पछिल्लो केही दिनयता नेप्सेले पटकपटक २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। यही कारण पनि बजारले स्पष्ट दिशा समात्न सकेको छैन।
काठमाडौँ — अहिले सेयर बजार केही सुस्तिएको छ। सेयर बजारमा पछिल्लो १४ कारोबार दिनमा तीन दिन बजार घट्दा अन्य सबै दिन परिसूचक बढेको छ।
पछिल्लो केही दिनयता नेप्सेले पटकपटक २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। यही कारण पनि बजारले स्पष्ट दिशा समात्न सकेको छैन।
तिहारअघि बजारले स्पष्ट प्रवृत्ति देखाउने सम्भावना कम रहेको ब्रोकरहरू बताउँछन्। बजारमा स्पष्ट प्रवृत्ति नदेखिँदा सामान्य लगानीकर्ताहरूको स्वाभाविक चासो हुन्छ, बजारमा अहिले सेयर किन्ने क्रम धेरै छ कि बेच्ने?
बजारमा पैसाको प्रवाह नाप्ने विभिन्न प्राविधिक विश्लेषणका औजारले यसको अनुमान लगाउन सकिन्छ।
अहिले सेयर बजारमा पछिल्लो समय कारोबार र मूल्यको उतारचढाव सुस्त देखिए पनि बजारभित्रको खरिद र बिक्रीको अवस्था भने तुलनात्मक रूपमा सकारात्मक देखिएको छ।
प्राविधिक विश्लेषणका औजार मनी फ्लो इन्डेक्स र एक्युमुलेसन तथा डिस्ट्रिब्युसन (एडी लाइन) ले पछिल्लो समय बजारमा बिक्रीभन्दा खरिद चाप नै धेरै रहेको संकेत गरेका छन्।
नेप्सेको मनी फ्लो इन्डेक्स (एमएफआई) पछिल्ला चार कारोबार दिनमा क्रमशः ८४, ७८, ६९ र ७४ छ।
यसले बजारमा पैसाको प्रवाह र सेयरको मूल्य तथा कारोबार परिमाणबीचको सम्बन्ध देखाउँछ।
एमएफआई सूचक ० देखि १०० सम्म मानेर मापन गरिन्छ। यो मापनमा बजार परिसूचक ८० भन्दा माथि रहे सेयर खरिद चाप बढी भएको मानिन्छ। र २० भन्दा तल रहे बिक्री चाप बढी रहेको मानिन्छ। भने, २० देखि ८० सम्ममा रहँदा खरिदबिक्री सन्तुलित नै भएको विश्लेषण गरिन्छ।
० देखि १०० सम्मको स्केलमा पनि एमएफआई सूचक घट्दो क्रममा छ कि बढ्ने क्रममा भन्ने कुराले बजारमा पैसाको प्रवाह के भइरहेको छ भनेर बुझ्न सहयोग गर्छ।
यो चार दिनको तथ्यांक हेर्दा एमएफआई सुरुमा ८४ थियो। त्यसपछि घट्दै ६९ मा झरेको एमएफआई पछिल्लो दिन ७४ मा पुगेको छ। यसले खरिद चाप केही कमजोर भए पनि यसमा सुधार हुन थालेको देखाउँछ।
यो सूचक अझै ५० भन्दा माथि रहेकाले बजारमा खरिद नै तुलनात्मक रूपमा बलियो रहेको बुझ्न सकिन्छ।
यसले बजार तत्कालै बढ्छ भन्ने सुनिश्चित भने गर्दैन। यी चार दिनमा एमएफआई ८४ बाट घटेर ६९ सम्म आएकोले पनि पहिले जस्तो आक्रामक खरिददारी भने नभएको मान्न सकिन्छ।
त्यस्तै, पछिल्लो १० कारोबार दिनको एक्युमुलेसन (सञ्चय) र डिस्ट्रिब्युसन (वितरण) लाइन (एडी लाइन) ले पनि बजारमा खरिद चाप नै धेरै भएको देखाउँछ।
बजारमा लगानीकर्ताले सेयर सञ्चय गरिरहेका छन् भन्ने कुरा एक्युमुलेसनले देखाउँछ। बिक्री बढिरहेको संकेत डिस्ट्रिब्युसनले देखाउँछ।
यो १० दिनको अवधिमा एक्युमुलेसन ७ करोड ३४ लाख छ भने २ करोड २५ लाख डिस्ट्रिब्युसन भएको छ। यसरी हेर्दा वितरणभन्दा सञ्चय ५ करोड ३६ लाखले धेरै छ।
एक्युमुलेसन र डिस्ट्रिब्युसनले देखाएको मानकै दरमा रकम भित्रिएको वा बाहिरिएको भने होइन। तर, बजारमा पैसा आइरहेको छ कि गइरहेको छ भनेर यसले संकेत गर्छ।
आगामी दिनमा माथि उल्लेख गरिएका दुई सूचक निरन्तर सकारात्मक रहन्छन् वा रहँदैनन् भन्ने कुराले बजारको आगामी प्रवृत्ति बुझ्न थप सहयोग पुग्न सक्छ।
नोट : यो सामग्री लगानीकर्तालाई सेयर किनबेच गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मात्रै तयार गरिएको हो। यही सामग्रीका आधारमा भन्दा पनि लगानीकर्ताहरूले स्वअध्ययन र स्वविवेकले लगानी रणनीति बनाउनु सही हुन्छ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी शेयर बजार र बैंक र लगानीका बिषयमा उनी रुची राख्छन् ।