Trending
Prev Story
Next Story

ई–कारोबारमा रमेको तिहार

Ekantipur •
November 06, 2026 • 03:31 AM
1
1 reads 0 reactions

१० मिनेटमै गेटमा सामान आइपुग्ने डेलिभरी सेवा, अनलाइन भुक्तानी र भर्चुअल उपहारले चाडबाडको परम्परागत बजारलाई आधुनिक प्रविधिसँग जोडिदिए।

ई–कारोबारमा रमेको तिहार

१० मिनेटमै गेटमा सामान आइपुग्ने डेलिभरी सेवा, अनलाइन भुक्तानी र भर्चुअल उपहारले चाडबाडको परम्परागत बजारलाई आधुनिक प्रविधिसँग जोडिदिए।

काठमाडौँ — तीन वर्षदेखि जापानको साइतामामा बस्दै आएकी सुर्खेतकी मन्दिरा जीसी योपालि पनि तिहारमा घर फर्कन पाइनन् । काठमाडौंमा कोठा लिएर पढ्दै गरेको भाइलाई तिहारमा कसरी खुसी बनाउने भन्ने उनलाई पीर थियो । टाढा भए पनि भाइप्रतिको स्नेह प्रकट गर्न उनले प्रविधिको सहारा लिएकी छन् ।

एक अनलाइन सपिङ प्लाटफर्ममार्फत उनले भाइका लागि इयरबड्स, जुत्ता र पर्स अर्डर गरिदिने विचार गरेकी छन् । त्यसलाई भाइटीकाका दिन ‘ह्याप्पी भाइटीका’ लेखिएको सन्देशसहित डेलिभरी गराउने प्रबन्ध मिलाएकी छन् ।

मन्दिराले गत वर्ष पनि अनलाइनबाटै भाइलाई तिहारमा ज्याकेट किनिदिएकी थिइन् । ‘लुगा, जुत्ताभन्दा पनि भाइले आजभोलि भर्चुअल गिफ्ट माग्छ,’ उनले हाँस्दै भनिन्, ‘जीमेलको स्टोरेज, अमेजनको सब्स्क्रिप्सन, च्याटजीपीटीको सब्स्क्रिप्सन किनिदियो भने दंग पर्छ । यी कुरा नेपालबाट गर्न डलर कार्ड लिनुपर्ने रहेछ । मैले यतैबाट किनिदिँदा उसलाई सजिलो,’ यस्ता ‘भर्चुअल गिफ्ट’ अरू बेला पनि किनिदिने गरेकाले तिहारमा भने जिन्सी नै दिन मन लाग्ने मन्दिराले बताइन् ।

मन्दिराजस्तै हजारौं नेपालीका लागि अहिले चाडबाडको किनमेल र उपहार आदानप्रदानमा अनलाइन सपिङ र विशेष गरी सोसल कमर्सले सहज बनाइदिएको छ । पसल–पसल चहार्ने, भीडभाडमा घण्टौं बिताउने र झोलामा सामान बोकेर हिँड्ने कष्ट नगरी उपभोक्ताहरू डिजिटल किनमेल र भुक्तानीतर्फ आकर्षित भएका छन् । तिहार र छठलाई लक्ष्य गर्दै ई–कमर्स प्लाटफर्महरूले ल्याएका विशेष अभियानले पनि बजारमा चाडबाडको रौनक थपेका छन् ।

अग्रणी ई–कमर्स प्लाटफर्म दराजले १ नोभेम्बरमा सुरु गरेको ‘११.११’ अभियानलाई ग्राहकको उच्च मागका कारण १९ नोभेम्बरसम्म लम्ब्याउनुपरेको जनाएको छ । यस वर्षको ११.११ अभियान तिहार र छठजस्ता ठूला पर्वसँग जुधेका कारण उपभोक्ताले चाडपर्वको किनमेललाई अनलाइनसँग जोडेको दराजको दाबी छ । कम्पनीका प्रमुख वाणिज्य अधिकृत (सीसीओ) रतिश लुइँटेलका अनुसार उपभोक्ताहरू ठूला चाडबाडमा अनलाइन किनमेलतर्फ तीव्र गतिमा आकर्षित भइरहेका छन् ।

‘चाडपर्वको मौसमका कारण हाल सञ्चालनमा रहेको ११.११ अभियानको पहिलो तीन दिनमै दराजको व्यावसायिक कारोबार परिमाणमा २१९ प्रतिशत वृद्धि भएको छ,’ रतिशले इमेल–अन्तर्वार्तामा भनेका छन्, ‘दैनिक औसत करिब ८ लाख उपभोक्तालाई सेवा प्रदान गरिएको छ ।’

उनका अनुसार हाल उपभोक्ताले इलेक्ट्रोनिक्स, फेसन र घरायसी अत्यावश्यक सामग्रीका साथै तिहारका लागि सजावट, उपहार, व्यक्तिगत सौन्दर्यका सामग्री र आफन्तलाई पठाउने सामान दराजमा अर्डर गरिरहेका छन् । यस अभियानले स्थापित ब्रान्डका साथै तिहारका सजावट, हस्तकला र उपहार सामग्री बेच्ने स्थानीय साना उद्यमीलाई पनि आफ्नो बजार टोल र सहरभन्दा बाहिर देशभर पुर्‍याउने अवसर दिएको छ ।

तिहारको समयमा दराजमा सबैभन्दा धेरै माग हुने पाँच मुख्य विधामा इलेक्ट्रोनिक्स, फेसन, दैनिक उपभोग्य वस्तु (एफएमसीजी), लाइफस्टाइल तथा होम एन्ड लिभिङ रहेका छन् । दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिनका लागि इयरबड, हेडफोन, स्मार्टवाच, स्मार्टफोन र सौन्दर्यका सामानको माग उच्च छ ।

त्यसैगरी, घर सजावटका लागि झिलिमिली बत्ती, रंगोली बनाउने रङ र सामग्री तथा भान्साका सामानको अनलाइन खरिद बढेको छ । जाडोका कपडा, पुरुषका जुत्ता, झोला तथा एसेसरिजका साथै छालाको स्याहारका सामग्री, सौन्दर्य प्रसाधन, सुगन्धित सामग्री र व्यक्तिगत स्याहारका उत्पादन पनि तिहार र छठछेकमा धेरै अर्डर आउने वस्तुमा पर्ने दराजले जनाएको छ ।

चाडपर्वमा किनमेलको शैलीसँगै डेलिभरीको गतिमा पनि नयाँ प्रयोग सुरु भएको छ । छोटो समयमै सामान घरदैलोमा पुर्‍याउने ‘क्विक कमर्स’ मोडलले दसैं–तिहारको किनमेललाई अझ सहज बनाएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा २१ वटा ‘डार्क स्टोर’ मार्फत १० मिनेटमै सामान पुर्‍याउँदै आएको ‘फास्टो’ का सञ्चालक प्रशान्त घिमिरेका अनुसार चाडबाडमा उपभोक्ताको प्राथमिकता बदलिने गरेको छ । तिहारको समयमा नियमित ग्रोसरीका अतिरिक्त चकलेट, स्न्याक्स, उपहार सामग्री, पेय पदार्थ र भान्साका अत्यावश्यक वस्तुको माग बढ्ने गर्छ ।

प्रशान्तका अनुसार नेपाली उपभोक्ता नयाँ प्रविधि छिटो आत्मसात् गर्न रुचाउँछन् । फास्टोमा सबैभन्दा धेरै भुक्तानी ‘क्यूआर अन डेलिभरी’ अर्थात् सामान हातमा परेपछि क्यूआर स्क्यान गरेर शुल्क तिर्ने माध्यम लोकप्रिय छ । ‘यसले ग्राहकलाई सामान प्राप्त हुने विश्वसनीयता दिएको छ भने कम्पनीलाई नगद व्यवस्थापनको झन्झटबाट मुक्ति दिएको छ,’ प्रशान्त भन्छन्, ‘तीन सय रुपैयाँभन्दा माथिको अर्डरमा डेलिभरी शुल्क नलाग्ने भएकाले अन्तिम समयमा उपहार वा खाद्यान्न चाहिने उपभोक्ताका लागि यस्ता द्रुत सेवा निकै उपयोगी भएका छन् ।’

ठूला ई–कमर्स प्लाटफर्ममा मात्र होइन, सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका साना तथा मझौला अनलाइन व्यवसायमा पनि तिहारको चहलपहल उत्तिकै छ । तीन वर्षअघि सुरु भएको अनलाइन पोसाक ब्रान्ड ‘नैना द अटायर’ की संस्थापक सुनैना क्षेत्रीले तिहारलक्षित उपहार र फेसनका लागि अनलाइन अर्डर निकै उत्साहजनक रहेको बताइन् । उनका अनुसार सामान्य दिनमा दैनिक १५ देखि २० वटा डेलिभरी हुने गरेकामा चाडपर्वको पिक सिजनमा दैनिक १ सयदेखि १ सय १० पिससम्मको माग पुग्ने गरेको छ ।

‘विशेष गरी तिहारमा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन ३ हजारदेखि ४ हजार रुपैयाँसम्मको कुर्ता र अन्य पहिरनको माग धेरै आउँछ,’ उनले भनिन्, ‘हामीलाई अस्ट्रेलिया, अमेरिका, दुबई र बेलायतजस्ता देशमा रहेका नेपालीले नेपालमा रहेका आफन्त र परिवारका लागि उपहार पठाइदिन अनलाइनबाटै थुप्रै अर्डर आउँछन् । नेपालको त कुनाकाप्चासम्मै हाम्रा कुर्था पुगिसकेका छन् ।’ उनीकहाँ आउने अर्डरमध्ये करिब ८० प्रतिशत भुक्तानी अनलाइन माध्यमबाटै हुने गरेको छ । काठमाडौं उपत्यकाबाहिर मुस्ताङ, नेपालगन्ज, बुटवल, पोखरा, दाङलगायत स्थानसम्म सामान पुर्‍याउने गरेको उनले बताइन् ।

किनमेल गतिविधिसँगै भुक्तानीको शैलीमा आएको परिवर्तन झनै आकर्षक देखिन्छ । दराज नेपालका पेमेन्ट्स कन्ट्री म्यानेजर ऋषभ थापाका अनुसार हाल दराजमा हुने कुल कारोबारमध्ये ६० प्रतिशतभन्दा बढी भुक्तानी प्रिपेड तथा क्यूआरलगायत डिजिटल माध्यमबाट भइरहेको छ । वालेट, क्यूआर र बैंक कार्डमार्फत गरिने भुक्तानीमा पाइने छुट र अफरले गर्दा नगदभन्दा डिजिटल कारोबार लोकप्रिय बनेको र यसले नेपालको डिजिटल वित्तीय प्रणालीप्रति उपभोक्ताको विश्वास बढेको देखाएको उनले बताए । चाडपर्वको चापलाई धान्न डेलिभरी संयन्त्र थप सक्रिय बनाइएको दराज नेपालका प्रमुख लजिस्टिक अधिकृत (सीएलओ) सन्तोष विष्टले बताए । उनका अनुसार दराज एक्सप्रेस (डेक्स) को सञ्जाल अहिले देशभरका ५ सय १६ सहर तथा बजारमा विस्तार भइसकेको छ ।

किनमेल मात्र होइन, तिहारको अभिन्न अंग मानिने भाइटीकाको दक्षिणासमेत अब डिजिटल बन्न थालेको छ । फिनटेक अलायन्स नेपालका प्रमुख तथा खल्तीका सहसंस्थापक अमित अग्रवालका अनुसार डिजिटल फन्ड ट्रान्सफर र क्यूआरमार्फत ‘स्क्यान एन्ड पे’ गर्ने चलन अहिले नेपालीको दैनिक जीवनशैली नै बनिसकेको छ । सार्वजनिक तथा बैंकिङ बिदाका दिन नियमित व्यावसायिक गतिविधि सुस्ताउँदा समग्र डिजिटल कारोबार ५० प्रतिशतसम्म झर्ने भए पनि भाइटीकाको दिन दक्षिणाको कारण कारोबारमा करिब १० प्रतिशतको सुधार आउने गरेको अग्रवालले बताए ।

चाडपर्वको अवसरमा डिजिटल वालेटहरूले पनि दक्षिणा पठाउन प्रोत्साहन गर्ने अभियान चलाउँदै आएका छन् । देश तथा विदेशमा रहेका दाजुभाइ–दिदीबहिनीले भाइटीकामा टाढैबाट डिजिटल माध्यम प्रयोग गरी दक्षिणा र उपहार पठाउने क्रम तीव्र रूपमा बढ्दै गएको छ । चाडबाडमा यात्रा गर्दा मोबाइल डेटा प्याक खरिद गर्ने प्रवृत्ति पनि उत्तिकै बढेको छ ।

डिजिटल बजारको यो बढ्दो लहरले नेपाली समाजमा चाडपर्व मनाउने परम्परालाई विस्थापन नगरी अझै आधुनिक र सहज बनाएको छ । टाढा रहेका प्रियजनलाई आपसमा जोड्न र चाडबाडको आत्मीयता साटासाट गर्न डिजिटल प्लाटफर्म र डिजिटल भुक्तानी अनिवार्य माध्यम बन्न पुगेका छन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#तिहार
Compare →
Arthasansar
18h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2612