राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ ।
काठमाडौं — सरकारी सेवामा कार्यरत निजामती कर्मचारीले राजीनामा दिने क्रम बढेको पाइएको छ । राष्ट्रिय किताबखानाका अनुसार साउनयता ४६४ जना कर्मचारीले राजीनामा दिएका छन् ।
विशिष्ट श्रेणी (सचिव सरह)का– ४, राजपत्राकिंत प्रथम श्रेणी(सह सचिव)–३३, राजपत्राकिंत द्वितिय श्रेणी(उपसचिव)–७२, राजपत्राकिंत तृतिय श्रेणी(शाखा अधिकृत)–९८ जनाले राजीनामा दिएका छन् । त्यस्तै, राजपत्रअनकिंत तहका १३७ र श्रेणीविहीन १२० जना कर्मचारीले राजीनामा दिएका छन् । किताबखानाका निर्देशक सुदन ख्वाखली श्रेष्ठले पछिल्लो समय कर्मचारीले राजीनामा दिने ट्रेन्ड बढेको बताए । उनले अघिल्ला वर्षहरूको तुलनामा यसवर्षको प्रारम्भमै राजीनामा दिनेको संख्या बढी देखिएको छ । गत आर्थिक वर्षमा ७१८ जना कर्मचारीले राजीनामा दिएका थिए ।
त्यस्तै, आव २०८१/८२ मा राजीनामा दिनेको संख्या ६११ थियो । एक वर्षमा आउने राजीनामाको तुलनामा आर्थिक वर्षको पहिलो ३ महिनाको संख्या बढी पाइएको छ । कर्मचारीले राजीनामा किन दिए बारे किताबखानालाई जानकारी नहुने निर्देशक श्रेष्ठले बताए । राजीनामा स्वीकृत भएको जानकारी अद्यवाधिकका लागि मात्रै किताबखानामा आउने गरेको उनले बताए । राजीनामा दिएकाहरू अधिकांशले व्यक्तिगत कारण उल्लेख गरेका छन् ।
राजीनामा दिने क्रम असार महिनादेखि नै बढेको तथ्यांक छ । गत असार महिनामा मात्रै विभिन्न दर्जाका २२५ जना कर्मचारीले राजीनामा दिएका थिए । सरकारले ५५ वर्ष उमेर पूरा भएको वा नोकरी अवधि ३० वर्ष पूरा गरेकालाई अवकाशमा पठाउने प्रस्तावसहित संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको देखिन्छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा गत जेठमा तयार पारको थियो । १५ असोजमा संसद्मा दर्ता गराइएको विधेयकमा उक्त प्रावधानलाई यथावत राखिएको छ । नोकरी अवधि जति वर्ष भए पनि पेन्सनपट्टाका लागि ३० वर्षको अवधि मात्रै गनिने विधेयकमा प्रस्ताव छ ।
प्रस्तावित प्रावधानसहित नै कानुन आएमा अवकाश पछाडि पाइने पेन्सनको सुविधा घट्ने बुझेर राजीनामा दिने क्रम बढेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ३० वर्षभन्दा बढी सेवा अवधि पुगेका कर्मचारीको नयाँ कानुन आएपछि पेन्सन प्रयोजनका लागि ३० वर्षमाथिको नोकरी अवधि नाजोडिँदा पेन्सन सुविधा घट्ने सम्भावना छ । त्यही भएर विद्यमान कानुनी प्रबन्धको लाभ उठाउन राजीनामा बढेको ती अधिकारीले उल्लेख गरे ।
राजीनामा स्वेच्छिक विषय हो राजीनामा दिनले आफ्नो व्यक्तिगत कारण देखाए पनि निजामती विधेयकको प्रावधाननै प्रमुख कारण ती अधिकारीले उल्लेख गरे । राजीनामाबाहेक गत आर्थिक वर्षमा २ हजार २११ जना कर्मचारीले नियमित अवकाश पाएका थिए । चालु आर्थिक वर्षमा निजामती सेवातर्फका १ हजार ९८५ जना कर्मचारीले अवकाश पाउने भएका छन् ।
राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।