हुथीको हमलाका कारण साउदीका विमानस्थलबाट झन्डै आधा उडान रद्द, दमाम–काठमाडौं उडान ठप्प, अन्तर्राष्ट्रिय उडानमा अवरोधका कारण बिदा सकिन लागेका र एक्जिट भिसाको म्याद गुम्न लागेका श्रमिक चिन्तित
काठमाडौँ — साउदी अरबमा रहेका खोटाङका राजेश राई तीन वर्षपछि दसैं मनाउन घर फर्कंदै थिए । उनी कार्यरत कम्पनीले एक महिनाको बिदा दिइसकेको थियो । ‘एक्जिट–रि–एन्ट्री’ भिसा हातमा थियो । ११ अक्टोबर दिउँसो उड्ने गरी एयर अरेबियाको रियाद–सारजाह–काठमाडौंको टिकट काटिसकेका थिए । उडानको अघिल्लो दिन यमनका हुथी विद्रोहीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण गरे । १३ जनाको ज्यान गएको र तीन सयभन्दा बढी घाइते भएको त्यस घटनापछि विमानस्थल बन्द भयो ।
राईलाई साथीले फोन गरेर जेद्दाबाट उडान भइरहेको खबर सुनाए । त्यसपछि १३ घण्टा बस चढेर करिब एक हजार किलोमिटर टाढा जेद्दा पुगे । बस भाडा मात्रै ७ हजार रुपैयाँ लाग्यो । तर जेद्दाबाट पनि उडान भएन । उनी अहिले एक साथीको कोठामा बसिरहेका छन् । ‘न कम्पनीको क्याम्पमा छु, न घर पुग्न सकेको छु,’ उनले कान्तिपुरलाई फोनमा भने, ‘दसैं बित्यो । तिहार आउन लागिसक्यो । बिदा सकिन लागिसक्यो ।’
साउदी अरबबाट नेपाल फर्कन नपाउने राई एक्लो होइनन् । हुथी आक्रमण तीव्र भएपछि साउदीका विमानस्थलबाट ५ देखि २५ अक्टोबरसम्म निर्धारित उडानमध्ये करिब ४५ प्रतिशत रद्द भए । रियादमा यो दर ८६ प्रतिशत थियो । नेपाली श्रमिकले सबैभन्दा बढी प्रयोग गर्ने काठमाडौं–दमाम–काठमाडौं रुटमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका उडान ११ अक्टोबरदेखि ठप्प छन् ।
हालसम्म नेपालसँगका १८ वटा सिधा उडान रद्द भएका छन् । नेपाल एयरलाइन्सले सातामा एक पटक र हिमालय एयरलाइन्सले सातामा दुई पटक उडान गर्छन् । हिमालयले पछिल्लो समय ४ नोभेम्बरसम्म उडान रद्दको सूचना सार्वजनिक गरेको छ ।
साउदी अरबमा झन्डै चार लाख नेपाली कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार साउदीमा जान हरेक महिना नवीकरणसहित सरदर ७ हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । गत असोजमा भने ८ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
रियादस्थित नेपाली दूतावासका अनुसार उडान बन्दपछि करार अवधि समाप्त भएर फर्किन तयारी गरेकाहरू बढी दबाबमा परेका छन् । उनीहरूलाई तत्काल खाने र बस्ने व्यवस्था मिलाइदिन रोजगारदातालाई दूतावासले अनुरोध गरेको छ । दूतावासले स्वदेश फर्कन रोकिएकाको विवरण भने राखिसकेको छैन । ‘घर फिर्न नपाएका श्रमिकले कहाँ र कुन विमानस्थलबाट जाने भनेर सोधखोज गर्ने क्रम बढिरहेको छ,’ साउदीका लागि नेपाली श्रम काउन्सिलर कविराज उप्रेतीले भने, ‘यसमा हामीबाट हुन सक्ने सहजीकरण भइरहेको छ ।’
यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, बन्दरगाह र ऊर्जा पूर्वाधारलाई लक्ष्य गर्दै आक्रमण तीव्र पारेको छ । २६ अक्टोबरमा प्रकाशित रोयटर्सको रिपोर्टअनुसार उड्डयन तथ्यांक विश्लेषण गर्ने कम्पनी सिरियमले संकलन गरेको विवरणमा ८–२५ अक्टोबरमा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका निर्धारित ४ हजार ७ सय ३६ उडानमध्ये ४ हजार ७१ वटा अर्थात् करिब ८६ प्रतिशत उडान रद्द भएका थिए । दमाममा ४२ प्रतिशत र आबामा ४६.७ प्रतिशत उडान रद्द भएको विवरण छ ।
रियाद विमानस्थलमा आंशिक रूपमा उडान पुनः सुरु भए पनि त्यसबाट नियमित हवाई सेवा पुनःस्थापित भएको छैन । साउदीमा १८ अन्तर्राष्ट्रिय विमानस्थल छन् । साउदी राष्ट्रिय विमान कम्पनीका केही अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन थालेका छन्, तर विभिन्न विदेशी विमान कम्पनीले रियादका लागि सेवा स्थगन वा सीमित गरेका छन् । जेद्दा र दमाममा पनि केही उडान सञ्चालन भइरहेकै अवस्थामा रद्द तथा समय तालिका परिवर्तनको समस्या देखिएको छ ।
दमाममा कार्यरत इलामका महेन्द्र राईले उडान रद्द भएको सूचना बारम्बार आउँदा मानसिक तनाव बढिरहेको बताए । ‘विमान कम्पनीले टिकट रद्द भएपछि रकम फिर्ता लिने वा अर्को उडानमा सर्ने विकल्प स्पष्टसँग बताउँदैन । पैसा फिर्ता होइन, कुपन लिएर जाऊ भनिरहेको छ । रोजगारदाताले पनि टिकट रद्द भएको पुष्टि भएपछि मात्र वैकल्पिक व्यवस्था खोज्न भन्छ,’ उनले भने, ‘टिकटको मिति सरिरहँदा परिवारसँग भेट्ने समय धकेलिरहेको छ ।’
राईका अनुसार वैकल्पिक टिकट पाउन समस्या छ । ‘हामीले सिधा उडान नपाए कनेक्टिङ उडानमार्फत जाने हो । त्यसमा बढीजसो एयर अरेबिया, फ्लाई दुबई र भारती विमान हुन् । यिनीहरू कसैको पनि टिकट भेटिएको छैन,’ उनले भने, ‘टिकट पाइहाल्दा पनि एकतर्फीका लागि मात्रै एक लाख रुपैयाँसम्म तिर्नुपर्छ । यस्तो महँगो टिकट कहिल्यै थिएन ।’
साउदी अरब र नेपालबीचका ‘कनेक्टिङ’ उडान नै रद्द गरिएका छन् । इन्डिगोले साउदी अरबका रियाद, जेद्दा, दमाम र मदिनाका लागि हुने उडान १४ नोभेम्बरसम्म रद्द गरेको छ । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले रियाद र दमामका उडान ७ नोभेम्बरसम्म स्थगन गरेका छन् । इतिहाद एयरवेजले आबुधाबीबाट साउदी अरबका रियाद, दमाम र जेद्दाका लागि हुने केही उडान ५ नोभेम्बरसम्म रद्द गरेको छ । एयर अरेबियाले रियाद, दमाम, अब्हा र ताइफका केही उडान रद्द गरेको छ । कतार एयरवेजले रियाद र दमामका उडान स्थगित गर्नुका साथै जेद्दाका लागि हुने उडानको संख्या घटाएको छ ।
साउदीमा कार्यरत दिलीप बराइलीले टिकट काटेर घर जाने तयारी गरेका यात्रुलाई पटक–पटक उडान रद्दको सूचनाले अन्योलमा पारेको बताए । ‘विदेशमा पसिना बगाएर परिवारसँग चाडपर्व मनाउन नेपाल फर्किने आशामा बसेका नेपालीको भावनालाई सम्बन्धित निकायले बुझिदिनुपर्छ,’ उनले भने, ‘तर उडान हुनेभन्दा रद्द गरिएको मात्रै सूचना आइरहन्छ ।’
साउदीमा कार्यरत गणेश राईको २५ अक्टोबरमा नेपाल आउने हिमालय एयरलाइन्सको उडान रद्द भयो । त्यसपछि उनलाई ३० अक्टोबरका लागि अर्को टिकट दिइएको थियो । तर पुनः उडान रद्दको सूचना आएपछि उनी निराश छन् । टिकट काट्ने कम्पनीसँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने गरेको उनको गुनासो छ । ‘फोन गर्दा उठ्दैन । फोन गर्दागर्दै ब्यालेन्स सकिन्छ,’ उनले भने, ‘एयरलाइन्सको कार्यालयमा सम्पर्क नभएपछि विमानस्थल पुग्ने र त्यहाँबाट फर्किने अवस्था छ ।’ उनका अनुसार प्रत्येक पटक विमानस्थल पुगेर फर्किंदा यातायातमा करिब २ हजार रुपैयाँ खर्च हुन्छ ।
नेपाल एयरलाइन्सले यात्रुको सुरक्षालाई ध्यानमा राखेर साउदी अरबको उडान रद्द गरिएको जनाएको छ । ‘हामीले सुरक्षा दृष्टिकोणबाट उडान बन्द गरेको हो । यो हाम्रो कारणले होइन,’ एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले कान्तिपुरलाई भनिन्, ‘साउदीको स्थिति सहज हुनेबित्तिकै उडान सञ्चालन हुन्छ ।’
नेपाल एयरलाइन्सले ‘टिकट लिइसकेका यात्रुले भविष्यमा यात्रा तय गर्न चाहे टिकटको मिति निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको’ जनाएको छ । ‘टिकटको रकम फिर्ता लिन चाहनुभए पूरा रकमसमेत फिर्ता लिन सकिने व्यवस्था गरिएको छ,’ खड्काले भनिन् ।
हिमालय एयरलाइन्सले उडान रद्दमा आन्तरिक कारण नभई साउदीको हवाई सुरक्षासँग जोडिएको जनाएको छ । ‘हामी उडान यो मितिबाट हुन्छ भन्न सक्तैनौं,’ एयरलाइन्सका एक अधिकारीले भने, ‘यो साउदीको हवाई सुरक्षामा निर्भर छ ।’
साउदीको प्रमुख सहर दमाममा कार्यरत उमेश पाण्डेले नेपाल फर्किन १८ दिनदेखि पर्खिरहेको बताए । ‘साउदीबाट नसके सडक मार्ग हुँदै कतार वा बहराइन जान खोजेको छु । तर भिसा लगाउने प्रक्रिया नै थाहा पाएको छैन,’ उनले भने, ‘साउदीबाट बाहिर निस्कन एक्जिट भिसा चाहिन्छ । विमानस्थलको अध्यागमन बाहेक सीमानाकाको अध्यागमन प्रशासनले जान दिन्छ कि दिँदैन भन्ने जानकारी पनि पाइँदैन । हामीले कहिले पनि सडकबाट आउजाउ गरेका छैनौं ।’
यमनको सीमानजिकै रहेको नजरानस्थित क्षेत्रीय विमानस्थल पनि बन्द छ । नजरानमा कार्यरत झापाका हेमन्त थापालाई तिहारमा घर पुग्न नसकिने हो कि भन्ने चिन्ता छ । उनको टिकट रद्द भइसकेको छ । ‘नेपाल जान दमाम पुग्नुपर्छ । यहाँबाट दमाम १४ सय किमि टाढा पर्छ । गाडीमा जाँदा १७–१८ घण्टा लाग्छ,’ उनले भने, ‘दमामको विमानस्थल कतिखेर खुल्छ र चल्छ नै थाहा हुँदैन । एयरलाइन्सले उडान रद्द गरिरहेको छ । घर जानै एकदमै कठिन भयो ।’
थापाले दुई वर्षअघि नै यो पालि तिहारमा नेपाल पुग्ने योजना बनाएको बताए । उनको एक्जिट परमिटको म्याद नै समाप्त हुन लागेको छ । उनी कम्पनी छाडेर बसेका छन् । ‘६ महिना लगाएर एक्जिट परमिट लिएको थिएँ । यो नभएसम्म साउदी छोड्न पाइँदैन । यसको मिति नै समाप्त भएपछि फेरि एक्जिट परमिट लिनुपर्छ । त्यसका लागि दूतावास जानुपर्छ । अर्को तीन महिना लाग्छ,’ उनले भने, ‘यसको खर्च आफैं तिर्ने हो ।’
सरकारले उद्धारका लागि वैकल्पिक व्यवस्था गरिदिनुपर्ने नेपाली श्रमिकको माग छ । ‘हामी आपत्मा छौं । साउदीमा रहेका नेपाली कुवेत, कतार र बहराइनबाट उड्ने व्यवस्था सरकारले गरिदिनुपर्छ,’ साउदीमा कार्यरत शैलेस उपाध्यायले भने, ‘सबैभन्दा उचित विकल्प बहराइन हो । बहराइनबाट उड्ने व्यवस्था मिलाउनुपर्छ ।’
गैरआवासीय नेपाली संघ, साउदी अरबका अध्यक्ष बलराम थापाले बहराइनबाट उडान गर्ने व्यवस्था सरकारले तत्काल गर्नुपर्ने बताउँछन् । ‘दमामबाट बहराइन नजिकै पर्छ । यहाँबाट बस वा ट्याक्सीबाटै बहराइन पुग्न सक्छौं । आफैं सक्नेहरू बहराइन पुगेर नेपाल गइरहेका छन् । बोर्डरमा रोकिएको छैन,’ उनले भने, ‘सरकार वा सम्बन्धित एयरलाइन्सले दमामदेखि बहराइनसम्म लैजान बसको व्यवस्था गर्नुपर्छ । त्यहाँबाटै सिधा उडान गर्ने व्यवस्था सरकारले मिलाउनुपर्छ ।’
परराष्ट्र मन्त्रालयले साउदी अरबमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । ‘उडानको अवस्था र नेपाली नागरिकको सुविधाका सम्बन्धमा रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली कन्सुलेट जनरलले परिस्थितिलाई नजिकबाट नियालिरहेका छन् । उनीहरू नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेका छन्,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कान्तिपुरलाई भने, ‘नेपाली नागरिकको सहजता र सुरक्षालाई ध्यानमा राख्दै सरकारले आवश्यकताअनुसार उचित कदम चाल्नेछ ।’
होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।