विजयादशमीको भोलिपल्ट परम्परागत युद्धनाच प्रदर्शन गर्दै खड्ग जात्रा मनाइयो ।
दोलखा — विजयादशमीको भोलिपल्ट बिहीबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरू झरीमा नाच्दै खड्ग जात्रा मनाएका छन् । मन्दिर र मूर्तिहरूको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्षोल्लासका साथ दोलखा बजारमा मनाइएको हो । खड्गधारीहरू युद्धको शैलीमा दिनभर नाचेर जात्रालाई परम्परागत रूपमै मनाउने गरिएको भीमेश्वर–२ का अध्यक्ष स्टालीन श्रेष्ठले बताए । ‘खड्ग जात्रा दोलखाकै पुरानामध्येका एक हो,’ उनले भने, ‘यसका सांस्कृतिक पाटाहरू धेरै भएकाले विधिपूर्वक मनायौं ।’
प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरूमा टोलटोलबाट निस्केर खड्गधारीहरूले दानवहरूसँग युद्ध गरेको अभिनय गर्दै देखाइने खड्ग जात्रा विजयादशमीको भोलिपल्ट दिनभर प्रदर्शन गरिने चलन छ । आ–आफ्नै भूमिकाअनुसार नाच्दै अघि बढेको रोचक दृश्य र प्राचीन युद्धको कला कौशल हेर्न बाक्लै चहलपहल थियो । दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् ।
जात्रामा अभिनयकर्तामध्ये मूल खड्गधारी र उनका अङ्गरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगाको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ । नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बलि दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको परम्परा छ । त्यसपछि विजयादशमीको भोलिपल्ट सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजय उत्सव मनाउने प्रचलन छ ।
जात्रा सकिएपछि बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिरअगाडि बसेर खुसीयालीमा टीका लगाइदिनुका साथै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।