Trending
Prev Story
Next Story

एल निनोको प्रभावसँग जुध्न बोलिभियामा देशव्यापी संकटकाल घोषणा

Ekantipur •
November 01, 2026 • 06:01 AM
1
1 reads 0 reactions

सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान गरिएको एल निनोका कारण बोलिभियाका ७८ हजार परिवार खडेरीबाट प्रभावित छन् ।

एल निनोको प्रभावसँग जुध्न बोलिभियामा देशव्यापी संकटकाल घोषणा

सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान गरिएको एल निनोका कारण बोलिभियाका ७८ हजार परिवार खडेरीबाट प्रभावित छन् ।

काठमाडौँ — एल निनो मौसमी घटनाका प्रभावसँग जुध्न आवश्यक स्रोतसाधन परिचालन गर्न बोलिभियाले देशव्यापी संकटकाल घोषणा गरेको छ । बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले शनिबार उक्त आदेशमा हस्ताक्षर गरेको अल जजिरा को रिपोर्टमा उल्लेख छ ।

आदेशमा बाढी र खडेरीबाट अत्यधिक प्रभावित क्षेत्रहरूमा उद्धार टोली थप परिचालन गर्न पनि भनिएको छ । एल निनोले खडेरी र बाढीका रूपमा अत्यन्त गम्भीर प्रभाव पार्ने राष्ट्रपति पाजले बताएका छन्। उनले यस अवस्थासँग जुध्न सबै संस्थाको सहयोग आवश्यक रहेको बताए ।

यसै साता सार्वजनिक सरकारी प्रतिवेदनअनुसार बोलिभियाका ९ मध्ये ६ राज्यका ७८ हजार परिवार खडेरीबाट प्रभावित भएका छन् । खडेरीका कारण ७५ हजारभन्दा बढी गाईबस्तु गुमाउनुपरेको छ । बोलिभियामा बाढीको जोखिम पनि उत्तिकै छ । सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीका कारण दर्जनौं मानिसको मृत्यु भएको थियो ।

छिमेकी देश चिलीको राजधानी सान्टियागोमा यस वर्षको अक्टोबरमा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ । पेरुमा भने गत महिना लागेको डढेलोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

एल निनो विश्वव्यापी जलवायु घटना हो । यो प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखिने गर्छ र पृथ्वीको प्राकृतिक मौसमी चक्रको एक हिस्सा हो । यस अवधिमा प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रको सतहको तापक्रम बढ्दा विश्वभर हावा, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन आउँछ । यसले प्रायः चरम मौसमी अवस्था निम्त्याउने गर्छ ।

एल निनोको तीव्रता हरेक पटक फरक हुन्छ । यसको प्रभाव पनि भौगोलिक अवस्थाअनुसार फरक देखिन्छ । यसपटकको एल निनो भने सन् १९४९ यताकै सबैभन्दा शक्तिशाली देखिएको जापान मौसम विज्ञान एजेन्सी ले जनाएको छ ।

एजेन्सीका अनुसार सन् २०२६ को सेप्टेम्बरमा प्रशान्त महासागरको निनो–३ क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा ४ डिग्री सेल्सियस बढी पुगेको थियो । यसले सन् १९९७ मा कायम ३.६ डिग्री सेल्सियसको पुरानो कीर्तिमान तोडेको हो । एल निनोको यो अवस्था सन् २०२६ को अन्त्य र सन् २०२७ को सुरुवातसम्म कायम रहने अनुमान छ ।

एल निनोका कारण अत्यधिक गर्मी बढ्दा विश्वभर ४ लाख ५१ हजार थप मानिसको मृत्यु हुन सक्ने वैज्ञानिकहरूको प्रक्षेपण छ । सिकागो विश्वविद्यालयअन्तर्गतको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले सन् २०२६ जुनदेखि २०२७ फेब्रुअरीसम्म सामान्य अवस्थाको तुलनामा यति धेरै थप गर्मीजन्य मृत्यु हुन सक्ने देखाएको हो । यसको सबैभन्दा बढी असर कमजोर आर्थिक अवस्था भएका देश तथा समुदायमा पर्ने जोखिम छ ।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनोको अवस्था कायम रहने सम्भावना झन्डै शतप्रतिशत छ । - यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
शक्तिशाली एल निनोले विश्वभर मौसममा असर, बाढी र खडेरीको जोखिम बढ्दै

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर, बाढी र खडेरीको जोखिम बढ्दै

• असाधारण एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ, जसले खाद्य सुरक्षामा चुनौती थपेको छ। • पेरु र बोलिभियाले बाढीको जोखिमका कारण आपत्कालीन अवस्था घोषणा गरेका छन्, र एशिया…

#निनो #खडेरी
Compare →

Related Stories

World News
Build #2611