तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन थ्रीमा लुम्बिनी लायन्सले दोस्रो जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो। ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ५० बल बाँकी छँदै पूरा गर्यो । ओपनर आसिफ शेख ७ रनमा रनआउट भए भने डार्सी सर्टले १३ रन बनाए। त्यसपछि कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले अविजित ७७ रनको साझेदारी गर्दै लुम्बिनीलाई जित दिलाए। रोहित ४७ र डिकवेला २७ रनमा नटआउट रहे। पोखराका लागि विपिन खत्रीले एक मात्र विकेट लिए। पोखराबाट विपिन खत्रीले १ विकेट लिए ।
टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले पोखरालाई २० ओभरमा ९ विकेट गुमाएर ९७ रनमा सीमित गरेको थियो। पहिलो जितको खोजीमा रहेको पोखरा आफ्नो तेस्रो खेलमा पनि खराब ब्याटिङको सिकार भयो। पूरै इनिङ्स दबाबमा देखिएको पोखराले कुनै पनि समयमा खेलमा आफ्नो पकड बनाउन सकेन। सुरुआती दुई खेल बेन्चमा बसेका अर्जुन कुमाल इनिङ्सको दोस्रो बलमै ट्रम्पलमनबाट क्लिन बोल्ड भए। पावर प्लेमा २ विकेट गुमाएर पोखराले २३ रन मात्र जोड्न सक्यो। विपिन आचार्यलाई शेर मल्लले ७ रनमा फलो थ्रुमा समाते। कप्तान कुशल भुर्तेलमाथि इनिङ्स सम्हाल्ने जिम्मेवारी थियो। तर खराब सट सेलेक्सनको सिकार बनेका कुशललाई १४ रन बनाएको अवस्थामा ट्रम्पलमनले क्याच आउट गराए। अघिल्ला खेलमा पनि स्टार्ट पाउँदा त्यसलाई ठूलो इनिङ्समा बदल्न नसकेका कुशल यस खेलमा पनि सफल हुन सकेनन्।
शकिब अल हसनको ३ रनको इनिङ्समा लुम्बिनीका कप्तान रोहित पौडेलले ब्रेक लगाए। पोखराले ५० रन पूरा गर्न ८८ बल खर्चिएको थियो।माहेदी हसन र अर्जुन घर्तीबीच भएको १९ रनको साझेदारी पोखराका लागि दोस्रो ठूलो साझेदारी बन्यो। तर माहेदीले १३, अर्जुनले ६ र किरण ठगुन्नाले १२ रन मात्र बनाउन सके। नवौँ विकेटका लागि चमिका करुणारत्ने र विपिन खत्रीले २१ रनको साझेदारी गरे। यही साझेदारी पोखराका लागि सबैभन्दा ठूलो बन्यो। चमिका सर्वाधिक २५ रन बनाएर रनआउट भए। विपिन खत्री ६ र आकाश चन्द १ रनमा नटआउट रहे। पोखराका ब्याटरलाई खुलेर खेल्न नदिएको लुम्बिनीका लागि ट्रम्पलमनले ३ तथा तिलक राज भण्डारीले २ विकेट लिए। किशोर महतो, कप्तान रोहित पौडेल र अभिशेष गौतमले १–१ विकेट हात पारे। जितसँगै लुम्बिनी ३ खेलमा ५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी लिगमा ऊ एक मात्र अपराजित टोली हो। पोखराले भने पहिलो जितका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ। ३ खेलमा जितविहीन पोखरा अंक तालिकाको पुछारमा छ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।