१७ कात्तिक, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को काठमाडौंमा सम्पन्न साधारण सभामा ८ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई चुलीको मान्यता दिन प्रस्ताव गर्यो ।JHJH
विभिन्न ४५ देशका प्रतिनिधि सहभागी सभामा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मि.), कञ्चनजङ्घा मध्य (८,४७३ मि.), ल्होत्से मध्य (८,४१० मि.), ल्होत्से शार (८,४००) र यालुङ काङ पश्चिम (८,०७७ मि.)ले मान्यता पाउनु पर्ने प्रस्ताव राखेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए ।
विश्वमा ८ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण गरी ८ वटा शिखर नेपालमा छन् ।
चीन (तिब्बत)को सिसापाङ्ग्, पाकिस्तानको केटु, गाशरब्रुम प्रथम, ब्रोड पिक, गाशरब्रुम द्वितिया र नाङ्गा पर्वतले ८ हजार मिटरभन्दा अग्ला शिखरको मान्यता पाएका छन् ।
पाकिस्तानमा ८ हजार मिटर भन्दा अग्लो ब्रोड पिक पूर्व पनि छ । तर पाकिस्तानले मान्यताका पाउन पहल नगरेको जानकारहरू बताउँछन् ।
सन् १९८६ मा राइनहोल्ड मेसनरले पहिलो पटक आरोहण गरेका ती १४ हिमाललाई युआईएएबाट ८ हजार मिटरभन्दा अग्ला शिखरको मान्यता प्राप्त छ ।
नेपालले भने थप ६ वटा शिखरलाई मान्यता दिइसकेको देखिन्छ ।
प्रस्तावित ती हिमालहरूमा समेत आरोहणका लागि नेपाल सरकारले अनुमति दिँदै आएको छ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने भन्छन्, ‘हामीले नेपालका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाललाई मान्यता दिएर आरोहण अनुमति र प्रमाणपत्र समेत दिइरहेका छौं ।’
नेपालले थप ६ वटा हिमालको प्रस्ताव युआईएएमा पहिलो पटक राखेको भने होइन । दुई दशक पहिले नै यो प्रस्ताव यूआईएएमा पुगिसकेको जानकारहरू बताउँछन् ।
एनएमएका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा २००५ मा हङकङमा सम्पन्न युआईएएको साधारण सभामा आफूले यो विषय उठाएको स्मरण गर्छन् ।
सन् २०१३ को मे पहिलो साता इटलीमा बसेको युआईएएको व्यवस्थापन समितिको बैठकमा ६ वटा हिमाल चुलीलाई छुट्टै चुलीको मान्यता दिनुपर्ने प्रस्ताव अघि बढेको थियो ।
त्यही वर्षको अक्टोबरमा स्विट्जरल्याडमा सम्पन्न युआईएएको साधारण सभामा यो विषय उठे पनि निर्णय हुन सकेन ।
नेपाल युआईएएको साधारण सभामा सन् २०१४ मा सगरमाथामा भएको आरोहीबीचको विवाद र २०१५ मा गोर्खा भूकम्पपछि सगरमाथा र लाङटाङमा आएको हिमपहिरोमा केन्द्रित हुनु परेको शेर्पा बताउँछन् ।
नेपाल पर्वतारोहण संघ लगायतले थप हिमालका विषय उठाउँदै आए पनि युआईएए ‘परम्परागत’ १४ वटा हिमालमै अडिग देखिन्छ ।
यद्यपि नेपाल सरकार प्रशासनिक वा अन्य कारणले थप शिखरलाई मान्यता दिने निर्णय गर्न पूर्णत: अधिकार सम्पन्न भएको युआईएएको माउन्टेनेरिङ कमिसन ले २०२३ मा उल्लेख गरेको थियो ।
‘८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या परम्परागत १४ वटा शिखरका रुपमा नै मान्यता दिनुपर्छ भन्ने युआईएएको धारणा छ,’ युआईएए माउन्टेनेरिङ कमिसनको तीन वर्ष पहिलेको निचोड थियो ।
कात्तिक दोस्रो साता काठमाडौंमा सम्पन्न साधारण सभापछि युआईएएका पदाधिकारीहरू ती शिखरहरूलाई मान्यता दिने विषयमा सकारात्मक हुने विश्वास आफूले लिएको एनएमएका अध्यक्ष शेर्पा बताउँछन् ।
‘यसअघि यो विषय युआईएएलाई मौखिक रुपमा जानकारी गराउँदै आएका थियौं । यसपटक लिखित रुपमै हाम्रो प्रस्ताव राखेका छौं,’ अध्यक्ष शेर्पाले भन्छन्, ‘अध्ययन समितिले तयार पारेको प्रतिवेदन साधारण सभामा प्रस्तुत गर्यौं । युआईएएले यो विषयलाई सकारात्मक रुपमा लिन्छ भन्नेमा विश्वस्त छौं ।’
अध्यक्ष शेर्पाले युआईएएका अधिकारीहरूले प्रस्ताव माउन्टेनेरिङ कमिसनमा राख्न सुझाएको अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘लामो र झन्झटिलो भए पनि तपाईंहरू ब्यूरोक्याटिक प्रक्रियाबाटै गुज्रनु पर्ने हुन्छ भनेका छन् ।’
युआईएएको आगामी साधारण सभामा २०२७ अक्टोबरमा चिलीमा हुँदैछ । त्यतिबेलासम्म यो विषयमा ब्रेक थ्रु हुन सक्ने युआईएका सात विज्ञ सदस्य मध्येका एक आङछिरिङ शेर्पा बताउँछन् ।
एनएमएका पूर्वअध्यक्ष समेत रहेका शेर्पा भन्छन्, ‘थप ६ वटा हिमालको क्राइटेरिया सम्बन्धी दस्तावेज बुझाएका छौं । युआईएएले अर्को वर्षसम्ममा निर्णय लिन सक्छ ।’
युआईएए माउन्टेनेरिङ कमिसनले एनएमए र नेपाल सरकारले भने जस्तै ६ वटा शिखर थपिँदा ‘८ हजार मिटर अग्ला हिमाल’ आरोहण अभियानमै उल्लेखनीय परिर्वतन ल्याउन सक्ने उल्लेख गरेको छ ।
तर पर्वतारोहण समुदायमा यो विषयमा बहस हुन थालेको दुई दशकभन्दा बढी भइसक्दा पनि ती हिमालहरूले छुट्टै शिखरको मान्यता किन पाएका छैनन् ? यसको सरल र एउटै जवाफ छैन ।
युआईएएसँग ‘हिमाल’, ‘शिखर’, ‘चुली’, ‘टुप्पा’, ‘बिन्दु’ वा ‘चुचुरो’ सम्बन्धी स्पष्ट परिभाषा नहुँदा र नेपाल सरकारले निरन्तर फलो अप गर्न नसक्दा नेपाल मात्र होइन विश्व समुदायले लाभ पाउने निर्णय हुन नसकेको जानकारहरू बताउँछन् ।
उनीहरूका अनुसार १४ वटा हिमाल आरोहण गरिसकेकाहरू खुलेरै ८ हजार मिटर अग्ला थप हिमाललाई मान्यता दिनै नहुने पक्षमा लागेका छन् ।
तर क्लासिक १४ वटा हिमाल आरोहणको रेकर्डलाई सम्मान गर्दै थप शिखरको विषय अगाडि बढ्नु पर्ने नेपाल पक्षको भनाइ छ । साधारण सभामा नेपाल सरकारका पूर्व सचिव मधुसुदन अधिकारीले नेतृत्व गरेको समितिको प्रतिवेदन प्रस्तुत गरेको थियो ।
समितिमा सगरमाथाको उचाइ नाप्ने टोलीको नेतृत्व गरेका नापी विभागका उपसचिव खिमलाल गौतम, नेपाल जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा, आरोहण सम्बन्धी अनुसन्धाताद्वय अनिश दाहाल र थानेश्वर गुरागाईं सदस्य छन् ।
युआईएएले स्थलकृतिक विवरण, ऐतिहासिक तथ्य, स्थानीय समुदायको हित, नेपाल सरकारको चासो, सम्बन्धित हिमालका सांस्कृतिक–आध्यामिक पक्ष, ४ हजार मिटरभन्दा अग्ला आल्प्सका हिमाल वर्गीकरणको पूर्वअनुभवको आधारमा हिमालको वर्गीकरण गर्दै आएको छ ।
जियोमेटिक्स इन्जिनियरिङ सोसाइटीका अध्यक्ष महेश थापा नेपालले प्रस्ताव गरेका ६ वटै शिखर मान्यता पाउनका लागि योग्य रहेको बताउँछन् ।
पर्वतीय प्रमुखता (प्रोमिनेन्स), पर्वतीय पृथकता (आइसोलेसन) र डोमेनेन्स(प्रोमिनेन्स र समुन्द्री सतहदेखि शिखरसम्मकाे उचाइकाे अनुपात) हेर्दा पनि मान्यता नदिनु पर्ने कारण आफूले नदेखेको थापाको धारणा छ ।
आरोहणकै कुरा गर्दा ८ हजार ७७ मिटरको यालुङ काङ पश्चिम बाहेक पाँच वटै शिखर आरोहीले चुमिसकेका छन् ।
स्वीट्जरल्यान्डमा बसोबास गर्दै आएका बेलायती आरोही तथा लेखक एडवर्ड मोर्गनले आफ्नो एउटा लेखमा ६ वटै शिखरले पर्वतारोहणका क्रममा छुट्टै आरोहण लक्ष्यका रुपमा समावेश गर्न पर्याप्त भौगोलिक स्वतन्त्रता राख्ने उल्लेख गरेका छन् ।
अंग्रेजी साप्ताहिक नेपालीटाइम्स मा उनले लेखेका छन्, ‘थप पहिचान गरिएका ६ वटा हिमालको प्रोमिनेन्स र भौगोलिक अलगाव फरक फरक छ । यालुङ काङको प्रोमिनेन्स १३५ मिटर रहेकाले यसलाई छुट्टै शिखर मान्ने सबैभन्दा बलियो आधार रहेको छ ।’
त्यस्तै, बाँकी हिमालहरूको प्रोमिनेन्स कञ्चनजङ्घा दक्षिणको ११६ मिटर, कञ्चनजङ्घा मध्यको ६३ मिटर, ल्होत्से शारको ७२, ल्होत्से मध्यको ६५ र यालुङ काङ पश्चिमको करिब ४० मिटर रहेको दुई पटक सगरमाथा आरोहण गरिसकेका नापी विभागका उपसचिव खिमलाल गौतमले जानकारी दिए ।
‘पन्ध्रौं चुली’ पुस्तकका लेखक समेत रहेका गौतम शिखर, चुली वा हिमाल सम्बन्धी विश्वव्यापी रुपमा स्वीकार्य एउटै परिभाषा नहुँदा त्यसको मारमा नेपाल परेको बताउँछन् ।
पर्यटन विभागका महानिर्देशक लामिछाने पर्वतारोहणमा अग्रणी देशले ती हिमालहरूको मान्यताका लागि तीन वटा विषयमा जोडदिनुपर्ने पर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपालले निरन्तर फलोअप, वैज्ञानिक अनुसन्धान र डेटा भेरिफिकेसनमा तीव्रता दिनु पर्ने देख्छु ।’
गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।