आज शुभचिन्तकहरूको पूर्ण सहयोग प्राप्त हुनेछ । रोकिएका काम पुनः प्रयास गर्दा सफल हुन सक्छन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वास्थ्यमा सुधार आउनुका साथै वित्तीय संस्थाबाट सहयोग प्राप्त हुन सक्छ, तर स्वास्थ्यप्रति सजग रहनुहोला । माता लक्ष्मीको स्मरण गर्दै सत्कर्म र सदाचारलाई प्राथमिकता दिनुहोला ।
कार्तिक महिनामा नयाँ सवारीसाधन प्राप्तिको योग रहेको छ । विद्या, बुद्धि तथा सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्नेछ । आम्दानीमा उल्लेख्य वृद्धि हुने योग छ । आफ्नो पेशा तथा कार्यक्षेत्रमा पदोन्नति वा सरुवाको सम्भावना रहेको छ । यद्यपि महिनाको अन्त्यतिर अनावश्यक झन्झट तथा विवादको सामना गर्नुपर्ने हुनसक्छ । कुनै शुभकार्य गर्नुअघि भगवान् विष्णुको दर्शन गरी कार्य आरम्भ गर्नाले लाभ प्राप्त हुनेछ ।
कुम्भ राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । बृहस्पतिले शुभ फल दिनेछ र नयाँ ठाउँमा प्रवेश हुन सकिनेछ, तर शनि र राहुले सकारात्मक फल नदेला । शनिको अन्त्य साढेसातीले गर्दा मनमा डर, काममा ढिलाई, आर्थिक उतारचढाव र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ ।
अनेकौँ तर्क, खुलदुली हुनेछ र ठोस निर्णय लिन नसकिएला । व्यापारीका दृष्टिले यो वर्ष सामान्य उतारचढाव हुनसक्छ, अत: धैर्यता आवश्यक छ । बृहस्पतिले गर्दा आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । तरल घरजग्गा र सेयरबजारबाट सामान्य सफलता मिल्नेछ । कृषि र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, र मङ्सिर महिना लाभदायक रहनेछ ।
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर भएपनि पारिवारिक समर्थन नमिल्ला । दाम्पत्य जीवनमा भने आर्थिक असमझदारीले दूरी बढ्न सक्नेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । अन्य सम्बन्ध भने सामान्य रहेछ । यो वर्ष अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार मात्र सफलता मिल्नेछ ।
भाषा, प्राविधिक तथा टेक्निकल विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने अलि सङ्घर्ष गर्नु पर्नेछ । यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । उच्च पद, राजनेता र सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ ।
शनिको कारणले झुटा आरोप लाग्न सक्नेछ र कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला । प्रजनन, आँखा र नसाको समस्या बढ्न सक्छ र दीर्घकालीन औषधि सेवनको सम्भावना रहन्छ ।
ग्रह पीडा कमगर्न शनि, राहु र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ साथै शनिबार देवी वा हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि देवी वा हनुमानजीलाई स्मरण गरि कार्य गर्नाले राम्रो हुनेछ ।