Trending
Prev Story
Next Story

मानिसका लागि उत्सव, कुकुरका लागि त्रास : पटाकाको आवाजले किन डराउँछन् घरपालुवा जनावर ?

Onlinekhabar •
November 06, 2026 • 06:30 AM
1
1 reads 0 reactions

तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, फूलमाला, मिठाई र पटाकाको सम्झना आउँछ । घरघरमा दीपावलीको तयारी हुन्छ । साँझ परेपछि आकाश रंगीन बन्छ, पटाकाको आवाजले वातावरण गुञ्जायमान हुन्छ । मानिसहरू यही आवाज र उज्यालोमा रमाइरहेका हुन्छन् । तर, …

मानिसका लागि उत्सव, कुकुरका लागि त्रास : पटाकाको आवाजले किन डराउँछन् घरपालुवा जनावर ?

तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, फूलमाला, मिठाई र पटाकाको सम्झना आउँछ । घरघरमा दीपावलीको तयारी हुन्छ । साँझ परेपछि आकाश रंगीन बन्छ, पटाकाको आवाजले वातावरण गुञ्जायमान हुन्छ । मानिसहरू यही आवाज र उज्यालोमा रमाइरहेका हुन्छन् ।

तर, यही उत्सव कसैका लागि खुसी होइन, त्रासको कारण बनिरहेको हुन्छ ।

घरको कुनै कुनामा कुकुर डरले थरथर काँपिरहेको हुन सक्छ । कुनै बिरालो खाटमुनि लुकेर बसिरहेको हुन सक्छ । बाहिर सडकमा बस्ने जनावरहरू पटाकाको आवाज सुनेर ज्यान जोगाउन यताउता भागिरहेका हुन सक्छन् ।

हामीलाई केही क्षणको मनोरञ्जन दिने पटाकाको आवाज उनीहरूका लागि कति भयावह हुन्छ भन्ने कुरा भने धेरैले सोच्दैनन् ।

मानिसको तुलनामा कुकुर र बिरालोको सुन्ने क्षमता बढी संवेदनशील हुन्छ । त्यसैले, मानिसलाई सामान्य लाग्ने आवाज पनि उनीहरूका लागि असह्य हुन सक्छ ।

अझ ठूलो आवाजमा पड्किने पटाकाले उनीहरूलाई झस्काउने मात्र होइन, गम्भीर तनाव र डरसमेत पैदा गर्न सक्छ ।

अमेरिकन भेटेरिनरी मेडिकल एसोसिएसनका अनुसार आतिशबाजीको चर्को आवाजले घरपालुवा जनावरमा तनाव र डर निम्त्याउन सक्छ । कतिपय अवस्थामा यसको असर उनीहरूको व्यवहार र स्वास्थ्यमा समेत देखिन सक्छ ।

तिहारमा मानिसले खुसी मनाइरहँदा घरपालुवा जनावरलाई भने सुरक्षित महसुस गराउनु आवश्यक छ । केही सामान्य सावधानी अपनाउने हो भने उनीहरूलाई डर, तनाव र सम्भावित दुर्घटनाबाट जोगाउन सकिन्छ ।

पटाकाको आवाजले डराउँदा कस्ता संकेत देखिन्छन् ?

कुकुर वा बिरालोले आफू डराएको कुरा मानिसले जस्तो शब्दमा व्यक्त गर्न सक्दैनन् । तर, उनीहरूको व्यवहारले डर र असहजता देखाइरहेको हुन्छ ।

पटाकाको आवाज सुन्नासाथ कुकुर काम्न थाल्ने, पुच्छर खुट्टामुनि लुकाउने, कान पछाडि फर्काउने वा सुरक्षित ठाउँ खोज्दै लुक्ने गर्न सक्छन् ।

कतिपय जनावर असामान्य रूपमा भुक्ने, कराउने, यताउता दौडिने वा मालिकको नजिकै टाँसिएर बस्ने गर्छन् । त्यस्तै, बिरालो खाटमुनि, दराज वा अँध्यारो कुनामा लुक्न सक्छ ।

खाना खान छाड्ने, असामान्य रूपमा सास फेर्ने, शरीर खुम्च्याएर बस्ने वा भाग्न खोज्ने जस्ता व्यवहार पनि डरका संकेत हुन सक्छन् । यस्ता संकेत देखिएमा जनावरलाई जथाभावी तान्ने, कराउने वा जबर्जस्ती बाहिर निकाल्ने गर्नु हुँदैन ।

तिहारमा घरपालुवा जनावरलाई कसरी सुरक्षित राख्ने ?

पटाका पड्काउनु कुनै पनि दृष्टिकोणबाट उचित होइन । यसको आवाज र धुवाँले मानिसलाई मात्र होइन, घरपालुवा तथा अन्य जनावरलाई समेत त्रसित र असहज बनाउन सक्छ ।

त्यसैले, तिहारमा सकेसम्म पटाका नपड्काउनु नै सबैभन्दा सुरक्षित उपाय हो ।

तर, वरपरका मानिसले पटाका पड्काउने अवस्था छ भने घरपालुवा जनावरलाई त्यसबाट जोगाउन केही सावधानी अपनाउन सकिन्छ ।

पटाका पड्किने समयमा उनीहरूलाई घरभित्रै सुरक्षित ठाउँमा राख्नु सबैभन्दा राम्रो हुन्छ । झ्यालढोका बन्द गर्दा बाहिरको चर्को आवाज केही कम हुन सक्छ । तर, कोठामा हावा आवतजावत हुने व्यवस्था भने मिलाउनुपर्छ ।

उनीहरूलाई पहिलेदेखि सहज महसुस हुने कोठा वा कुनामा बस्ने व्यवस्था मिलाउन सकिन्छ । त्यहाँ उनीहरूको ओछ्यान, खेलौना, पानी र आवश्यक खानेकुरा राखिदिनुपर्छ ।

झ्यालढोका बन्द गर्ने, पर्दा लगाउने र हल्का आवाजमा टेलिभिजन वा संगीत बजाउने गर्दा बाहिरको चर्को आवाजबाट उनीहरूको ध्यान केही हटाउन सकिन्छ ।

डराएका बेला जनावरलाई एक्लै छाड्नु हुँदैन । उनीहरू नजिकै बसेर सुरक्षित महसुस गराउन सकिन्छ । तर, डराएको अवस्थामा जबर्जस्ती काखमा लिने वा समातेर राख्ने गर्नु हुँदैन ।

उनीहरूलाई आफू सहज महसुस गर्ने ठाउँमा बस्न दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, पटाकाको आवाजबाट डराएका जनावरलाई गाली गर्ने, सजाय दिने वा उनीहरूको डरलाई बेवास्ता गर्ने गर्नु हुँदैन ।

दियो, मैनबत्ती र झिलिमिली बत्ती पनि जोखिमपूर्ण

तिहारमा घर सजाउन बालिने दियो, मैनबत्ती र विद्युतीय बत्तीले पनि घरपालुवा जनावरलाई जोखिममा पार्न सक्छन् ।

उत्सुकतावश कुकुर वा बिरालो दियो र मैनबत्तीनजिक जान सक्छन् । उनीहरूले पुच्छर वा शरीरले दियो ढाल्न सक्छन् । यसबाट शरीरको छाला पोलिने, रौँ डढ्ने वा आगलागीसमेत हुन सक्छ ।

त्यस्तै, तातो तेल वा मैन मुखमा परेमा पोल्ने हुन सक्छ । त्यसैले, दियो र मैनबत्ती जनावरको पहुँचभन्दा टाढा राख्नुपर्छ ।

घर सजाउन प्रयोग गरिने बिजुलीका तार र झिलिमिली बत्ती पनि सुरक्षित ठाउँमा राख्नुपर्छ । तार चपाउँदा करेन्ट लाग्न सक्छ ।

बत्ती तान्दा सजावटका सामान खसेर चोट लाग्न सक्छ । साना सजावटी वस्तु निल्दा घाँटीमा अड्किने वा श्वासप्रश्वासमा समस्या हुन सक्छ ।

तिहारका मिठाई र चकलेट जनावरलाई खुवाउनु हुँदैन

तिहारमा घरमा विभिन्न प्रकारका मिठाई, सेलरोटी र अन्य परिकार पाक्छन् । पाहुनालाई सत्कार गर्न बनाइएका यस्ता खानेकुरा घरपालुवा जनावरलाई पनि चखाउने चलन कतिपय घरमा हुन्छ ।

तर, मानिसले खाने सबै खानेकुरा जनावरका लागि सुरक्षित हुँदैनन् ।

विशेषगरी चकलेट कुकुरका लागि विषाक्त हुन सक्छ । त्यस्तै, धेरै चिनी, बोसो वा कृत्रिम गुलियो पदार्थ भएका खानेकुराले पनि उनीहरूको स्वास्थ्यमा समस्या निम्त्याउन सक्छन् ।

कहिले तुरुन्त पशु चिकित्सककहाँ लैजाने ?

पटाकाको आवाजले डराएको जनावर केही समयपछि सामान्य अवस्थामा फर्कन सक्छ । तर, सबै अवस्थामा यस्तो हुन्छ भन्ने छैन ।

अत्यधिक सास फेर्नु, लगातार काँपिरहनु, बेहोस हुनु, चोट लाग्नु, शरीर पोलिनु, असामान्य रूपमा लडखडाउनु वा विषाक्त खानेकुरा खाएको शंका हुनु गम्भीर अवस्थाका संकेत हुन सक्छन् ।

यस्तो अवस्थामा घरमै उपचार गर्ने वा निको हुने प्रतीक्षा गर्नेभन्दा तुरुन्त पशु चिकित्सकको सल्लाह लिनुपर्छ ।

तिहारमा कुकुरलाई घुमाउन लैजाँदा ध्यान दिनुपर्ने कुरा

तिहारका बेला पटाका पड्किने र मानिसको चहलपहल बढ्ने भएकाले कुकुरलाई घुमाउन लैजाँदा पनि सावधानी अपनाउनुपर्छ ।

सम्भव भएसम्म बिहानको समयमा घुमाउन लैजानु राम्रो हुन्छ । बाहिर लैजाँदा पट्टामा बाँधेर राख्नुपर्छ । पटाका पड्काइरहेको ठाउँ, भीडभाड र चर्को आवाज हुने क्षेत्रबाट टाढा राख्नुपर्छ ।

पटाकाका बाँकी टुक्रा, बारुद र अन्य रासायनिक पदार्थ सुँघ्न वा खान नदिनुहोस् । कुकुरको घाँटीमा पहिचान खुल्ने ट्याग राख्दा हराएको अवस्थामा फेला पार्न सजिलो हुन्छ ।

पटाकाको आवाज सुनेर कुकुर डराउन थालेमा जबर्जस्ती हिँडाउनु हुँदैन । सुरक्षित तरिकाले घर फर्काउनुपर्छ ।

हामीले आफ्ना घरपालुवा जनावरलाई सुरक्षित ठाउँमा राख्न सक्छौं । तर, सडकमा बस्ने कुकुर, बिरालो र चराचुरुंगीलाई पटाकाको आवाजबाट बच्ने सुरक्षित ठाउँ कहाँ हुन्छ ?

पटाकाको चर्को आवाजले उनीहरू पनि उत्तिकै डराउन सक्छन् । डराएर सडकमा दौडिँदा सवारीसाधनको ठक्करबाट घाइते हुने वा हराउने जोखिमसमेत हुन्छ ।

त्यसैले, सडकका जनावर नजिक पटाका पड्काउनु हुँदैन । उनीहरूलाई जिस्क्याउने, तर्साउने वा पटाका फाल्ने काम गर्नु हुँदैन ।

घाइते वा अत्यधिक डराएको अवस्थामा भेटिएमा सम्भव भएसम्म सुरक्षित ठाउँमा राखेर उद्धार तथा उपचारका लागि सहयोग गर्नुपर्छ ।

पटाका पड्काइसकेपछि त्यसका अवशेष पनि सफा गर्नुपर्छ । नत्र, जनावरले ती टुक्रा वा रासायनिक पदार्थ खाएर बिरामी पर्न सक्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा...

#पटा #पटाका #जनावर
Compare →
Ekantipur
4d ago
प्रतिबन्ध छ, तर पनि पड्किइरहन्छ : कहाँबाट आउँछन् यी पटाका ?

प्रतिबन्ध छ, तर पनि पड्किइरहन्छ : कहाँबाट आउँछन् यी पटाका ?

प्रहरीले गैरकानुनी भन्दै पटाका बरामद गरिरहे पनि बजारमा सहज उपलब्धता र सार्वजनिक आतसबाजीले प्रतिबन्ध कार्यान्वयनमाथि प्रश्न उठाएको छ।

#पटा #पटाका
Compare →
Nagarik News
5d ago
मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।

#कुकुर
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →
Arthasansar
5d ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#कुकुर
Compare →

Related Stories

World News
Build #2611