मंगलबार बिहान पौने ३ बजेतिर विद्युत् सर्ट भएर स्थानीय जनकलाल राईको घरमा आगलागी भएको थियो ।
पाँचथर — जिल्ला सदरमुकाम फिदिममा मंगलबार बिहान भएको आगलागीमा ८ लाख ७५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर स्थानीय जनकलाल राईको घरमा बिहान पौने ३ बजेतिर आगलागी सुरु भएको थियो ।
आगलागीमा राईको तीनतले पक्की घरको माथिल्लो तलामा रहेको भान्सासहित त्यहाँ रहेका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताए ।
सबैभन्दा धेरै काठपात र भाँडावर्तन जलेका छन् । यहाँ ४ लाख बराबरका चाँपका काठ, तामा र काँसका भाँडा वर्तन, खाद्यान्न, नगद २८ हजार रुपैयाँ र अन्य महत्वपूर्ण सामाग्री जलेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले दिउँसो क्षतिको विवरण संकलन गरेको हो ।
आगलागीमा ग्यास सिलिण्डर समेत विष्फोट भएको थियो । आगो स्थानीय, प्रहरी र दमकलको प्रयासमा बिहान ४ बजे नियन्त्रणमा आएको थियो । स्थानीय प्रहरी र दमकलको प्रयासले घरमा थप आगो फैलन पाएन ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।