Trending
Prev Story
Next Story

चर्चा र विवादमा आइरहने ल्यारी एलिसन

Ekantipur •
August 08, 2026 • 06:57 AM
1
1 reads 0 reactions

ओराकलको सेयर लगातार बढ्दा १० सेप्टेम्बर २०२५ मा छोटो समयका लागि ल्यारी एलिसन विश्वकै धनाढ्य व्यक्तिहरूको सूचीमा इलन मस्कलाई उछिन्दै पहिलो स्थानमा आएका थिए, ओराकलको सेयर ह्वात्तै बढ्दा उनको सम्पत्ति चार सय अर्ब डलर बराबर पुगेको थियो

चर्चा र विवादमा आइरहने ल्यारी एलिसन

ओराकलको सेयर लगातार बढ्दा १० सेप्टेम्बर २०२५ मा छोटो समयका लागि ल्यारी एलिसन विश्वकै धनाढ्य व्यक्तिहरूको सूचीमा इलन मस्कलाई उछिन्दै पहिलो स्थानमा आएका थिए, ओराकलको सेयर ह्वात्तै बढ्दा उनको सम्पत्ति चार सय अर्ब डलर बराबर पुगेको थियो

काठमाडौँ — बारम्बार चर्चा र विवादमा आइरहने व्यक्ति हुन्, ल्यारी एलिसन । उनले स्थापना गरेको सफ्टवेयर कम्पनी ओराकल कर्पोरेसन विश्वका धनी कम्पनीमध्ये एक हो । यसले विश्वका ठूला एआई निर्माताका लागि सफ्टवेयर तथा पूर्वाधार उपलब्ध गराउँछ । यस कम्पनीले सन् २०२५ मा एआईको विकासलाई सहयोग गर्ने गरी ५ सय अर्ब डलर लगानीमा अत्याधुनिक डेटा सेन्टर खोल्ने योजना सार्वजनिक गरेको थियो ।

अहिले विश्वका धनाढ्यहरूको सूचीमा रहेका एलिसनको बाल्यकाल भने निकै सकसपूर्ण थियो । सन् १९४४ अगस्ट १७ मा न्युयोर्कमा अविवाहित आमा फ्लोरेन्स स्पेगम्यानको कोखबाट जन्मिएका एलिसनलाई ९ महिनामै निमोनियाले सिकिस्त पारेको थियो । त्यति बेला आमा स्पेगम्यानले उनलाई सिकागो पठाइन्, जहाँ स्पेगम्यानकी बहिनी लिलियनले एलिसनलाई धर्मपुत्रका रूपमा अपनाइन् ।

बाल्यकालदेखि नै लिलियनसँग एलिसनको गहिरो आत्मीयता थियो । तर धर्मपिता लुइस एलिसनलाई ल्यारीले जीवनमा प्रगति गर्न सक्ने विश्वास नै थिएन । ल्यारीले १९६२ मा इलिनोइड विश्वविद्यालय, अर्बना–स्याम्पेनमा भर्ना भएर उच्च शिक्षाको सुरुवात गरे । तर लिलियनको निधन भएपछि सन् १९६४ मा उनले बीचमै पढाइ छाडे । त्यसको केही समयपछि सन् १९६६ मा उनले सिकागो विश्वविद्यालयमा पनि केही समय अध्ययनका लागि प्रयास गरे, तर पनि निरन्तरता दिन सकेनन् । एलिसनको क्षमतामा कुनै विश्वास नगरेका लुइसले उनको अध्ययन र व्यवसायमा सहयोग गर्न कुनै चासो देखाएनन् ।

परिवारको तिरस्कार र कडा आलोचनालाई नै आफ्नो प्रेरणाको स्रोत बनाउँदै एलिसन आफ्नो जीवनलाई नयाँ दिशा दिन क्यालिफोर्नियातिर लागे । १९७० को दशकमा केही वर्षसम्म उनले विभिन्न कम्पनीहरूमा कम्प्युटर प्रोग्रामरका रूपमा काम गरे । यो उनका लागि अनुभव र सीपलाई निखार्ने अवसर थियो ।

सन् १९७३ मा उनी एमप्लेक्स नामक प्रख्यात इलेक्ट्रोनिक्स कम्पनीमा आबद्ध भए । यहाँ उनले सहकर्मी प्रोग्रामर एड ओट्सलाई भेटे । प्रख्यात प्रविधिज्ञ बब माइनरको प्रत्यक्ष निगरानी तथा नेतृत्वमा उनीहरूले काम गरेका थिए । केही समयपछि उनीहरू तीनै जनाले मिलेर प्रविधि जगत्मा नयाँ काम गर्नेवाला थिए । सन् १९७६ मा एमप्लेक्स छाडेपछि एलिसन प्रिसिजन इन्स्ट्रुमेन्ट्समा प्रवेश गरे । त्यहाँ उनले अनुसन्धान तथा विकास विभागको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण र जिम्मेवार पद सम्हाले ।

सन् १९७७ मा एलिसनले माइनर र ओट्ससँग मिलेर सफ्टवेयर विकास ल्याब (एसडीएल) खोले । ल्यारी यसका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । यो ल्याबमार्फत उनीहरूले विभिन्न कम्पनीका लागि कन्ट्र्याक्टमा प्रोग्रामिङ गरिदिने काम गरे ।

एसडीएलमार्फत एलिसन धेरैभन्दा धेरै काम गर्न चाहन्थे । बेलायती कम्प्युटर वैज्ञानिक एड्गर एफ कोडले लेखेको अनुसन्धानपत्रमा आधारित रहेर उनीहरूले नयाँ प्रोग्राम बनाएर त्यसको मार्केटिङ गरे । यो प्रोग्राम कोडको डेटा–म्यानेजमेन्ट सिद्धान्तमा आधारित थियो । उनीहरूले डेटाबेस तयार गर्न अमेरिकी गुप्तचर निकाय (सीआईए) सँग सम्झौता गरे । त्यसपछि कमर्सियल रिलेसनल डेटाबेस कार्यक्रम सुरु गरे ।

सन् १९७९ मा यो एसडीएलले ओराकल सार्वजनिक गर्‍यो । यो बहुआयामिक डेटाबेस कार्यक्रम चाँडै नै लोकप्रिय भयो । संरचनात्मक क्वेरी भाषा (एसक्यूएल) प्रयोग गर्ने ओराकल पहिलो कमर्सियल रिलेसनल डेटाबेस कार्यक्रम थियो ।

सन् १९८२ मा एसडीएललाई ओराकल सिस्टम्स कर्पोरेसन नामकरण गरियो । सन् १९८६ मा यस कम्पनीले सार्वजनिक सेयर निष्कासन गर्‍यो । अर्को वर्ष यो कम्पनी विश्वकै सबैभन्दा ठूलो डेटाबेस म्यानेजमेन्ट कम्पनी बन्यो । यद्यपि सन् १९९० मा एक सेयरधनीले मुद्दा दायर गरेपछि सार्वजनिक भएको आन्तरिक अडिट प्रतिवेदनअनुसार ओराकलले आफ्नो आयलाई वास्तविकता भन्दा धेरै देखाएको खुलासा भयो । यसपछि कम्पनीको सेयर ह्वात्तै घट्यो । र, ल्यारीले कम्पनीलाई पुनःसंरचना गर्दै १९९२ सम्म फेरि राम्रो अवस्थामा ल्याए ।

१९९० को दशकको मध्यतिर कम्प्युटर सफ्टवेयरमा माइक्रोसफ्ट कर्पोरेसनको दबदबा थियो । ल्यारीले माइक्रोसफ्टको डेस्कटप पर्सनल कम्प्युटर (पीसी) लाई चुनौती दिने लक्ष्यले नेटवर्क कम्प्युटर (एनसी) सफ्टवेयर विकास गरे । डेटा तथा सफ्टवेयरका लागि कम्प्युटर सर्भरहरूको भर पर्ने यो प्रविधि तुलनात्मक रूपमा सस्तो थियो । तर माइक्रोसफ्टको स्ट्यान्डर्ड पीसी जस्तो पूर्ण र सुविधासम्पन्न थिएन ।

एकातर्फ मूल्य घटाएर पीसी सर्वसुलभ बन्दै गयो, अर्कोतर्फ एनसीको प्राविधिक विकास सोचे जसरी अघि बढ्न सकेन । त्यहीकारण माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टमको दबदबा कायमै रह्यो । तर कालान्तरमा एनसीले सुरु गरेको प्रविधि क्लाउड कम्प्युटिङ नामले प्रख्यात भयो । त्यस समय एनसी प्राविधिक रूपमा परिपक्व नभएकाले माइक्रोसफ्टलाई चुनौती दिने आफ्नो लक्ष्य पूरा नभएको ल्यारीले केही समयपछि स्विकारे ।

बिस्तारै इन्टरनेट दुनियाँमा ओराकलले विकास गरेका उत्पादनले सफलता हासिल गर्दै गए । सन् २००० ताका ल्यारीले प्रतिस्पर्धी सफ्टवेयर कम्पनी खरिद गर्न थाले, जसअनुसार २००५ मा पिपुलसफ्ट, २००६ मा साइबेल, २००८ मा बीएई र २०१० मा सन माइक्रोसिस्टम्सलाई खर्बौं डलर खर्चेर ओराकलले किन्यो । सन् २०१४ मा सीईओबाट राजीनामा गरेर ल्यारीले ओराकल कर्पोरेसनको कार्यकारी अध्यक्ष र मुख्य प्रविधि अधिकृतको जिम्मेवारी सम्हाले ।

सन् २०२० को दशकमा उच्च प्राविधिक विकासलाई ध्यानमा राखेर ओराकलले ठूलो परिमाणका क्लाउड पूर्वाधार निर्माण गर्न थाल्यो । एलिसनको निर्देशनमा कम्पनीले ओपनएआई, मेटा, एनभिडिया, सफ्टबैंक र एक्सएआईजस्ता एआई कम्पनीसँग सम्झौता गर्‍यो । यी सबै सम्झौताको कुल धनराशि ३ सय अर्ब अमेरिकी डलरभन्दा धेरै हुन आउँछ ।

सन् २०२५ मा ओराकलले ५ सय अर्ब डलरको डेटा सेन्टर बनाउने योजना अघि सार्‍यो । यसलाई स्टारगेट नाम दिइएको छ । यसले अग्रणी एआई विकासकर्ताहरूलाई कम्प्युटिङ क्षमता प्रदान गर्छ । २०२५ सेप्टेम्बरमा एकै दिन ओराकलको सेयर मूल्य ३८ प्रतिशतले बढेको थियो, जो सन् १९९२ यताकै सर्वाधिक ठूलो वृद्धि हो । विश्लेषकहरूले एआईको विकास हुँदै जाँदा यस कम्पनीको सेयर थप बढ्दै जाने आकलन गरेका छन् ।

परिवारको तिरस्कार र कडा आलोचनालाई नै आफ्नो प्रेरणाको स्रोत बनाउँदै एलिसन आफ्नो जीवनलाई नयाँ दिशा दिन क्यालिफोर्नियातिर लागे । १९७० को दशकमा केही वर्षसम्म उनले विभिन्न कम्पनीहरूमा कम्प्युटर प्रोग्रामरका रूपमा काम गरे । यो उनका लागि अनुभव र सीपलाई निखार्ने अवसर थियो । सन् १९९३ मा पहिलो पटक फोर्ब्सका खर्बपतिहरूको सूचीमा ल्यारीको नाम समेटिएको थियो । आज उनी फोर्ब्सले तयार गरेको विश्वका खर्बपतिहरूको सूचीमा सातौं स्थानमा छन् । उनको कुल सम्पत्ति १ सय ८१ अर्ब डलर आसपास रहेको फोर्ब्सको अनुमान छ । ओराकलको सेयर लगातार बढ्दा १० सेप्टेम्बर २०२५ मा छोटो समयका लागि उनी विश्वकै धनाढ्य व्यक्तिहरूको सूचीमा इलन मस्कलाई उछिन्दै पहिलो स्थानमा आएका थिए । ओराकलको सेयर ह्वात्तै बढ्दा उनको सम्पत्ति छोटो समयका लागि चार सय अर्ब डलर बराबर पुगेको थियो ।

सन् १९९० को दशकमा कम्पनीको आय गलत देखाएर सेयरधनीहरूलाई झुक्याएको विषय सार्वजनिक भएपछि ओराकलको सेयर ह्वात्तै घटेको थियो । सन् २००० मा प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टविरुद्ध सरकारको अनुसन्धान चलिरहँदा ओराकलले माइक्रोसफ्टको पक्षमा रहेका केही संस्थाका कमजोरी उजागर गर्न निजी जासुस लगाएको विषय बाहिरिएको थियो ।

ल्यारीले यसलाई स्विकार्दै कानुनी रूपमा यस्तो कदम अवैध नभएको दाबी गरेका थिए । सन् २००१ मा आफ्नो कम्पनीको १ अर्ब डलर बराबरको सेयर बेच्दा वास्तविक कारोबार लुकाइएको भन्दै सेयरधनीहरूले उनीविरुद्ध मुद्दासमेत हालेका थिए । लामो कानुनी लडाइँपछि ओराकलका तर्फबाट परोपकारी काममा करिब १० करोड डलर खर्चने सर्तसहित उनले मिलापत्र गरेका थिए ।

सन् २०१६ मा ओराकलले नेटसुइट कम्पनी खरिद गर्दा ल्यारीले आफ्नो स्वार्थका लागि महँगो मूल्य तिराएको भन्दै अन्य सेयरधनीहरूले मुद्दा हालेका थिए । यस मुद्दामा सन् २०२३ मा अदालतले ल्यारीलाई सफाइ दियो ।

कम्पनीमाथि प्रयोगकर्ताको स्वीकृतिबिना उनीहरूको व्यक्तिगत डेटा अन्यत्र बेचेको आरोप पनि लाग्यो । सन् २०२४ मा यस विषयमा मुद्दा परेपछि ओराकलले ११ करोड ५० लाख डलर तिरेर मिलापत्र गरेको थियो ।

ल्यारीले जीवनमा ६ पटक विवाह गरेका छन् । २२ वर्षको छँदा पहिलो विवाह गरेका ल्यारीले छैटौं पटक सन् २०२४ मा ८० वर्षको उमेरमा विवाह गरे । उनीकी पत्नी जोलिन झु उनीभन्दा ४७ वर्षले कान्छी छिन् ।

पूर्वपत्नी बारबरा बुथतर्फबाट उनका दुई सन्तान छन् । छोरा डेभिड एलिसन चर्चित फिल्म निर्माण कम्पनी स्काइडान्स मिडियाका संस्थापक तथा सीईओ हुन् । छोरी मेगन एलिसन ‘अन्नपूर्ण पिक्चर्स’ की संस्थापक हुन् । यस कम्पनीले धेरै चर्चित र ओस्कार विजेता चलचित्र निर्माण गरिसकेको छ ।

आफ्नो विलासी जीवनशैलीका कारण पनि ल्यारी चर्चामा आइरहन्छन् । हाइवाइल्यान्डको ‘लानाई’ टापुको अधिकांश भूभाग (९८ प्रतिशत) उनकै स्वामित्वमा छ । महँगा विलासी घर, अत्याधुनिक डुंगा, निजी विमान, एक्सपेन्सिभ कार र महँगा कलाकृति संकलन गर्ने ल्यारीको सोख छ ।

ल्यारी डुंगा चलाउन सौखिन छन् । उनले आफ्नै टिम ‘ओराकल टिम यूएसए’ बनाएर प्रतिष्ठित ‘अमेरिकाज कप’ डुंगा प्रतियोगिता दुई पटक जितेका छन् । ओराकल कम्पनीले विश्वप्रसिद्ध फर्मुला वन टिम रेड बुल रेसिङसँग करोडौं डलरको मुख्य प्रायोजन सम्झौता गरेको छ, जसले खेलकुदको दुनियाँमा पनि उनको प्रभाव देखाउँछ ।

ल्यारीले आफ्नो ९५ प्रतिशत सम्पत्ति एलिसन इन्स्टिच्युट अफ टेक्नोलोजी (ईआइटी) को नाममा दिने वाचा घोषणा गरेका छन् । सन् २०१३ स्थापित यस इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर स्वास्थ्य, जलवायु परिवर्तन, खाद्य असुरक्षा र एआईका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

ल्यारीले १ अर्ब डलर लगानी गरेर एलिसन मेडिकल फाउन्डेसन स्थापना गरेका थिए । यस फाउन्डेसनले बुढ्यौली र विभिन्न रोगहरूबारे अध्ययन गरिरहेको थियो । तर सन् २०१३ मा यस फाउन्डेसन बन्द गरेर स्वास्थ्यसम्बन्धी अनुसन्धान ईआईटीमार्फत नै अघि बढाउने घोषणा गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#डलर #विवाद
Compare →

Related Stories

Business & Economy
Build #2611