भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ ।
काठमाडौँ — तिहार सुरु भएसँगै काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ । भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले बजेट विनियोजन गरी मन्दिरको रङरोगन तथा सरसफाइ सुरु गरेको हो । भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण मिलाउने उद्देश्यले तयारी थालिएको हो ।
बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकासँग विशेष रूपमा जोडिएको धार्मिक तथा सांस्कृतिक सम्पदा हो । वर्षभरि बन्द रहने यो मन्दिर भाइटीकाको दिन एक दिनका लागि मात्रै खुला गरिन्छ । विशेषगरी दिदीबहिनी नभएका दाजुभाइहरू मन्दिरमा पुगेर बालगोपालेश्वरको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा रहिआएको छ ।
रानीपोखरीको निर्माण तत्कालीन राजा प्रताप मल्लको शासनकालमा भएको इतिहास छ । सन् १६७१ मा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको मन्दिर पनि काठमाडौंको ऐतिहासिक तथा धार्मिक सम्पदाका रूपमा परिचित छ ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेपछि मन्दिरको पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणपछि २०७७ सालमा भाइटीकाको दिनदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको थियो ।
तिहारको मुख्य दिन भाइटीकामा मन्दिरमा दर्शन तथा टीका ग्रहण गर्न बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । त्यसैले मन्दिरसम्म पुग्ने पुल, परिसर तथा आसपासको क्षेत्रको सरसफाइ र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बालगोपालेश्वर मन्दिरको संरक्षणसँगै तिहारको परम्परालाई निरन्तरता दिन महानगरपालिका र वडा कार्यालयले गर्दै आएको तयारीले भाइटीकाको रौनकलाई थप बढाएको छ ।
नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।