Trending
Prev Story
Next Story

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

Ekantipur •
November 02, 2026 • 06:32 AM
1
1 reads 0 reactions

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ।

ट्रयाक खुलेको २६ वर्षपछि सिंधुवा–आहाले चार किलोमिटर कालोपत्र हुँदै

धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने १२ किलोमिटर सडकमध्ये चार किलोमिटर खण्डका लागि ११ करोड ९ लाख रुपैयाँको ठेक्का लागेको छ।

धनकुटा — धनकुटाको सिंधुवाबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर जोड्ने सडकको ट्रयाक खुलेको २६ वर्षपछि बल्ल चार किलोमिटर खण्ड कालोपत्र हुने भएको छ। सिंधुवा–आहाले खण्ड कालोपत्रका लागि ठेक्का लागेर शिलान्याससमेत भएको छ। तर १२ किलोमिटर लामो सडकको बाँकी आठ किलोमिटर स्तरोन्नति र कालोपत्रे कहिले हुन्छ भन्ने अझै टुंगो छैन। वर्षौंदेखि अलपत्र सडकको चार किलोमिटर खण्ड शिलान्यास गर्न शनिबार कोशी प्रदेशका पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली सिंधुवा पुगे। तर स्थानीयले भने २६ वर्षदेखि अलपत्र सडकको सानो खण्ड शिलान्यास गर्न दुई मन्त्री नै पुग्नुलाई विकासप्रतिको प्रतिबद्धताभन्दा राजनीतिक जस लिने अवसर बनाएको टिप्पणी गरेका छन्।

सिंधुवा बजारबाट माङमाया खोला, निगाले हुँदै जितपुर जोड्ने यो सडक त्यस क्षेत्रका नागरिकको मुख्य आवागमन मार्ग हो। २०५६ सालतिर सिंधुवा–नाम्जाङ हुँदै माङमाया खोलासम्म ट्रयाक खोल्न सुरु गरिएको थियो। सगरमाथा दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएपछि केन्द्रका सञ्चालकहरूले व्यक्तिगत रूपमा रकम संकलन गरेर सडक खन्न थालेका थिए। तर ट्र्याक खुलेको साढे दुई दशक बितिसक्दा पनि सडक स्तरोन्नति हुन सकेको छैन।

छथर जोरपाटी गाउँपालिका–६, सिंधुवाका मेघराज गुरुङका अनुसार सडक निर्माणको काम सुरु भएदेखि नै स्थानीयले यसको स्तरोन्नति र कालोपत्रेको अपेक्षा गर्दै आएका छन्।

स्थानीय बलबहादुर खड्का भने सडकको यो अवस्थालाई राज्य संयन्त्रको बेवास्ताको परिणाम मान्छन्। पटकपटक आश्वासन पाए पनि काम अघि नबढेको उनको भनाइ छ। 'पहिले पनि धेरैपटक यो सडक बनिहाल्छ, कालोपत्रे भइहाल्छ भन्ने आश्वासन आयो। तर आजसम्म बनेन,' उनले भने, 'कालोपत्रेका लागि तयारी भइसक्दा पनि तोकिएकै समयमा काम हुन्छ कि हुँदैन भन्ने संशय छ। पहिले पनि यहाँका जनतालाई अल्मल्याइयो। काम नभएसम्म यसै भन्न सकिन्न।'

सडकको दुरवस्थाका कारण स्थानीयसँगै यातायात व्यवसायी र यात्रुले पनि सास्ती खेप्दै आएका छन्। सिंधुवा–जितपुर सडकमा विगत १० वर्षदेखि बस चलाउँदै आएका चालक सुरेश लिम्बु सडकको अवस्थाका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। 'कालोपत्रेको सुरुवात हुन लागेको बुझिएको छ। समयमै गुणस्तरीय काम भए हामी सबैलाई राम्रै हुन्थ्यो,' उनले भने।

सिंधुवा–आहालेको चार किलोमिटर सडक कालोपत्र गर्न गत वैशाखमै ११ करोड ९ लाख रुपैयाँमा यसुकी भानुमति जेभीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८५ जेठसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ। तर ठेक्का लागेको करिब छ महिना बितिसक्दा पनि निर्माण कम्पनीले काम सुरु गरेको छैन। शिलान्यासपछि भने निर्माणले गति लिने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा पूर्वाधार विकासमन्त्री आचार्यले ठेक्का लागेको सडकको काम समयमै सम्पन्न गर्ने र बाँकी आठ किलोमिटर सडकको काम पनि अघि बढाउने प्रतिबद्धता जनाए। 'पालिकाको केन्द्र जोड्ने सडक अहिलेसम्म कालोपत्रे भएको रहेनछ। यसलाई पूरा गर्न मन्त्रालय प्रतिबद्ध छ,' उनले भने, 'मैले पूर्वाधार विकास कार्यालयका साथीहरूलाई स्पष्ट निर्देशन दिएको छु। सुरु भएको काम समयभित्रै सकेर बाँकी जितपुरसम्मको कामका लागि पनि गृहकार्य सुरु गर्नुस् भनेको छु।'

मन्त्रीद्वयले सिंधुवा–आहालेको चार किलोमिटरबाहेक निगाले–जितपुरको करिब आठ किलोमिटर सडक स्तरोन्नतिको काम पनि तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन्। तर स्थानीय भने यसमा आश्वस्त हुन सकेका छैनन्।

महालक्ष्मी नगरपालिका–९ का लोकबहादुर नेपाल सडक बन्नेमा आशावादी भए पनि विगतका अनुभवले विश्वस्त हुन नसकेको बताउँछन्। नगरपालिकाको पुछारतिर बसोबास गर्ने नागरिकका लागि यो सडक अत्यन्तै महत्त्वपूर्ण भए पनि मर्मतसम्भार र स्तरोन्नति नहुँदा वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्नुपरेको उनको भनाइ छ।

'हामी पुछारतिर बस्नेका लागि यो सडक अति महत्त्वपूर्ण छ। तर मर्मतसम्भार र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ,' उनले भने, 'योपटक दुई जना मन्त्रीहरू आएर शिलान्यास गर्नुभएको छ। अब काम बन्छ भन्ने आशा छ। तर यो राजनीतिक फाइदाका लागि र जस लिने काम मात्रै नबनोस्।'

महालक्ष्मी नगरपालिका–मूर्तिढुंगाका लक्ष्मण काफ्ले पनि सडक कालोपत्र हुनेमा आशावादी छन्। तर चार किलोमिटर मात्रै कालोपत्र गरेर नागरिकले अपेक्षित सुविधा नपाउने उनको भनाइ छ। 'यतिका समय नभए पनि अब सडक बन्छ भन्नेमा छौँ। चार किलोमिटर मात्रै होइन, महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार हुँदै लेगुवाघाटसम्म यो सडक कालोपत्र हुन सके मात्रै यहाँका नागरिकले सुविधा पाउन सक्छन्,' उनले भने। सडक निर्माणका लागि राज्यलाई निरन्तर खबरदारी गरिरहने उनले बताए।

महालक्ष्मी नगरपालिका दूध तथा तरकारी उत्पादनका हिसाबले अग्रणी क्षेत्र मानिन्छ। तर सडकको कमजोर अवस्थाका कारण किसानले उत्पादन बजारसम्म पुर्‍याउन र सर्वसाधारणले आवतजावत गर्न वर्षौंदेखि कठिनाइ भोग्दै आएका छन्।

पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले ठेक्का लागेको काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न कार्यालय प्रतिबद्ध रहेको बताए। निर्माणका क्रममा आउने समस्या समाधान गर्दै निर्धारित अवधिमै काम सक्ने उनको भनाइ छ।

स्थानीयका अनुसार चार किलोमिटर सडक कालोपत्रे हुनु सकारात्मक सुरुवात भए पनि २६ वर्षदेखि अलपत्र १२ किलोमिटर सडकको समस्या यसले समाधान गर्दैन। पहिलो खण्डको काम समयमै सम्पन्न गर्नुका साथै बाँकी आठ किलोमिटरको स्तरोन्नति र कालोपत्रेका लागि बजेट तथा निर्माण प्रक्रिया सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

कालोपत्र उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने

१८ कात्तिक, खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधकोशीस्थित जयरामघाटदेखि …

#कालोपत्र #वर्षपछि
Compare →
Hamro Patro News
1w ago
जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत

जयराम-हलेसी सडक : कालोपत्र उप्किएको १६ वर्षपछि मर्मत

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्र उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ। दूधकोशीस्थ...

#कालोपत्र #वर्षपछि
Compare →

Related Stories

Politics & Governance
Build #2611