब्रेन्डन म्याकमलनले १६ बलमा २४ रन थपेर नन्दन यादवको सिकार भए ।
इशान पाण्डे २३ रन बनाएर मार्क वाटको बलमा क्याच आउट भए । दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलरले उनको क्याच लिएका हुन् । आरिफ सेखले १४ बल खेलेर ११ रन मात्र बनाउन सके । कर्णालीका बलरमध्ये वाटले २७ रन खर्चेर दुई विकेट लिए ।
कर्णाली तीन खेलबाट चार अंकमा तेस्रो स्थानमा छ । सुदूरपश्चिमको पनि चारै अंकमा छैटौं स्थानमा छ, तर उसले पाँच खेल खेलेको छ । कर्णाली र सुदूरपश्चिमबीच अहिलेसम्म दुई खेल भएका छन् । ती दुवैमा सुदूरपश्चिम नै विजयी रहेको छ ।