भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।
काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यबाहक दिवाभोजसहित हुने वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको समीक्षा तथा सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।
मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि उनी नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।
प्रधानमन्त्री शाहसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला मिस्री नेपाल आउन लागेका हुन् । शाहको भारत भ्रमण यसै महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ । दुवै देशले आन्तरिक तयारी अघि बढाए पनि भ्रमणको मिति भने औपचारिक रूपमा सार्वजनिक भएको छैन ।
सन् २०२४ जुलाईमा भारतीय विदेश सचिव नियुक्त भएपछि मिस्रीको यो दोस्रो नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयले भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल हुने जनाएको छ ।
नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर र मैत्रीपूर्ण भन्दै भारतीय विदेश मन्त्रालयले विभिन्न क्षेत्रमा सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ । मिस्रीको भ्रमणले दुवै देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै द्विपक्षीय साझेदारी थप सुदृढ बनाउने मन्त्रालयको भनाइ छ ।
प्रधानमन्त्री शाह पदभार सम्हालेपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा आएका मिस्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
यसअघि मिस्रीको नेपाल भ्रमण गत मे महिनामा तय भएको थियो । तर, भ्रमणको प्रोटोकलसम्बन्धी मतभेद र प्रधानमन्त्री शाहले भारतीय विदेश सचिवसँग भेट गर्न अनिच्छा देखाएको विषय सार्वजनिक भएपछि भ्रमण स्थगित भएको थियो । त्यतिबेला लिपुलेक सीमा विवादलाई लिएर पनि नेपाल–भारतबीच तनाव बढेको थियो ।
गत मे महिनाको पहिलो साता भारतले नेपालको दाबी रहेको लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजना अघि बढाएपछि नेपालले आपत्ति जनाएको थियो । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने लिपुलेकलाई नेपालले आफ्नो भूभाग दाबी गर्दै आएको छ ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।