Trending
Prev Story
Next Story

सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस

Ekantipur •
November 05, 2026 • 05:01 PM
1
1 reads 0 reactions

कांग्रेसको आधिकारिकता लिने सवालमा रुपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन भएको छैन : थापा

सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस

कांग्रेसको आधिकारिकता लिने सवालमा रुपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन भएको छैन : थापा

काठमाडौँ — कांग्रेसले पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको भन्दै फैलाइएको हल्लालाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएको छ । सरकारका गलत क्रियाकलापमाथि प्रश्न उठाउन थालेपछि राज्य संरक्षित ‘गिरोह’ परिचालन गरेर यस्तो भ्रम फैलाइएको कांग्रेसको ठहर छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले प्रश्नलाई बन्द गर्न खोज्ने हरेक प्रयत्नविरुद्ध पार्टी सधैं उभिने निर्णय गरेको छ । ‘यो राजनीतिक षड्यन्त्र हो । अनधिकृत व्यक्तिको निर्देशनमा कांग्रेसविरुद्ध काल्पनिक र कृत्रिम विषय फैलाउने, त्यसपश्चात् पार्टी नेतृत्वलाई गिरफ्तार गर्न लाग्यो भनेर अफवाह फैलाउने, पार्टीका साथीहरूलाई विभिन्न माध्यमबाट निगरानी राख्ने, तर्साउने जुन काम भएको छ, यो त्यही षड्यन्त्रकै निरन्तरता हो,’ बैठकको निर्णयमा भनिएको छ, ‘यो षड्यन्त्र पछाडिका पात्र, प्रवृत्ति र नियत उजागर हुँदै गएका छन् ।’ प्रश्न गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको पनि कांग्रेसको निर्णयमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाले कांग्रेसको आधिकारिकता दिलाउन सर्वोच्चका न्यायाधीशहरूलाई १८ करोड रुपैयाँ दिने ‘डिल’ भएको भनी बयान दिएको अडियो सार्वजनिक भएपछि कांग्रेस सभापति थापा पक्राउ पर्ने चर्चा चलेको थियो । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म आर्थिक लेनदेन गरेको दाबी गरिएको सापकोटाको ‘रेकर्डेड अडियो’ सार्वजनिक भएपछि त्यसैलाई आधार बनाएर थापालाई पक्राउ गर्ने चर्चा बुधबार बिहानै सुरु भएको थियो ।

सभापति थापाको निवास र उनले कार्यकर्तासँग भेटघाट गर्ने ज्ञानेश्वरस्थित कार्यालय वरपर सादा पोसाकका प्रहरीले निगरानी गरिरहेको भन्दै कांग्रेस नेताहरूले पक्राउ पर्ने आशंका गरेका छन् । थापालाई पक्राउ गर्ने चर्चाबीच बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सभापतिसहित पदाधिकारीको अनौपचारिक बैठक बसेको हो । बैठक बुधबार पनि बसेको थियो ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले सरकारका यस्ता रवैयालाई अब बस्ने संसद् र संसदीय समितिमा समेत मुद्दा बनाइने बताए । ‘सरकार संरक्षित व्यक्तिहरूबाटै यस्तो अफवाह आएको पार्टीको निष्ष्कर्ष हो, यसको हामी सबै ठाउँबाट प्रतिवाद गर्छौं,’ उनले भने ।

कांग्रेस महामन्त्री उदयशमशेर राणाले सभापति थापालाई पक्राउ गर्ने हल्ला मात्रै नभएर सूचनासमेत रहेको दाबी गरे । प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाइनुको एउटा कारण थापालाई पक्राउ गर्न नमानेको हुन सक्ने उनको आशंका छ । सरकारले प्रेसदेखि प्रतिपक्षसम्मको आवाज दबाउन खोजेको तर यस्ता घटनाबाट कांग्रेस विचलित नहुने उनले बताए । ‘प्रेसको मुख थुन्न उनीहरूले मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकार पक्राउ गरे । प्रेसलाई त्रसित बनाए । अब बोल्ने तैं होस् भन्ने हिसाबले हाम्रो सभापतिलाई पक्राउ गरेर प्रतिपक्षको आवाज थुन्ने सरकारको नियत देखिन्छ । सरकार विनाशकाले विपरीत बुद्धिको बाटोमा अघि बढिरहेको हाम्रो ठम्याइ छ,’ राणाले कान्तिपुरसँग भने ।

कान्तिपुरले यही विषयमा बुझ्न थापानिकट तीन जनासँग अलग–अलग कुराकानी गरेको थियो । ती तीनै जनाले थापालाई पक्राउ गर्ने विषयबारे आफूले पनि सुनेको र थप बुझ्ने काम भइरहेको बताए । उनीहरूका अनुसार दुई दिनयता थापा निवास र उनका मुख्य सम्पर्क स्थानहरूमा सादा पोसाकका प्रहरीले ‘रेकी’ गरिरहेका छन् । एक नेताले भने, ‘यसले पक्राउको आशंका थप बढाएको छ, आज गर्न नसके भोलि गर्लान् । सरकारको कदमको अनुमान गर्न सकिन्न ।’

के कांग्रेस सभापति थापालाई पक्राउ गर्न लागिएको हो भनेर कान्तिपुरले प्रधानमन्त्रीको सचिवालयका एक सदस्यलाई सोधेको थियो । उनले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘सबै कुरा प्रधानमन्त्री कार्यालयलाई जानकारी हुने विषय परेन । यस सम्बन्धमा पनि प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी छैन । प्रहरीसँगै बुझ्नु भए राम्रो हुन्छ,’ उनले भने ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेलाई पनि कान्तिपुरले सोध्यो, ‘के तपाईंहरूले कांग्रेस सभापति थापालाई पक्राउ गर्न लाग्नुभएको हो ?’ उनले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । उनले थपे, ‘यसबारे हाम्रो कुनै धारणा छैन ।’ सभापति थापाको निवास र सम्पर्क कार्यालय वरपर सादा पोसाकका प्रहरी परिचालन गरिएको हो कि होइन भनेर जिज्ञासा राख्दा उनको जवाफ थियो, ‘तपाईंहरूले यस्तो कुरा कहाँबाट थाहा पाउनुभयो, थाहा छैन । हामीलाई यस विषयमा कुनै जानकारी छैन ।’

पार्टीको १५ औं महाधिवेशनदेखि नै सभापति थापाले सरकारका कामकारबाहीप्रति निरन्तर प्रश्न उठाउँदै आएका छन् । त्यसप्रति लक्ष्य गर्दै प्रधामन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्ने गरेका छन् । काठमाडौंको खुलामञ्चमा १८ असोजमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा थापाले प्रधानमन्त्रीको संसद्मा अनुपस्थितिलाई प्रश्न गरेका थिए । थापाले खुलामञ्चलाई लोकतान्त्रिक अभ्यासको बिम्बका रूपमा प्रस्तुत गरेका थिए । ‘पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ । संसद् खुला छैन, बन्द छ,’ थापाले भनेका थिए ।

थापाको अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले त्यही दिन राति सामाजिक सञ्जालमा लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

शाहको उक्त टिप्पणीलाई थापा नेतृत्वको कांग्रेसलाई नयाँ पार्टीका रूपमा चित्रण गर्दै पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसलाई पुरानो पार्टीका रूपमा प्रस्तुत गर्न खोजिएको अर्थमा समेत व्याख्या गरिएको थियो ।

सरकारका कामकारबाहीप्रति निरन्तर प्रश्न उठाउने क्रममा गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले अब सरकारका कामकारबाहीमा चुप लागेर बस्न नसकिने बताएका थिए । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका अधिकारीहरूलाई नियन्त्रणमा लिएर ठेक्का रद्द गराउन दबाब दिइएको घटनाको पृष्ठभूमिमा थापाको उक्त भनाइ आएको थियो ।

थापाको अभिव्यक्तिपछि त्यही रात प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा अर्को स्टाटस लेखे । जसमा भनेका थिए, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’ त्यसको भोलिपल्ट इनम सापकोटाले प्रहरीमा दिएको बयान भन्दै एउटा अडियो सार्वजनिक भयो । थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिलाउन १८ करोड रुपैयाँको ‘डिल’ को दाबी गरिएको उक्त अडियोपछि थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्री लक्षित स्टाटस लेखेका थिए । सोमबार साँझ ६ बजे उनले फेसबुकमा लेखेका थिए, ‘अहिले ठीक १८ बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’

बुधबारको पदाधिकारी बैठकले निर्वाचन आयोग र अदालतले संविधान, कानुन, विधि, विधानअनुसार गरेको निर्णयलाई लेनदेनको विषय बनाएर बदनाम गर्न खोजिएको भन्दै भर्त्सना गरेको थियो । पुस २०८२ मा विधानअनुसार सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता कायम भइसकेको अवस्थामा त्यसलाई लेनदेनको विषयसँग जोडेर अदालत, निर्वाचन आयोग र आफ्नो पार्टीका प्रतिनिधिहरूको बदनाम गर्न खोजिएको कांग्रेसले जनाएको छ । कांग्रेसले पार्टी र नेतृत्वको बदनाम गराउने कामको कानुनी उपचार पनि खोजिने बताएको छ । कानुनी लडाइँ लड्नका लागि आवश्यक प्रक्रिया सुरु गर्न पार्टीको उपसभापति पुष्पा भुसाललाई कांग्रेसले जिम्मा दिएको छ ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापा

तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

#कांग्रेस #थापा
Compare →
Nagarik News
5d ago
साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।

#कांग्रेस
Compare →
Onlinekhabar
8h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611