Trending
Prev Story
Next Story

अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने

Ekantipur •
November 02, 2026 • 05:32 PM
1
1 reads 0 reactions

सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ ।

अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने

सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ ।

काठमाडौँ — सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने गरी सरकारले बोलपत्र खोल्ने भएको छ । यसअघि बिटुमिन (अलकत्रा) ले सडक निर्माण गर्ने गरिएकामा गत ३० असोजमा सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका २०८३ संशोधन गरेको थियो । त्यसपछि सिमेन्टबाट मात्रै सडक निर्माण गर्ने गरी बोलपत्र आह्वान गर्न लागेको पूर्वाधार मन्त्रालयले जनाएको छ ।

अब सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने मन्त्रालयले बताएको छ । सरकारले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका २०८३ संशोधन गर्दै प्राविधिक रूपमा सम्भव देखिएका स्थानमा सिमेन्ट प्रयोग गरेर सडक निर्माण गर्ने योजना अघि सारेको हो । हुन त यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा आन्तरिक सिमेन्ट उद्योगको खपत बढाउन पक्की सडक बनाउँदा ढलान गर्ने र त्यसले बिटुमिनको आयात घटाउने व्यवस्था गरिएको थियो । तर यसलाई कार्यान्वयनमा ल्याउन भने सरकारले खास काम गरेन । अहिले भने सरकारले निर्देशिका नै जारी गरेर सडकमा सिमेन्टको खपत बढाउन खोजेको छ ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता उमेश बिन्दु श्रेष्ठका अनुसार प्राविधिक रूपमा सम्भव र आवश्यक देखिएका स्थानमा सिमेन्टको सडक निर्माण गरिनेछ । विशेषगरी पहाडी भूभागका उकालो, घुमाउरो र ओसिलो स्थानमा यस्ता सडकलाई प्राथमिकतामा राखिनेछ । अस्फाल्ड पिच अर्थात् बिटुमिन प्रयोग गरेर बनाउने सडकभन्दा यो महँगो हुने भएकाले सबै ठाउँमा अहिले नै यो सडक निर्माण गर्न नसकिने मन्त्रालयको भनाइ छ । तर बिटुमिन प्रयोग गरेका सडक छिट्टै बिग्रने सम्भावना भएका स्थानमा ढलान गर्दा लामो समय टिकाउ हुने देखिए सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता श्रेष्ठ बताउँछन् ।

‘सबै अब कालोपत्रेको सट्टा सिमेन्ट कंक्रिटको सडक बन्ने होइन तर स्वदेशमै पाउने वस्तु सामग्रीहरू उपलब्ध भएको हदसम्म, टेक्निकल्ली जस्टिफाइड भएर प्रयोग गर्न मिल्ने हदसम्म गुणस्तरीय सामान पाइन्छ भने स्वदेशी उत्पादन प्रयोग गर्ने भनेको हो,’ श्रेष्ठले भने, ‘तर हाम्रो जस्तो विकासोन्मुख देशहरूलाई धेरै सडक निर्माण गर्नुपर्ने आवश्यकता तर बजेट कम हुने हुँदा महँगो सडक मात्रै सबै स्थानमा निर्माण गर्न नसकिने पनि मन्त्रालयको बुझाइ छ ।’

छिमेकी मुलुक भारतमा धेरै सवारीसाधनको आवतजावत हुने सडकमा पूरै सिमेन्टको सडक बनाउने गरिएको छ । सिमेन्टको सडकमाथि गाडी गुडाउन सहज गराउनका लागि बिटुमिनको लेयर प्रयोग गर्ने गरिएको छ । नेपाल सरकारले भने अहिले पहाडी भूभागसँगै माटो कमजोर भएका कारण धेरै दब्ने समस्या भएका सडकमा र हेभी लोडेड गाडीहरू गुड्दा धेरै बिग्रने गरेका सडकमा सिमेन्ट प्रयोग गर्ने योजना बनाएको छ ।

बिटुमिनभन्दा सिमेन्टको सडक कति महँगो ?

नेपाल निर्माण व्यवसायी महासंघले उपलब्ध गराएको लागतसम्बन्धी जानकारीअनुसार बिटुमिन प्रयोग गरेर ५.५ मिटर चौडा एक किलोमिटर अस्फाल्ट पिच सडक बनाउन १ करोड ७६ लाख ८७ हजार ८ सय ५० रुपैयाँ पर्छ । र, योभन्दा अझ कम गुणस्तरको यति नै सडक डबल बिटुमिन सर्फेस ट्रिटमेन्टको बनाउन १ करोड ५ लाख ६५ हजार २ सय २७ रुपैयाँ पर्छ । र, ५.५ मिटर चौडा एक किलोमिटर सिमेन्टको प्रयोग गरेर कंक्रिट सडक बनाउने हो भने यसको लागत ३ करोड ४ लाख ९४ हजार ९ सय ५६ रुपैयाँ पर्छ ।

अर्थात् एक किलोमिटर सडक बनाउन अस्फाल्ट पिच सडकभन्दा कंक्रिट सडक १ करोड २८ लाख महँगो पर्छ । अर्थात् यो भनेको अस्फाल्ड सडकभन्दा कंक्रिट सडक ७२ प्रतिशत महँगो हुन्छ । बिटुमिनको सडकमा ६ वटा तह हुन्छन् भने कंक्रिट सडकमा ४ वटा । सबैभन्दा मुनिको तह सबग्रेड बनाउन र त्योभन्दा माथिको सबबेस बनाउन लागत एकै पर्छ । तर त्यो माथिको लेयर बनाउन अस्फाल्टमा एक किलोमिटरका लागि १ करोड ३६ लाख पर्छ भने कंक्रिट सडक २ करोड ६४ लाख रुपैयाँ पर्छ ।

लागत बढी परे पनि स्वदेशी वस्तु प्रयोग हुने र टिकाउ हुने र मर्मत खर्चसमेत कम हुने भएकाले यसमा प्राथमिकता दिनुपर्ने निर्माण व्यवसायीको भनाइ छ । तर सिमेन्टको मूल्य अझै कम गर्ने हो भने यसको लागत घटाउन सकिने निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे बताउँछन् । ‘अलिक बढी उकालो, ओरालो र ओसिलो ठाउँ जहाँ बिटुमिन राम्रोसँग बस्दैन र घुम्तीमा ब्रेक लगाउन पर्ने सडकमा अहिले पनि कंक्रिट सडक बनाएको अनुभव छ, त्यस्ता कंक्रिट सडक लामो समय नबिग्रने देखेका छौं, स्वदेशी वस्तु पनि प्रयोग हुने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्छ,’ पाण्डेले भने, ‘सिमेन्टको मूल्य कम गरियो भने अझै लागत घट्न सक्छ, सिमेन्टको डिमान्ड बढ्यो भने भाउ पनि घट्नुपर्ने सुनिश्चित गर्नु जरुरी छ ।’

नयाँ प्रविधिमा कंक्रिट सडक पनि बिटुमिनकै हाराहारीमा बनाउन सकिने विज्ञको दाबी

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा अहिले नेपालमा ढलान गरेर बनाइएका सडकमा फलामे डन्डी प्रयोग गरिएको छ । जसका कारण लागत बढी हुन आएको हो । निर्माण व्यवसायीहरूले पनि अहिले डन्डी प्रयोग गरिरहेको बताउँछन् । छिमेकी मुलुक भारतलगायत अन्य मुलुकले सिमेन्टमा बन्ने सडकको निर्देशिका नै बनाएका हुन्छन् । कम्प्रेसर मेसिनमार्फत कम पानीको प्रयोग गरेर यस्ता सडक बनाइने गरेको छ । सिमेन्टका साथै अन्य केमिकलसमेत प्रयोग गर्दा टिकाउ हुने र डन्डीको प्रयोग नहुँदा बिटुमिनकै लागतमा बनाउन सकिने विज्ञको दाबी छ ।

‘अहिले कंक्रिट सडकमा फलामे छड प्रयोग गरेको देखिन्छ, आवश्यक नपरेका स्थानमा पनि फलामे छड प्रयोग गर्नु भनेको यसको दुरुपयोग नै हो,’ थापाले भने, ‘अहिले त रोलर कम्प्याक्टेड कंक्रिट प्रविधिमा सडक बनाउने हो, जसमा छडको प्रयोग गर्नु पर्दैन, छड प्रयोग नगर्ने हो भने बिटुमिनकै सडकको लागतमा निर्माण हुन्छ ।’

सिमेन्टको सडक बनाउँदा उद्योगीलाई मात्रै लाभ कि मुलुकलाई पनि ?

आर्थिक वर्ष २०८१/८२ मा सडक पिच गर्न ११ अर्ब ४१ करोडको बिटुमिन आयात गरिएको थियो । गत वर्ष भने महँगो भएका कारण निर्माण व्यवसायीले बिटुमिन नै आयात कम गरेर विकासका काम रोकिए । यदि गत वर्ष पनि आर्थिक वर्ष २०८१/८२ कै परिमाणमा बिटुमिन आयात गरेको भए मुलुकबाट २० देखि २२ अर्बसम्म बाहिरिन सक्थ्यो । अघिल्लो वर्ष बिटुमिनको मूल्य प्रतिकिलो ७६ रुपैयाँ थियो भने गत वर्ष यो प्रतिकिलो १ सय ३२ देखि १ सय ६४ रुपैयाँसम्म पुगेको थियो ।

नेपालमा अहिले रहेका सिमेन्ट उद्योगबाट २ करोड ५० लाख मेट्रिक टन सिमेन्ट उत्पादन हुन्छ । तर खपत भने ८० लाख टन मात्रै हुन्छ । यदि सडकमा सिमेन्टको प्रयोग बढाइयो भने यो बढेर १ करोड ६० लाख टनसम्म हुन सक्छ । जसले गर्दा सिमेन्टको खपत बढ्ने र त्यसले सरकारको राजस्व मात्रै हैन, रोजगारी समेत बढ्छ । १० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी बढ्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनले भने, ‘एक बोरा सिमेन्ट कारोबार हुँदा त्यसबाट राज्यलाई २५ प्रतिशत कर प्राप्त हुन्छ, उद्योगीको कारोबार बढ्ने र प्रत्यक्ष मात्रै हैन, अप्रत्यक्षसमेत रोजगारी सिर्जना हुन्छ ।’

नेपालका सडकमा केही स्थानमा मात्रै यसअघि कंक्रिट गरेकाले पूरै सडक कति समय टिक्छ भन्ने अनुभव छैन । यसको टिकाउबारे उदाहरण दिन परे विज्ञदेखि सिमेन्ट उद्योगीले दिने उदाहरण हो, अमेरिकाको ओहिओमा १८९१ मा बनेको सडक । जहाँ अहिले पनि गाडी गुड्ने गरेका छन् । १ सय ३४ वर्ष पुरानो सडक अहिले पनि सञ्चालनमा रहेकाले नेपालमा पनि सिमेन्टको प्रयोग गरी सडक बनाउनुपर्ने सिमेन्ट उद्योगीले यसअघिदेखि माग राख्दै आएका छन् । नेपालमा भने २०५६ मा बनेको गोंगबु बसपार्क र यसमा गरिएको ढलान नै सबैभन्दा बढी सवारीसाधन गुड्ने स्थान रहेको सिमेन्ट उद्योगी बताउँछन् ।

सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2611