क्राइस्टचर्चमा भएको खेलमा २ सय २६ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौँ — भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको जित हात पारेको छ । क्राइस्टचर्चमा आज भएको खेलमा २ सय २६ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय २५ रनको योगफल तयार पारेको थियो । घरेलु टोली न्युजिल्यान्डका ग्लेन फिलिप्सले अविजित ८२ रन बनाएका थिए भने फिन एलेनले ४५ रनको योगदान गरेका थिए ।
जवाफमा भारतका सञ्जु सामसन र अभिषेक शर्माले आक्रामक सुरुवात गर्दै ३५ बलमा पहिलो विकेटका लागि ९३ रनको योगदान गरेका थिए । सामसनले ६७ रन बनाए भने शर्माले २९ रन बनाएका थिए । त्यसपछि श्रेयस अय्यर र नमन धीरले ४२–४२ रन बनाएका थिए ।
जितसँगै भारतले म्याचको शृङ्खलामा १–० को अग्रता लिएको छ । शृङ्खलाको दोस्रो म्याच पर्सि शनिबार हुनेछ ।