चुनावी पराजयपछि रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी भइरहेका बेला विदेशमन्त्री रुबियोले पनि ट्रम्पको कार्यकालभरि काम गर्ने बताएका छन्।
काठमाडौँ — अमेरिकामा मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोले पद नछाड्ने बताएका छन् । बीबीसी का अनुसार दुवै मन्त्रीले पद छाड्न लागेको भन्ने समाचारको ह्वाइट हाउसले पनि खण्डन गरेको छ ।
इरान युद्धको व्यवस्थापनमा कमजोरी देखाएको भन्दै रक्षामन्त्री हेगसेथलाई पदबाट हटाउनुपर्ने आवाज उठिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रिपब्लिकन पार्टीको चुनावी पराजयको एउटा प्रमुख कारण इरान युद्धलाई मानिएको छ ।
रिपब्लिकन सांसद थोमस मेसीले आगामी साताको सुरुमै हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने बताएका छन् । ट्रम्पका आलोचकसमेत रहेका मेसीले पोलिटिकोसँग कुरा गर्दै महाभियोग प्रस्ताव अघि बढाउने आफ्नो योजना रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा उनले जनवरीमा डेमोक्र्याटहरूको नियन्त्रणमा नयाँ कंग्रेस गठन हुनुअघि नै ट्रम्पले हेगसेथलाई प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । 'सिनेटबाट नयाँ नियुक्तिहरू अनुमोदन गराउन सक्ने अवस्था रहँदै उनले त्यसो गर्नुपर्छ,' मेसीले लेखेका छन् ।
हेगसेथले भने आफ्नो कार्यसम्पादनको बचाउ गर्दै महाभियोगको प्रयासको आलोचना गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले आफू र आफ्नो समूह प्रभावकारी भएकै कारण आक्रमण भइरहेको बताएका छन् । 'यो प्रयास सफल हुने छैन । हामी पछि हट्ने छैनौँ,' उनले भनेका छन् ।
यसैबीच, विदेशमन्त्री रुबियोले पनि पद छाड्ने तयारीमा नरहेको बताएका छन् । सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि उनले पद छाड्न लागेको समाचार सार्वजनिक भएपछि रुबियोले त्यसको खण्डन गरेका हुन् ।
न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले ट्रम्पको कार्यकाल नसकिँदासम्म उनीसँगै काम गर्नु आफ्नो योजना रहेको बताए । 'मैले गरिरहेको काम मलाई मन पर्छ,' उनले भने, 'म पद छाड्दै छु भन्ने कुरा सुन्दा सधैँ हाँसो लाग्छ । कुन पद छाड्ने ?'
ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारलाई 'फेक न्युज' भन्दै खारेज गरेका छन् ।
रिपब्लिकन पार्टीको चुनावी पराजयपछि ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवैले इरान युद्धलाई हारको कारण बताएका छन् । उक्त पराजयसँगै डेमोक्र्याटहरूले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण कायम गरेका छन् ।
एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले हेगसेथका विषयमा आफूलाई केही फोन आएको स्वीकार गरेका छन् । तर, उनलाई पदमै राख्ने आफ्नो मनसाय रहेको बताएका छन् । बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हेगसेथले उत्कृष्ट काम गरेको दाबी गरेका थिए ।
उनले हेगसेथका उपलब्धिका रूपमा जनवरीमा भेनेजुएलाका नेता निकोलस मादुरो पक्राउ परेको घटना र नवौँ महिनामा प्रवेश गरेको इरान युद्धलाई समेत उल्लेख गरेका थिए ।