मानिस सामाजिक प्राणी भएकाले समाजका घटना-परिघटनाले उसलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । ऊ चाहेर वा नचाहेर पनि त्यसबाट भाग्न सक्दैन । जस्तोसुकै प्रिय-अप्रिय परिवेश र घटना आइपरे पनि सहनुको विकल्प हुँदैन । शारीरिक रूपले जति बिर्सन चाहे पनि मानसिक रूपले ती घटना-परिघटनाबाट जकडिएको हुन्छ । चेतन वा अवचेतन मनले उसलाई नजानिँदो तरिकाले हिर्काइरहेको हुन्छ ।
नेपाली समाज अत्यन्त द्रवीभूत हुने समाज हो । खुसीमा हास्न नसके पनि, इर्ष्या गरे पनि पीडाको क्षणमा मानवीय समवेदना प्रकट गर्ने प्रयास गर्छ । पीडामा एकाकार हुन खोज्छ । ढाडस दिन अग्रसर हुन्छ । तर जानी-नजानी हामी अरूका पीडा र समवेदनालाई आफ्नै बुझाइमा विस्तार गरेर झन् पीडा थप्छौं । लामो अर्ति-उपदेश फलाक्न खोज्छौं । हामीले सबैभन्दा नबुझ्ने र बुझेको जस्तो गर्ने भनेको शोक र वियोगको भाषा हो ।
कसैले आफ्नो प्रियजन गुमाएको खबर सुनाउँदा हामीमध्ये धेरैको पहिलो प्रतिक्रिया हुन्छ- मलाई किन खबर नगरेको ?, पहिल्यै किन नभनेको ? वा मलाई किन नबोलाएको ?
यी प्रश्नहरू माया, चिन्ता वा आफूलाई बेवास्ता गरिएको अनुभूतिबाट जन्मिएका हुन्छन् । तर भर्खरै आफ्ना आमा, बुबा, जीवनसाथी, सन्तान वा अत्यन्त प्रिय व्यक्ति गुमाएको मानिस कस्तो मानसिक अवस्थाबाट गुज्रिरहेको होला भन्नेबारे हामी कति सोच्छौँ ? कसरी सोच्छौ ?
सायद उसलाई घटनाको वास्तविकता स्वीकार गर्न गाह्रो भइरहेको छ । सायद ऊ असह्य पीडाबीच आफूलाई सम्हाल्ने प्रयास गरिरहेको छ । यस्तो बेला उसले आफ्नै दुःखसँग जुध्नुका साथै अरूलाई किन खबर गर्न सकेन भन्ने कुराको स्पष्टीकरणसमेत दिनुपर्ने बाध्यता पो हामीले सिर्जना गरिरहेका छौं कि ?
उद्देश्य कसैलाई चोट पुर्याउनु नहुन सक्छ । तर राम्रो नियतले व्यक्त गरिएका शब्दले पनि शोकमा परेको व्यक्तिको पीडा बढाउन सक्छ । बुझ्नुपर्ने यी र यस्ता थुप्रै विषय छन् । तर हामी कति संवेदनशील छौं ? प्रश्न हामीतिर तेर्सिरहेका हुन्छन् ।
नुवाकोट र रसुवामा मैले महसुस गरेको अभाव
हालै मनोसामाजिक परामर्श दिने सिलसिलामा भदौ १० को बाढीले क्षतविक्षत नुवाकोट र रसुवाका विभिन्न ठाउँमा पुग्ने अवसर पाएँ । मानिसहरूसँग भेट्दा र उनीहरूका अनुभव बुझ्ने प्रयास गर्दा एउटा कुरा महसुस भयो- दुःख भोग्नु र दुःखलाई कसरी बुझ्ने भन्ने जान्नु फरक कुरा रहेछ ।
हाम्रो समाजमा कसैको मृत्यु हुँदा के गर्ने, कुन संस्कार पूरा गर्ने र परिवारलाई कसरी समवेदना दिने भन्ने आफ्नै परम्परा छ, अभ्यास छ । तर प्रियजन गुमाएपछि मानिसको मनमा के चलिरहेको हुक्छ ? ऊ किन एक्लै बस्न चाहन्छ ? किन सामान्य कुरामा पनि रिसाउन सक्छ ? वा, बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै संघर्ष गरिरहेको हुनसक्छ ?
मैले देखेको अवस्थाले शोक र वियोगबारे थप सचेतना आवश्यक रहेको महसुस गरायो । यसको अर्थ त्यहाँका मानिसहरू दुःख बुझ्दैनन् भन्ने होइन । हाम्रो समाजमा एकअर्काको दुःखमा साथ दिने समृद्ध परम्परा छ । तर साथ दिनु र शोकको मनोवैज्ञानिक प्रक्रियालाई बुझेर साथ दिनु एउटै कुरा होइनन्, बिल्कुलै फरक कुरा हुन्।
मनोवैज्ञानिक दृष्टिकोणबाट शोक कुनै प्रिय व्यक्ति वा महत्त्वपूर्ण सम्बन्ध गुमाउँदा उत्पन्न हुने स्वभाविक भावनात्मक प्रतिक्रिया हो । प्रियजनको मृत्यु यसको परिचित उदाहरण भए पनि सम्बन्धविच्छेद, गर्भ गुमाउनु, घरबार वा जीविकोपार्जनको आधार गुमाउनु जस्ता अनुभवले पनि शोक जन्माउन सक्छन् । तिनका आफ्नै व्यथा र कथा हुन्छन् । तिनलाई समयमै सही तरिकाले समाधान गर्न सकिएन भने तिनले विकराल समस्या निम्त्याउन सक्छन् ।
शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् भने कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् । स्वयं मनोविद्हरू पनि मानसिक समस्याले गुज्रिरहेका हुन सक्छन् ।
शोक र पीडालाई थुप्रै मनोविद्हरूले आआफ्नै ढङ्गले व्याख्या गरेका छन् । तीमध्ये स्विस-अमेरिकन मनोचिकित्सक कुब्लर रसले प्रतिपादन गरेको शोकका पाँच चरण प्रसिद्ध छन् जसले पीडाका स्वाभाविक र अस्वाभाविक चरणहरूलाई राम्रोसँग बुझाउँछ । ती चरणहरू हुन्- अस्वीकार, क्रोध, सम्झौता, गहिरो दुःख र स्वीकार ।
सुरुमा मानिसले आफूमाथि आइपरेको बज्रपात स्वीकार गर्न सक्दैन । इन्कार गर्छ, यस्तो हुनै सक्दैन भन्छ । त्यसपछि क्रोधित हुन्छ । अनि कुनै सन्दर्भलाई लिएर सम्झौता गर्न पुग्छ। अनि, विस्तारै गहिरो दुःखमा रुमलिन्छ । र, अन्त्यमा अवश्यम्भावी सत्यलाई स्वीकार गर्नुको विकल्प देख्दैन ।
यी चरणहरू सबैले एउटै क्रममा पार गर्नुपर्ने निश्चित प्रक्रिया होइनन् तर लगभग उस्तैउस्तै हुन्छन् प्रायः सबैका मानवीय समवेदना र पीडाका अनुभूति ।
त्यसैले, कोही चाँडै सहज रूपमा दैनिक जीवनमा फर्कियो भन्दैमा उसले पर्याप्त माया गरेको थिएन भन्न मिल्दैन । लामो समयसम्म दुःखी रह्यो भन्दैमा ऊ कमजोर छ भन्न पनि मिल्दैन ।
शोक कुनै परीक्षा होइन, जसमा निश्चित समयभित्र उत्तीर्ण हुनुपर्छ । यो बुझ्न, स्वीकार गर्न र आवश्यकताअनुसार सहयोग पाउन दिनुपर्ने मानवीय अनुभव हो जसलाई हामीले अत्यन्त संवेदनशील ढङ्गले बुझ्नुपर्छ ।
कहिलेकाहीँ हाम्रो सान्त्वनाले पनि चोट पुर्याउन सक्छ ?
नेपाली समाजमा अन्त्येष्टिमा सहभागी हुनु, शोकसन्तप्त परिवारको घरमा पुग्नु र आवश्यक काममा सहयोग गर्नु महत्त्वपूर्ण सामाजिक अभ्यास हुन् । यस्ता परम्पराले मानिसलाई अपनत्व र सहारा दिन्छन् । तर साथ दिने क्रममा प्रयोग गरिने भाषा र व्यवहारप्रति पनि सचेत हुनुपर्छ।
‘अरूले त अझ ठूलो दुःख भोगेका छन् ।’
‘जन्मेपछि को मर्दैन ? जन्मसँगै मृत्यु लिएर आएको हुन्छ ।’
यी वाक्य हामीले सामान्य रूपमा प्रयोग गरिरहेका हुन सक्छौँ । तर शोकमा परेको व्यक्तिले यिनलाई आफ्नो पीडा स्वीकार्य छैन, छिट्टै सामान्य हुनुपर्छ वा अरूको अपेक्षा पूरा गर्नुपर्छ भन्ने सन्देशका रूपमा बुझ्न सक्छन् । जसले गर्दा उसलाई आफूले भोगेको पीडा सामान्य रहेछ भन्ने नकारात्मक भान पर्न सक्छ ।
‘बलियो बन्नुपर्छ’ भन्ने आग्रहले आफ्नो आँसु लुकाउनुपर्ने दबाब सिर्जना गर्न सक्छ । अरूको दुःखसँग तुलना गर्दा उसले आफूले भोगिरहेको पीडासमेत व्यक्त गर्न नसक्ने अवस्था आउन सक्छ ।
आफूलाई खबर नगरिएकोमा दुःख लाग्नु स्वाभाविक हो । तर आफ्नो दुःखको जिम्मेवारी शोकमा परेको व्यक्तिमाथि थोपर्नु उचित हुँदैन । त्यसको सट्टा हामी भन्न सक्छौँ, ‘तपाईंको क्षतिप्रति मलाई धेरै दुःख लागेको छ । यस्तो बेला तपाईंको साथमा हुन चाहन्छु ।’
कहिलेकाहीँ सही शब्द खोजिरहनुभन्दा कसैको पीडालाई स्वीकार गर्नु र उसको कुरा सुनिदिनु बढी महत्त्वपूर्ण हुन्छ ।
साथ दिनु भनेको समाधान खोज्नु मात्र होइन
शोकमा परेको व्यक्तिलाई सहयोग गर्न मनोविज्ञानको विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन । तर आफ्नो व्यवहारले उसलाई कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे भने सचेत हुनुपर्छ ।
पहिले आफ्नो निर्णय नथोपरी अरूको कुरा सुनौँ । व्यक्तिले आफ्नो दुःख, रिस वा अन्योल व्यक्त गर्दा तुरुन्तै सल्लाह दिन वा उसको भावना सच्याउन नखोजौँ ।
दोस्रो, उसलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ । बोल्न, सामाजिक भेटघाटमा सहभागी हुन वा हरेक फोनको जवाफ दिन दबाब नदिऔँ । उसको भावनात्मक अवस्थाको सम्मान गरौँ ।
तेस्रो, व्यावहारिक सहयोग गरौँ । खाना पुर्याइदिने, घरको काममा सहयोग गर्ने वा बालबालिकाको हेरचाह गर्ने जस्ता साना कामले पनि कठिन समयमा ठूलो राहत दिन सक्छन् । यसबारे सचेत रहौं ।
चौथो, अन्त्येष्टिपछि पनि दुःखमा परेका व्यक्तिको साथ नछोडौँ । सुरुका दिनमा आफन्त र साथीभाइको उपस्थिति बाक्लो हुनसक्छ, तर समय बित्दै जाँदा शोकमा परेको व्यक्ति अझ एक्लो महसुस गर्न सक्छ, त्यस बेलाको मनोविज्ञान बुझौँ। केही दिन वा हप्तापछि उसको अवस्था सोधौं, आफ्नोपनको अनुभूति गराऔं ।
शोक आफैँमा मानसिक रोग होइन । तर पीडा अत्यधिक हुँदा, दैनिक जीवन गम्भीर रूपमा प्रभावित हुँदा वा आत्महानिको विचार आउँदा उपयुक्त मानसिक स्वास्थ्य सहयोग आवश्यक हुन्छ, त्यसबारे सचेत रहौं।
विपद्पछि भावनात्मक पुनःस्थापनामा सचेत रहौं
बाढीपहिरो, भूकम्प र आकस्मिक मृत्यु जस्ता घटनाले मानिसको जीवनमा एकैपटक धेरै क्षति ल्याउन सक्छन् । कसैले परिवारको सदस्य गुमाएको हुनसक्छ, कसैले घर वा जीविकोपार्जनको आधार । कसैले आफ्नो समुदाय र सुरक्षाको अनुभूतिसमेत गुमाएको हुनसक्छ ।
यस्तो अवस्थामा उद्धार, उपचार, खाद्यान्न र आवासको व्यवस्था पहिले प्राथमिकता हुन् । तर मानिसको आवश्यकता सधैं भौतिक राहतमा मात्र सीमित हुँदैन ।
विपद्पछि मानिसहरूले डर, अन्योल, निद्रासम्बन्धी कठिनाइ वा घटनाको बारम्बार सम्झना अनुभव गर्न सक्छन् । सबैको प्रतिक्रिया एउटै हुँदैन । सबैलाई एउटै किसिमको सहयोग आवश्यक नपर्न सक्छ । त्यसैले राहत र पुनःस्थापनाका कार्यक्रमहरूमा मनोसामाजिक सहयोगलाई पनि महत्त्व दिनुपर्छ ।
नुवाकोट र रसुवामा शोक र वियोगबारे थप संवाद आवश्यक देखिनुले मलाई एउटा प्रश्नतर्फ फर्काएको छ- हामी मानिसहरूलाई फेरि उभिन सहयोग गर्ने कुरा त गर्छौँ, तर उनीहरूले भोगिरहेको भावनात्मक प्रक्रियालाई बुझ्न र सम्हाल्न कति ठाउँ दिन्छौँ ?
पुनःस्थापना भनेको भत्किएको घर पुनर्निर्माण गर्नु मात्र होइन । मानिसले आफ्नो जीवन, सम्बन्ध र सुरक्षाको अनुभूति फेरि निर्माण गर्न पाउने वातावरण बनाउनु पनि हो।
शोकबारे सचेतना फैलाउनु भनेको सबैलाई मनोवैज्ञानिक बनाउनु होइन । यसको अर्थ मानिसहरूलाई दुःखका बेला कसरी प्रतिक्रिया दिने, अरूको भावनालाई कसरी सम्मान गर्ने र आवश्यक पर्दा सहयोग कहाँ खोज्ने भन्ने सिकाउनु हो ।
परिवार, विद्यालय, कार्यस्थल र समुदायमा शोकबारे खुला संवाद हुनुपर्छ । सबैले बुझ्नुपर्छ- आँसु कमजोरी होइन, मौनता सधैं बेवास्ताको संकेत होइन । हरेक व्यक्तिले दुःख फरक तरिकाले अनुभव गर्छ ।
नुवाकोट र रसुवामा गरेको अनुभवले शोकप्रति संवेदनशिलता केवल व्यक्तिगत गुण नभई सामाजिक रूपमा विकास गर्नुपर्ने क्षमता पनि हो भन्ने महसुस गरायो ।
हामी अरूको पीडा सहजै हटाउन सक्दैनौँ । तर आफ्नो व्यवहारबाट उनीहरूको दुःखमा थप अपराधबोध, तनाव वा एक्लोपन नथप्ने प्रयास भने गर्न सक्छौँ ।
कसैले प्रियजन गुमाउँदा ‘मलाई किन खबर नगरेको ?’ भनेर सोध्नुअघि एक पटक रोकिऔँ । ‘अब बलियो बन्नुपर्छ’ भन्नुअघि उसको कुरा सुनौँ । निर्णय गर्नुअघि उसले भोगिरहेको परिस्थितिलाई बुझ्ने प्रयास गरौँ ।
किनकि, शोकमा परेको व्यक्तिले आफ्नो प्रेम प्रमाणित गर्न, मौनताको स्पष्टीकरण दिन वा आफ्ना निर्णयको बचाउ गर्नुपर्ने अवस्था सिर्जना नगरौं । उसले आफ्नो पीडा बुझिएको, भावनाको सम्मान गरिएको र आफू एक्लो नरहेको अनुभूति गर्न पाओस् ।
शोकलाई रोक्न सकिँदैन । तर शोक भोगिरहेको मानिसलाई एक्लै हुनबाट भने रोक्न सकिन्छ ।
आउनुहोस्, यस्तो समाज निर्माण गरौँ जहाँ हामी दुःखमा परेका मानिसको वरिपरि भेला मात्र नहोऔं । उनीहरूको दुःख बुझ्न र साँच्चिकै साथ दिन पनि जानौं ।